बिहिबार , कार्तिक २१, २०८२

मनमोहक खप्तडको नैनी

image

साँफेबगरबाट ३० किलोमिटर मोटर बाटो गुडेर फेरि ३ किलोमिटर पैदल हिँडेपछि नैनी पुगिन्छ । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित नैनीलाई अझै सडकले छुन सकेको छैन । साँफेबगर नगरपालिका-१२ मा रहेको नैनीले अछामलगायत सुदूरपश्चिमका विभिन्न जिल्लालाई चिनाउने गर्दछ ।

गंगा दशहरा मेलामा खप्तड जाने श्रदालु भक्तजनहरु नैनीहुँदै पदमार्गबाट खप्तड जाने गर्दछन् । खप्तडको काखैमा रहेको नैनी एकदमै सुन्दर र मनमोहक छ।पूर्वतिर बडिमालिका मन्दिरको सुन्दर दृश्य, पश्चिममा धार्मिक तथा पर्यटकीयस्थल खप्तड रहेको छ । करिब ३ सय रोपनी क्षेत्रफल ओगटेको नैनीमा विभिन्न भगवानका शिला, मूर्ति तथा शालिक राखिएका छन् । निर्माण गरिएका  हेलिप्याड र खेलमैदानले नैनीको थप सुन्दरता थपिदिएको छ । खप्तड गाउँमा यसै वर्ष भर्खर सडक पुगेको छ । नैनीसम्म भने अझै सडक पुग्न सकेको छैन ।

सतीयुगमा भगवान शिवले आफ्नी पत्नी सतीदेवीलाई खप्तडबाट मालिका लैजाने क्रममा यस ठाउँमा बास बस्दा सतीदेवीको एक नेत्र (आँखा) यो ठाउँमा खस्दा उक्त ठाउँको नाम नेत्र रहेको भन्ने विश्वास छ । यही नामको अपभ्रन्स हुँदै अहिले यो ठाउँलाई नैनी भन्ने गरिन्छ । नैनी भन्ने वित्तिकै उज्जल रानाको नाम जोडिन आउँछ । नैनीलाई स्वर्ग बनाउन रानाको हात छ । २०६५ सालबाट रानाले आफ्नै लगानीमा यस ठाउँलाई  धार्मिक तथा पर्यटकीयस्थल बनाउन लागेका हुन् ।

रानाले आफ्नै लगानीमा डेढ करोड लागतको निमार्ण कार्य सुरु गरेको छन् । उनले धनगढीमा रहेको घर र जग्गा बिक्रीबाट आएको डेढ करोड रकमले काम सुरु गरेका हुन् । यसका साथै पर्यटन बोर्डबाट २७ लाख प्राप्त गरेका थिए । स्थानीय तहबाट भने कुनै सहयोग नपाएको उनको गुनासो छ ।

नैनीमा सानो घर छ । राना त्यही बस्ने गर्छन् । त्यहाँ गएका पर्यटकलाई नैनीको बारेमा उनी जानकारी गराउँछन् । अछाम, बाजुरा, डोटी र बझाङको संगमस्थलमा अवस्थित खप्तड पुग्न सबैभन्दा छोटो मार्गका रूपमा रहेको खप्तडको नैनीबाट पाटन पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ ।

खप्तड घुम्न जाने पर्यटकलाई खानबस्न सजिलो होस् भनेर खप्तडको तल्लो तुका गाउँमा होमस्टे सञ्चालनमा ल्याइएको थियो । ०७४ सालमा स्थापना गरिएको होमस्टे सडक नपुगेका कारण खाली छन् । पर्यटकलाई खान बस्न सजिलो होस् भनेर होमस्टे सञ्चालनमा ल्याइएको थियो ।

भूकम्पप्रतिरोधी छुट्टै पाँच घर निर्माण गरेर यहाँका स्थानीयको जीविकोपार्जनका लागि होमस्टे सञ्चालनमा ल्याइए पनि सडकका कारण पर्यटक पुग्न सकेका छैनन् ।

सम्बन्धित समाचार