शुक्रबार , अषोज १४, २०७९

काँडामा टेकेर पाईला दुखिरहेछ नेवारपानी

लाग्छ बाबा आमा हुनु ब्रम्हाण्डकै ठूलो ओत पो रहेछ । अझ आमाको काख त ईश्वरकै छायाँ पो रहेछ जसको अभावमा सिङ्गो जीवन तड्पिनुको हतभागी बबुराहरुमा लामबध्द हुन पुगेँ । आमा लुटिनुको पीडालाई नराम्रोसँग छ्याङ्ग महशुस आजभोलि पो भैरहेको छ ।

image

नेवारपानी ! यो त्यही माटो हो जहाँ मैले पचास बर्ष अगाडि चुमेको थिएँ र त्यतिबेलै यी मीठा सुसेलीमय हावाको चुम्बनमा लाडिएको थिएँ सायद् । जीवनका अनेकौं आरोह अवरोहका छाल उछाल सहेर सुलुत्तै चिप्लिएका यी चार दशक लामा यात्रामा कति धेरै सङ्गालिएका छन्- आँसु, हाँसोहरु ! भीरै भीर हिँडिएको समय जहाँ चौपट्ट आँङ् सिरिङ हुने घटनाहरुबाट पार भएर आएको छ, समयका छाल उछालहरुले रुझाएका जीवनका झरी बादलहरुले दर्दका खाटाहरु मात्र उप्काएनन् कतिपय बल्झिरहने घाउमा मल्हम पनि लगाएर गएका छन् ।

इतिहासको घनचक्करबाट एउटा स्मृति र आमा

इतिहासको असजिलो बाटोमा मेरो आफ्नै इतिहास हराएको छ । परिचय विज्ञापित भइरहेको बेला मेरो आफ्नै परिचय ओझेलमा छ । म कताबाट सुरु गरौँ । आफैँ भित्र एउटा भास छ– गोलमाल छ र छ एउटा अन्तरङ्ग पीडाका अन्तर पहाडी यान र उचाइहरु । सम्झनाका घनचक्करले जेलिरहेको वर्तमानबाट झिक्न नसकिरहेको इतिहासको भूतले तर्साइरहेको अवस्थामा म छुकछुके बालवय खोजिरहेको छु र आफ्ना फुलेका केश, चाउरिएका गाला फुतुतु खसेर लिलिपुट भइरहेको छु ।

सुनौला बजार अर्थात् माथिल्लो धादिङको नेवारपानी जहाँ चारैतिर जंगलले घेरेको छहारीमय सानो उपत्यका छ । उपत्यकाको केन्द्रस्थलमा रहेको पुरानो कर्णेश्वरको मन्दिर र मन्दिरलाई छायाँ दिने ठूलो चाँपको रुख छन्, जसको तलतिर सानो चौर र आडैमा उभ्भिरहेको पुरानो प्राथमिक विद्यालय छ’ । चौरमा कल्र्याङ कुल्र्लुङ गरि कल्लोल निकालेर खेलिरहने ३०/४० जना केटाकेटीहरुको हुलमा मैला-मैला कपडा लगाएर मिसिरहने निकै छिटो छरितो रक्त वर्णको केटो पनि हुन्थ्यो । करीब छ वर्षको उमेरमा कर्णेश्वरको प्राङ्गणमा रहेको नेवारपानी प्राथमिक विद्याालयको धुलौटो माटोमा सिंगौरी खेलेका बिम्बहरुका धुमिल स्मृति आजसम्म उस्तै तरङ्गित भइरहेका छन् तर छन् धीमा आकृतिहरू ।

आज गिज्याइरहेको छ मेरो त्यहि लिलिपुट आकृतिले ए बामपुड्के ! तँ यहि धुलौटे केटा होस् नि । अहिलेको तँ विगतको म नै हुँ । थर्थराएर झस्किन्छ मन मस्तिस्कका तरेलीहरू । पाँजिन्छ एउटा विगतको लामो किताबको पन्ना । जहाँ कोरिएका छन् अभावै अभावका व्यथाहरु, दुःख र दुर्भाग्यका उरुङ्खात चाँङहरू । त्यसैको ऐनामा छु यतिबेला र स्मृतिका उम्रिरहेका छन् निमारे, पोखरे खोला, बौलडाँडाका गोठाले यात्राका उकाली ओरालीहरू । आमाका अभावले बगेका आँसुका डोबहरू ।

विस्तारै त्यो आकृति बिलाएर मेरो स्मृतिका कुनाकानी सलबलाउन थाल्छ । म फेरि अतितका भ्रम भएर पोखिन्छु, छरिन्छु र बग्छु मन चाह भङ्गालाहरूबाट र पुग्छु उही माटो जसलाई मैले चारदशक अघि स्पर्श गरेको थिएँ आफ्नै पैतालाले टेकेर ।

अहिले छोइरहेको छु मनको पैतालाले । कुदिरहेको छु त्यहाँको तीनतले भीरैभीर, लामीडाँडा डण्डेडाँडा र पोखरेखोलाका कुनाकाप्चाहरू जहाँ पाकेका थिए एैसेलु काफलका रहर लाग्दा दानाहरू । तिँदु र जामुनाका लटरम्म फलेका रुखैरुख झ्याङै झ्याङहरू । सानो उपत्यका र त्यसको सेरोफेरो घेरेर लहरै हात समाते जस्तो उभ्भिरहेजस्ता बास्तलडाँडादेखि राम्चे चुलीसम्मका उचाईका थुम्कैथुम्कीहरू ।

अतितदेखि कस्तरी समातिराखेका पहाडहरूले त्यो सानो उपत्यकालाई ? उम्केर कतै भाग्ला कि भनेजस्तो गरेर । कति स्नेहले भरिएका छन् त्यहाँका हावा,पानी र धुलिकाका कण कणहरु जहाँका प्रत्येक ढिस्का ढिस्कीहरुमा पाउँछु म आफ्नै आकृति र आफ्नै सुगन्धले निथुक्क भिजिरहेका छन् ।

म सम्झिरहेको छु बिर्सनै नसकिने दर्दभरि कहानी

मान्छेलाई तत्कालको दुःखले भन्दा बितेर गएको दुःखले धेरै पोल्दो रहेछ अनन्तसम्म । भोगिरहेका यथार्थभन्दा  भोगि आएका सङ्कटहरूले चहर्याउने रहेछन् र गर्न बाँकि कामले भन्दा गरि आएका कामहरुले उर्जा थपिदिने रहेछन्, हिँड्न बाँकि यात्राहरु भन्दा हिँडिसकेका यात्राका कथाले थकान दिने रहेछन् । गर्न बाँकि कामका योजनाले भन्दा गरिसकेका कामका उर्जाले ज्यादा अभिप्रेरणा वा निराशाका ग्लानिले सताउने रहेछन् । आज म हिजोका कहरहरु सँझिएर पटक पटक आँसुले रुझिरहेको छु । दुःखले भरिएको छु र कतै कतै सुखका झिल्काझिल्किको अनुभूति पनि सङ्गाली आएको छु ।

अनि धेरै समय मनका पत्रहरुमा कोच्चिएर रहेका पुराना खाटा परेका घाउहरु उप्कँदै जाँदा आजकाल दुःखका चहराइरहने पीडाहरूमा रुझिरहन्छु, निरन्तर निरन्तर । समय सत्ताइस सालतिरको हुँदो हो जतिबेला म माताको गर्भबाट धरावतरण गर्दै थिएँ । राजनीतिमा त्यतिबेला पञ्चायतको हालिमुहाली थियो र अनेक इतर भितरका समूहहरूको भुसाग्निमा भित्र भित्रै मान्छेहरुमा सामाजिक उकुसमुकुस व्यप्त थियो ।

बाल्यकाल सबैलाई आनन्दी र चिन्तारहीत हुन्छ नै । आमाको काख, बाबाको लाडप्यार र आफन्तको फुक्र्याइले बालवय कति रोमहर्षक र कलामय  छ आजभोलि । त्यसको अवर्णनीय सुख कल्पना गर्छु, काखमा लुटपुटिएका साना नानीजीवन कतै आँधी हुरीजस्तो र त्यसैले उजाड बनाएको हतभागी विरुवाजस्तो ।

तर आज उप्करहेको मनका पत्रमा लेखिएका मेरा बालवयमा कोरिएका धमिला अक्षरहरु पढ्न खोज्छु कहिल्यै आनन्दी र सुखद् अनुच्छेदहरू  पढ्न पाएकै  छैन । यात्राहरु छन् बाङ्गाटिङ्गा धर्साहरू छन् र छन् कोरिएका अनेक सङ्घर्षका कथाहरू ।

चार वर्षको थिएँ, घरमा बाबा आमा र हजुरआमाको लाडप्यारले छुर्लुप्प रुझेको थिएँ । भाइ बहिनी र एउटी दिदीले घरको अनन्त आनन्दलाई सँगै भत्काउँथ्यौं, कहिले स्नेहको आलोक पोखेर त कहिले छेस्काछेस्की झगडाका तानातानीले । हाम्रो न्यायमूर्ति कहिले हजुरआमा र कहिले आमा बन्नुहुन्थ्यो । बुबालाई हाम्रो उपद्र्याइँको बिचमा अल्झिरहने फुर्सद थिएन सायद । त्यसैले पनि बुबासँग हामी डराउँथ्यौँ र उहाँको कडा स्वभावले उहाँ घरमा भएको बेला हामी केटाकेटी घरमै छौँ वा छैनौँ थाहा हुदैनथ्यो । अक्सर बुबा घर बाहिरै काम बिशेषले रहनुहुन्थ्यो र त्यहाँ हाम्रै राज एकछत्र हुन्थ्यो ।

ढुङ्गा माटो बटुलेर खेल्नु, कपर्दी, डण्डीबियो, पुतली, तेलकासा खेलेर बिताएका ती समय आज मेरा स्मृतिपटमा सबै ताजा छैनन् । दिदीसँग रुँदै रुँदै गोठालो जान पछ्याउनू, आमा हजुरआमाको पछिपछि मामाघर जान मरिहत्ते गर्नू, सुकौरा खोलाको किनाराका चौरै, चौर माछाका भुरा बटुल्दै बगरमा खोपिल्टा पारेर तिनलाई नयाँ घर बनाइदिँदै हिँडेका परिदृष्यहरु बिम्बका तरेलीमा डुब्दै उत्रदै गरिरहेका छन् । यसरी नै बितेका थिए सत्ताइस सालदेखि एकतीस सालसम्मका साँझ बिहान र दिनहरू ।

उसैगरि बितिरहेका थिए चार वर्षका समयहरु, उसैगरि चिप्लिरहेका थिए घाम र जुनहरू तथा  उसैगरि तेर्सिरहेका थिए घोरेढुङ्गा लामीढुङ्गा र कामीडाडाँका ढुङ्गेनी बाटाका उकाली ओरालीहरु तर त्यसपछि उदाएका घामजुनहरुले कहिल्यै मेरो बालवयको खुशी फर्काएर ल्याउन सकेन । उसरी नै चिप्लि गयो जसरी जान्छ बन्दुकबाट छुटेका गोलीका पर्राहरु सुन्नेका कान बहिरो बनाएर थाप्नेको जिन्दगी खरानी बनाएर ।

महिना असारको थियो । झमझम परिरहेको पानी केही दिनदेखि थामिएकै थिएन । धादिङ् नेवारपानीबाट  बेसीसम्म झरि खेत रोपाइँ गर्नुको चटारो र गाई भैंसीका हेरचाहको नियमितता यथावत् हुँदा फुर्सद उवार्न कठिन छँदैथियो । बिहान झिसमिसेमै खेतमा काम गर्नेहरूका लागि खाजा सामल तयार गर्नु, दिनभरका लागि गोठका गाईवस्तु अघाउने गरेर बिहान ७,८ बजेसम्ममा तिनका लागि घाँस खोजीसक्नु र घरधन्दा सकेर ३ घण्टाको ओरालो झरि खेतमा मेलो धान्न आइपुग्नु कम्ता चटारो पर्दैनथ्यो ।

कतिबेला के काम गर्ने र कसरी भ्याउने कुनै नियमबद्ध तालिका थिएनन्, साना मसिना आइपर्ने कामको लेखाजोखा नै हुँदैनथ्यो । छ महिनाको सुत्केरी आमालाई पर्ने यो धपेडी अहिलेका पुस्तालाई खप्न त के सुन्न पनि सायद कठिन हुन्छ । यस्ता तपर्थैया र उखर्माउलो कामको धपेडी तथा सधैंको असार पन्ध्र सहेर बाँच्न अभ्यस्त मेरी आमाको त्यसबेलाको दुःख अनुभव गरिरेको छु यतिबेला । मेरा बाबै ! यति उरुङ्खात दुःख र चपेटाहरुले घेरिएर पनि बाँच्न सकिने रहेछ ।

आमा जति दुःख र तनाव भए पनि खुशी नै हुनुहुन्थ्यो हाँसी खुशी बाँच्नुभएको थियो, चारजना छोरा छोरी, श्रीमान, सासू,नजिकै रहेका माइतीको सहयोगी व्यवहारले मेरी आमाको सानो संसार सुखद र आनन्दी नै थियो । आफन्तहरूको मीठो प्रेमले झ्याँङ्गिएको संसारमा बाँच्नुको सुखद आनन्दमा आमाले सारा सांसारिक दुःख अभावका भङ्गालाहरु पीरका छहराहरू भुलिरहनु भएको थियो, सायद । म आमा बाबा हजुरआमाको प्रेमिल बगैंचामा स्नेहको सौन्दर्यले छुर्लुप्प रुझेको थिएँ । मातृप्यारको सागरमा नुहाएर रमिरहेको थिएँ । मेरो घर मेरा लागि स्वर्गको स्वप्न बाटिका नै थियो ।

सधैं सबैका लागि खुशीका दिन र रातहरू नरहँदो रहेछ । सबैका लागि जीवनका सुखद् आश्चर्य सर्वदा किन रहिरहथ्यो र ? मेरा लागि पनि २०३० असारको पहिलो दिन दु:खद् आँधि बोकेर आयो । भर्खर झरि पर्न सुरु भएको थियो । त्यो झरी झरी रहेनछ सायद प्रकृतिले पहिल्यै थाहा पाएको रहेछ । चार चार बालबच्चाकी आमाको दुःखपूर्ण अवस्थालाई हेरेर आकाशले आँसु खसालिरहेको रहेछ ।

धर्तीले अत्यासले मुख थुनेकी रहिछ । घाँस काट्न घरै अगाडिको खनायोको रुखमा चढ्नु भएकी मेरी आमा रुखबाटै खस्नुभयो । मेरो सुखद संसारमा एक्कासी आगो लाग्यो । बाँकि यात्रा अँध्यारो जंघारमा धकेलियो । हाँसिरहने बाल अनुहार आँसु आँसुले नुहाउन पुग्यो । कुनै बेला घटेका नमिठा घटनाका कहरले सायद जीवनभर जहर खन्याउने रहेछ ।

विधाताले के त्यस्तो सजायँ दिए कुन्नी त्यस पीडा निर्मित घाउले मुटुमा खोपेको चोटले चस्किएर आज पनि कति रात आँखा आँसुकै आहालमा डुविरहेका छन् । आमा रुखबाट खस्नुभयो । आमाको मेरुदण्ड भाँचियो । उहाँको न प्राण पखेरु उडेर जान सक्यो न उठेर आफ्ना शौचादि कर्महरु गर्न सक्नु भयो । एकै थलामा थलिएर दायाँ बाँया गर्नै नसक्ने अवस्थामा पुग्नुभयो ।

अँगेनाको डिलमा मैला कपडाहरुसँग लपेटिएर मृत्युसँग संघर्ष गरिरहेकी मेरी आमाका कष्टपूर्ण ती दिनहरु म आज पनि सम्झिरहेको छु । कठै ! नजिकै मृत्यलाई देखेर अर्काकै भरमा खान बस्न दिसा पिसाब गर्न पर्खनु पर्ने नियतिले आमालाई हर रोज टोकिरहेको त्यो अवस्था देखेर देख्नेहरु सबैका आँखामा साउन भदौ जम्मा भइरहेको हुन्थ्यो ।

एउटै ओछ्यानमा लपेटिएर बस्नु पर्ने पीडाजनक दिनचर्या दिसा पिसाब एकै ठाउँमा गर्नु पर्ने बाध्यताले गर्दा आमाको ओरिपरि जानै मान्छेहरु घिनाउथे । बेला बेला हामी केटाकेटीहरु आमालाई घेरेर बस्थ्यौँ । आमा हामीलाई बेला बेला अर्ती दिइरहनु हुन्थ्यो । झगडा नगर्नू, अर्काको घरमा अनावश्यक नजानू, हजुरआमा, बालाई दुःख नदिनू, कसैको सामान त्यत्तिकै नउठाउनू, राम्ररी पढ्नू, म माथि माथि देउताको घर जान्छु तिमीहरु राम्ररी बसे, नरोए । म यति मात्रै संझन्छु रातो रातो पृष्ठभूमिको मैलो चोली र मधुरो आकृतिको धीमा सम्झना र ती लवजहरुको मधुर स्मृति बाहेक मभित्र आमाको अरु बिमझना अर्को केही बाँकि छैन  ।

छ महिनाको कष्टमय उहाँको दीनहीन अवस्था २०३१ साल मंसिरको पहिलो दिन अन्त्य भयो । हामी सबैलाई छोडेर जानुभयो । हामीसँग आमालाई सँझदै रुँदै गर्ने यादहरु बाहेक केही बाँकि रहेन । एक बर्षकी बहिनी ३ बर्षको भाइ, पाँच बर्ष टेक्दै गरेको म र ७ बर्षकी दिदीको बाँकि यात्राको निर्देशक हजुर आमा बन्नु भयो उहाँका सम्झनाका पाइलाहरु पछ्याएर कहिले रुँदै र कहिले आँसुले दिल धुँदै कहरमय जीवन बाँचिरह्यौँ । त्यो छहारी जसको आडमा म पचास वसन्तसम्म रमे रमाए दुई वर्ष अघि ढलेपछि पूर्ण निःसहाय भएको छु ।

लाग्छ बाबा आमा हुनु ब्रम्हाण्डकै ठूलो ओत पो रहेछ । अझ आमाको काख त ईश्वरकै छायाँ पो रहेछ जसको अभावमा सिङ्गो जीवन तड्पिनुको हतभागी बबुराहरुमा लामबध्द हुन पुगेँ । आमा लुटिनुको पीडालाई नराम्रोसँग छ्याङ्ग महशुस आजभोलि पो भैरहेको छ । आजका मेरा दिनहरु कल्पना गर्छु । मेरी आमा यतिबेला हुनु भएको भए म कम्ता खुशी हुने थिइनँ । कसैले आमा भनेर सम्बोधन गरेको क्षण, प्यास र लोभ तृष्णाले म यति तिर्खाउँछु कि त्यसको वर्णन गर्ने शब्द सामर्थ मसँग सायद छैनन् ।

सम्बन्धित समाचार