काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघद्वारा सामुदायिक वन दिवसको अवसरमा आयोजित कविता प्रतियोगिता सम्पन्न भएको छ । रानीवारी सामुदायिक वन काठमाडौंमा आज भएको कार्यक्रममा राजु झल्लु प्रसाद प्रथम, पूर्णिमा गिरि द्वितीय, निता पोख्रेल तृतीय र फिलिप छत्कुली सान्तवना भएका थिए ।
महासंघकी अध्यक्ष भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव ठाकुर भन्डारी लगायत वन अधिकारकर्मी, वातावरणप्रेमी एवम् साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोकको ठोकर्पा वनमा तत्कालीन जिल्ला वन अधिकृत तेजबहादुरसिंह महतको सहयोग तथा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा नेपालमा सामुदायिक वन संरक्षण अभियान शुरु गरिएको इतिहासलाई निरन्तरता दिनुपर्ने कार्यक्रममा बताइएको छ ।
सामुदायिक वनको स्रोतलाई उत्पादनसँग जोड्ने र स्थानीय समुदायको रोजगारी सिर्जना गर्ने नीति निर्माण नहुनु, सामुदायिक वनको क्षमता विकासमा वार्षिक बजेट नछुट्याउनु, सामुदायिक वनमा नै निरन्तर रूपमा संरक्षित क्षेत्र निकुञ्ज, आरक्ष, मध्यवर्ती क्षेत्र, वातावरण संरक्षण क्षेत्र, संरक्षित वन आदि विस्तार गर्ने कार्य होइरहनु चिन्ताको विषय रहेको समेत कार्यक्रममा बताइएको छ ।
काठमाडौँ जिल्लामा १५० को हाराहारीमा सामुदायिक वन रहेपनि चक्रपथ र काठमाडौँ महानगरपालिकाभित्रको रानीबारी एक्लो सामुदायिक वन बन्न पुगेको छ । उक्त वन काठमाडौँ महानगरपालिका–३ मा पर्दछ । रानीबारीका ४१ घरधुरीले उक्त वनको संरक्षण गर्दै आएका छन् । रानीबारी वनमा हाल झण्डै १०० प्रजातिका चरा भेटिएको तथ्याङ्क छ ।
लाजिम्पाट र सामाखुशी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाको दिवाली हुने वनका रुपमा रहेको रानीबारी वन विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको हो । उक्त वनलाई नेवारी भाषामा ‘पोर्पा अजिमा’ पनि भन्ने गरिन्छ ।
