धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यमनाथ दनैले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ८०३४ मत ल्याउँदै अध्यक्षमा विजयी बनेका दनैको निकटतम प्रतिद्वन्दी हरि राम लोहनीले ५४९९ मत ल्याएका थिए ।
धादिङको ज्वालामुखी गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरू विजयी भएका हुन् । उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्याल विजयी बने । ६४४५ मत ल्याउँदै विजयी बनेका हुन्, उनको निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार चन्द्र कुमारी अधिकारीले ४७७१ मत ल्याएकी थिइन् ।

नवलपरासीमा व्यावसायिक रूपले सक्रिय दनैले स्थानीयता र मौलिकता जोगाइ ज्वालामूखीको सर्वाङ्ण विकासको खाका अघि सारेका छन् ।वडास्तरबाट आयोजना गरिने कार्यक्रममा कला साहित्यलाई स्थान दिनका लागि पठनपाठन र पठन संस्कृतिलाई विकास गर्नलाई वडास्तरमा लाइब्रेरी र अन्य समसामयिक पुस्तकहरूको सुनिश्चितता गरिने लगायतका कुराहरू उनको चुनावी प्रतिबद्द्धतामा रहेको छ ।
यस अघि हिमाल दर्पणसँग कुरा गर्दै उनले मूलतः आफ्ना पाँच वर्षीय योजनाहरू कृषि, शिक्षा, स्वस्थ, पर्यटन र रोजगारसँग सम्बन्धित रहेको बताए । जस्तै;
- खेती योग्य जमिनलाई आधुनिकीकरण गर्ने र गाउँपालिकालाई उत्पादनका आत्मनिर्भर गराउने,
- कृषि औजार र जैविक मलको प्रयोग गरी आधुनिक र जैविक सामाग्रीको मद्दतले कृषिमा जनतालाई आकर्षित गर्ने,
- युवाहरू विदेश पलायन हुने अवस्था रोक्नका लागि स्थानीय रूपमा रोजगार सिर्जना गर्ने गरि युवा लक्षित अनुदानका कार्यक्रमहरू ल्याउने,
- आयातलाई रोकी निर्यातलाई बढाउँदै गाउँपालिकालाई आर्थिक रूपमा आत्मनिर्भर गराउने । धादिङवेशी जाने मालवाहक ट्रकहरूले मान्छे मात्रै हालेर जानु नपर्ने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने,
- उद्दोगी, व्यवसाई तथा स्थानीय समुदायसँग सहकार्यमा विभिन्न अवसरमा स्थानीय उत्पादनको व्यापार प्रबद्धन मेला आयोजना गरिने,
- जीवनउपयोगी, आधुनिक, व्यावसाईक एवम् प्रविधियुक्त शिक्षामा जोड दिई सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने,
- आधुरभूत स्वास्थ्यसेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपर्दो बनाउने नीति लिइने । प्रतिकारात्मक तथा प्रवद्धनात्मक स्वास्थ्य सेवालाई जोड दिई स्वास्थ्य प्रबद्धनका विशेष कार्यक्रमहरू सन्चालन गरिने । पालिका स्तरीय एकमात्र अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने,
- पर्यटन प्रवद्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको निर्माण, संरक्षण, सम्बर्द्धन र विस्तारमा जोड दिइने,
- एतिहासिक, धार्मिक, पुरातत्विक महत्त्वका टोल, बस्ती, मठ, मन्दिर, स्थानीय रितिरिवाज, भाषा, लिपि, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बर्द्धन गरि आन्तरिक पर्यटनलाई जोड दिइने,
- गाउँपालिका भित्र खानेपानी वितरण प्रणालीलाई सुदृढ गरि गाउँपालिकावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने नीति लिइने, यसका लागि परम्परागत पानीको श्रोतको संरक्षण, सम्बर्द्धन र प्रबद्धन गरिने,
- पाल्पा भन्ज्याङ-हुलाक भन्ज्याङ-ढोला-मैदी सडक, ससाह-अमराइ-रातमाटे सडक, हुलाक भन्ज्याङ- चैनपुर-बाङ्गेरह-बुङकोटघाट सडक, साँधभन्ज्याङ-खरी-बुङकोटघाट सडक समेटेर सहज आवागमनका लागि सडक स्तरोन्नति गर्ने (ग्राभेल भएका सडकलाई कालोपत्रे गरिने)
- बुढीगण्डकी चक्रपथ ताहा करीडोरको निर्माण गरि पर्यटकीय सडक निर्माण कार्यलाई अगाडि बढाइने, साथै बुढीगण्डकी जलासययूक्त परियोजनाबाट विस्थापित हुने समुदाय र वर्गलाई पुनर्वास, एकीकृत वस्ती विकास तथा पूनर्लाभ कार्यक्रमका लागि सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक समन्यव गरि कार्यक्रम अगाडि बढाइने,
- जनजाति र महिलालाई सक्रियताका साथ राज्यका विभिन्न स्थानमा संलग्न गराइने,
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि समुदायस्तरबाट हुने विभेदलाई रोक्न समाधानका उपायहरू खोजी गर्ने,
- वडास्तरबाट आयोजना गरिने कार्यक्रममा कला साहित्यलाई स्थान दिइने, पठनपाठन र पठन संस्कृतिलाई विकास गर्नलाई वडास्तरमा लाइब्रेरी र अन्य समसामयिक पुस्तकहरूको सुनिश्चितता गरिने छ ।

