शुक्रबार , जेठ १५, २०८३

बेनीघाट रोराङ-१ का अध्यक्ष जीवन सिं तामाङले गरे पदभार ग्रहण 

विगत दुई दशकदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका तामाङले तीन वटा कम्युनिस्ट पार्टीको गठबन्धनलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

image

Photo by: बुद्धिमान तामाङ/धादिङ

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जीवन सिं तामाङले आज बिहीबार पदभार ग्रहण गरेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङले बुधवार शपथ ग्रहण गरेका थिए ।

बुधवार बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख, उपप्रमुख, १० वटै वडाका वडाध्यक्ष र सदस्यहरूले शपथ ग्रहण गरेका थिए । गाउँपालिका प्रमुख, उपप्रमुख र अन्य वडाका वडाध्यक्षहरूले बुधवार नै पदभार ग्रहण गरेपनि पालिका केन्द्र विशालटारबाट टाडा भएका कारण वडा नम्बर १ का अध्यक्ष तामाङले भने बिहीबार मात्रै पदभार सम्हालेका हुन् ।

विगत दुई दशकदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका तामाङले तीन वटा कम्युनिस्ट पार्टीको गठबन्धनलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई परास्त गर्दै २९ मतको अन्तरले उनी विजयी भएका हुन् । जीवन सिं तामाङले ५३४ मत प्राप्त गर्दा बाम गठबन्धनका उम्मेदवार मिलन लामाले ५०५ मत प्राप्त गरेका थिए ।

७४ को निर्वाचनमा झिनो मतले पराजित भएका जीवन सिं यसपटक भने गठबन्धनलाई हराउँदै निर्वाचित भए । उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नन्द प्रसाद तामाङले २९२ मत प्राप्त गरी विजयी हुँदा जीवन सिं तामाङले २७६ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हिरालाल तामाङले २३९ मत प्राप्त गरेका थिए ।

यसपटक जीवन सिंसँगै तीन जना सदस्यहरू पनि नेपाली कांग्रेसबाटै निर्वाचित भएका छन् । महिला सदस्य काैसिला तामाङ ५३७ मत प्राप्त गर्दै विजयी हुँदा सदस्यद्वय बाबुलाल तामाङ र सन्ताेष तामाङले क्रमश: ५२४ र ५१९  मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

बेनीघाट राेराङ १ मा दलित समुदायकाे बसाेबास नभएका कारण दलित महिला सदस्य भने रिक्त्त रहेकाे छ ।

कसरी सम्भव भयो जित ?

अघिल्लो निर्वाचनको परिणाम अनुसार उतिकै जनमत र सशक्त संगठन भएको तीन पार्टी (नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादी) को गठबन्धनलाई पराजित गर्न निकै कठिन थियो । तर जीवन सिं तामाङले गरेको काम, उनको क्षमता, निष्ठा र इमान्दारीतालाई वडावासीले पहिचान गरे र उनलाई विजयी गराइदिए । पाँच वर्षको लागि वडाको जिम्मा उनको काँधमा थमाइदिए ।

नेपाली कांग्रेस बेनीघाट रोराङ गाउँपालिकाको उपसभापति समेत रहेका जीवन सिं ले त्यस क्षेत्रमा एक निष्ठावान् नेताको छवि बनाएका छन् । उनले अघिल्लो निर्वाचनमा पराजित भएपनि वडाको विकास र समृद्धिका लागि निरन्तर काम गरिरहे। उनकै पहलमा वडामा विद्युतिकरणको काम अगाडि बढेको छ । त्यसैगरी वडामा खानेपानीको योजनालाई पनि अगाडि बढाइसकेको छ । वडाका आधा जति जनसंख्याले अझै पनि खानेपानीको चरम अभाव भोगिरहेका छन् । विद्युतिकरण नहुँदा वडाका जनता अझै पनि अन्धकारमा बस्न बाध्य छन् । अघिल्लो वडा सरकारले खानेपानी र विद्युतिकरणमा कुनै पहल गर्न नसकेपछि जीवन सिं ले पहल गरेका थिए । अहिले दुवै योजना कार्यान्वयनको क्रममा छ । जीवन सिंले गरेको यस कार्यलाई मूल्याङ्कन गर्दै वडावासीले उनलाई निर्वाचित गराइदिएका हुन् ।

उनले विगत लामो समयदेखि त्यस क्षेत्रको विकास निर्माणमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । उनले त्यस वडालाई सडक सञ्जालमार्फत बजारसँग जोड्न पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

जीवन सिं तामाङले कृषिको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिएका छन् । उनले आफ्ना  गाउँ (सुन्दरनागी र बाँसखर्क) किसानको जीवनस्तर उकास्न नेतृत्वदायी भूमिका खेलेका छन् । केही बर्ष अघिसम्म खाना लाउन धौधौ पर्ने त्यहाँका बासिन्दा अहिले सम्पन्न हुँदै गएका छन् । जीवन सिंले तरकारी खेतीलाई आधुनिकीकरण गर्ने, कृषकलाई आवश्यक औजार तथा मल र बिउ विजन समेतको व्यवस्था गरेर त्यहाँको कृषकलाई सहयोग गर्दै आएका छन् ।

जीवन सिं तामाङको जितसँगै वडावासी निकै उत्साहित भएका छन् । सक्षम नेतृत्वको अभावमा विकासबाट वञ्चित भएको वडावासीले अब विकासको स्वाद चाख्न पाइने भएका छन् । उनले वडामा सडकको स्तरोन्नति, विद्युतिकरण, खानेपानीको व्यवस्था, कृषिलाई आधुनिकीकरण, वडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लगायत योजनालाई प्राथमिकता दिने बताएका हुन् । यी योजनाहरूलाई उनले चुनावी घोषणापत्रमा पनि समावेश गरेका थिए ।

तस्बिरहरू:

सम्बन्धित समाचार