काठमाडौं । बलिउड चलचित्र निर्माता करण जोहर अहिले आफ्नो आउँदो चलचित्र ‘जुग जुग जियो’का कारण चर्चामा छन् । यसैबिच करण जोहरविरुद्ध चलचित्रसँग सम्बन्धित दुई आरोप लगाइएको छ । करणलाई चलचित्रको कथा र एउटा गीत चोरेको आरोप लागेको हो ।
खासमा एकदिन अघि २२ मेमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । चलचित्रको ट्रेलर हेरेपछि एक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै चलचित्रका निर्मातालाई आफ्नो कथा चोरेको आरोप लगाएका हुन् । त्यसैगरि एक पाकिस्तानी गायकले पनि एक पोस्ट शेयर गर्दै चलचित्रमा आफ्नो अनुमति बिना आफ्नो गीत राखिएको आरोप लगाएका छन् ।
लेखकले लगाए करणमाथि कथा चोरेको आरोप
विशाल ए सिंह नाम गरेका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले एक पोस्ट शेयर गर्दै आफ्नो कथा चोरेर चलचित्र बनाएको आरोप लगाएका हुन् । उनले लेखेका छन् “ मैले जनवरी २०२०मा स्क्रीनराइटर्स एसोसिएशन इंडियासँग ‘बन्नी रानी’ शीर्षकको साथमा एउटा कथा रजिस्ट्रेसन गराएको थिएँ । मैले यो कथा फेब्रुअरी २०२०मा करण जोहरको धर्मा प्रोडक्शनलाई आधिकारिक मेल पनि गरेको थिएँ । यो आशामा कि सँगै मिलेर चलचित्रलाई को-प्रोड्यूस गर्न सकूँ । उनीहरूले मलाई जवाफ पनि दिएका थिए । तर, अहिले उनीहरूले मेरो कथा प्रयोग गरेका छन् । मेरो कथाबाट ‘जुग जुग जियो’ बनाएका छन् । यो ठिक होइन करण जोहर ।“


विशालले करण जोहरको प्रोडक्शन हाउस ‘धर्मा प्रोडक्शंस’लाई पठाएको मेलको स्क्रिनसट पनि शेयर गरेका छन् । जहाँ चलचित्रको कथा वर्णन पनि गरिएको छ । निराश भएका उनले अर्को पोस्टमा लेखेका छन् “कथा राम्रो लागेको छ भने कुरा गर, हात मिलाउ । सँगै मिलेर बनाउ । यो कुनै प्रतिष्ठित ब्यानर या कुनै पनि प्रोडक्शन हाउसलाई चोरी गरेको सुहाउँदैन । यदि यो मसँग हुनसक्छ भने हिन्दी सिनेमामा कसैसँग पनि हुनसक्छ ।“
पाकिस्तानी गायकले पनि लगाए गीत चोरेको आरोप
पाकिस्तानी गायक अबरार उल हकले पनि एक पोस्ट शेयर गर्दै करण जोहरलाई आफ्नो गीतको चोरेको आरोप लगाएका छन् । अबरारले लेखेका छन् “मैले आफ्नो गीत ‘नाच पंजाबन’ कुनै पनि भारतीय चलचित्रलाई बेचेको छैन । मैले आफ्नो अधिकार सुरक्षित राखेको छु, ताकी क्षतिपूर्तिका लागि अदालत जान सकूँ । करण जोहर जस्ता निर्माताले गीत कपि गर्नु हुँदैन । यो मेरो छैटौँ गीत हो, जसको कपि गरिएको छ । जसको लागि कुनै पनि हालतमा इजाजत दिइने छैन ।“
अबरारले अर्को एक पोस्टमा लेखेका छन् “ गीत नाच पंजाबनको लाइसेन्स कसैलाई पनि दिइएको छैन । यदि कसैले दावा गर्छ भने, सम्झौता देखाइयोस् । म आधिकारिक कदम चाल्नेछु ।

यसको प्रतिउत्तरमा धर्मा प्रोडक्सनले एक ट्विटमार्फत आफ्नो सफाइ दिएको छ । प्रोडक्सनले भनेको छ “हामीले धर्मा प्रोडक्शनको ब्यानरमा बनेको चलचित्र ‘जुग जुग जीयो’का लागि कानुनी रूपमा आई-ट्यून्समा सार्वजनिक र ललिउड क्लासिक्स युट्युब च्यानलमा उपलब्ध ‘नाच पंजाबन’लाई एडप्ट गरेका छौँ, जसको मालिक मुभी बक्स हो ।

‘नाच पंजाबन’ बोलको उक्त गीत सन् २००० मा आएको थियो। यो गीत सो समयमा निकै रुचाइएको गीतमध्ये एक हो ।
२४ जुनबाट प्रदर्शनमा आउँदैछ ‘जुग जुग जियो‘
राज मेहताको निर्देशनमा बनेको चलचित्र ‘जुग जुग जियो’मा वरुण धवन, कियारा आडवाणी, अनिल कपूर, नीतू कपूर, प्राजक्ता कोली, मनीष पल र टिस्का चोपडा मुख्य भूमिकामा रहेका छन् । करण जोहरले चलचित्रलाई प्रोड्यूस गरेका हुन् । चलचित्र २४ जुन २०२२बाट प्रदर्शनमा आउँदैछ ।