बुधबार , जेठ ३०, २०८१

दशैं नमनाउने खोकनावासीको सिकाली जात्रा !

कुलदेवताको मान्यता पाएर प्रत्येक वर्ष खोकनाको यो सिकाली जात्रा र नाच सामूहिक रूपमा नै ठुलो ठुलो तान्त्रिक बलि पूजाहरू गरेर नै मनाई आइरहेको छ । यो पनि एउटा खुसीयाली मनाउन उपयुक्त जात्रा र नाचको समय हो ।

image

खोकनाको सिकाली जात्राको साथसाथै खोकनाको सिकाली नाच पनि त्यत्तिकै प्रसिद्ध र मनोरञ्जक देखिन्छ । सिकाली नाच मनोरञ्जक हुनुको साथसाथै शक्ति पीठहरूको माहात्म्य देखाएको छ ।

१. खोकनाको सिकाली जात्राले दक्ष प्रजापतिको यज्ञ विध्वंस गरेको देखाएको छ भने यो खोकनाको सिकाली नाचले शक्ति पीठहरूको माहात्म्य झल्काएको देखिन्छ ।

१.१. सतीदेवीले दक्ष प्रजापतिको यज्ञमा हामफालेर प्राण त्याग गरे । उनको साकार शरीरलाई अग्निले जलाए पनि निराकार शरीरलाई छुन पनि सकेन ।

१.२. सतीदेवीको सो निराकार शरीरलाई महादेवले देखेर बोकेर हिँडे । त्यस शक्तियुक्त शरीरलाई महादेवले कुनै पनि एक ठाउँमा छोड्न सकेन । धरतीलाई सो भार सहन गाह्रो पर्ला भनेर सतीदेवीले महादेवको सहयोगमा सतीदेवीको मृतक शरीरलाई सदुपयोग गर्ने उद्देश्य लिएर योजनाबद्ध तरिकाले शरीरलाई टुक्रा-टुक्रा गरेर ठाउँ-ठाउँमा पतन गराएर शक्ति पीठहरू उत्पत्ति गराए ।

१.३. यसरी शक्ति पीठहरू उत्पत्ति भएको ठाउँहरूमा महादेव शिवलिङ्गको रूपमा उत्पत्ति भएर शिवशक्ति स्वरूपमा रहेर सबैलाई शक्ति प्रदान गर्न शक्तिको श्रोतको रूपमा रहे ।

१.४. यी शक्ति पीठहरू शिवशक्ति स्वरूपमा रहेर दक्षयज्ञ विध्वंस गर्न वीरभद्र- महाकालीको साथ दिएर युद्धमा भाग लिएको अष्टमातृकाहरू, अष्ट भैरवहरू, योगिनीहरू, गणहरू, भूत प्रेत पिशाचहरू; सबैलाई उचित स्थान पाउने व्यवस्था गरे ।

१.५. सो कुरा खोकनाको सिकाली नाचले शक्ति पीठहरूमा यी सबै गणहरू स्थापित भएको देखाएको देखिन्छ ।

२. सिकाली नाचले यी शक्ति पीठहरूले कुलदेवताको मान्यता पाएर स्थानीयवासीहरूबाट सामूहिक रूपमा पूजा भएको देखाइएको छ ।

२.१. कुलदेवताको मान्यता राखेर नै हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि नै वर्षको एकपटक सिकाली जात्रा मनाई आइरहेको छ ।

२.२. त्यस्तै कुलदेवता मानेर नै वर्षको एकपटक सिकाली नाच पनि नचाई आएको छ ।

२.३. खोकनाको सिकाली नाचमा दक्षयज्ञ विध्वंस गर्ने भैरव नीलो वर्ण र नीलै वस्त्रहरू पहिरिएर प्रवेश हुन्छ र शक्ति पीठहरू उत्पत्ति भएर शिवशक्ति स्वरूपमा रहेको पाएर नाच्न सुरु गर्छन् ।

२.४. त्यस्तै रातो वर्णको रातै वस्त्रहरू पहिरिएर महाकालीको प्रवेश हुन्छ र नाच्न सुरु गर्छन् ।

२.५. तेस्रो नाचको रूपमा सिंहिनी र ब्याघ्रिनीको नाच प्रस्तुत गरिएको पाइन्छ । यसले गणहरू र योगिनीहरूको प्रतीक प्रस्तुत गरिएको देखिन्छ।

२.६. चौथो नाचको रूपमा मु द्य: र महादेवलाई नचाउँछ र यसले शक्ति पीठहरू शिवशक्ति स्वरूपमा रहेको दर्शाइएको हुन्छ

२.७. त्यसपछि एक-एक गरेर पाँचौँ नाचको रूपमा सेतो वर्णको गणेश सेतै वस्त्रहरू पहिरिएर नाच्न प्रवेश गर्छ भने छैटौँ नाचको रूपमा मु द्य: र महादेवको प्रवेश हुन्छ, नागनागिनीको प्रतीक दुई जना अरू नाच्नेहरू हुन्छन् । यहाँ  एक बलि चढाउने प्रथा पनि छ ।

२.८. यसपछि अष्ट मातृकाहरूको नाच सुरु हुन्छ । सातौँ नाचको रूपमा ब्रह्मायणी, कौमारी र वैष्णवीको नाच हुन्छ । आठौँ नाचको रूपमा वाराही इन्द्रायणी र चामुण्डा (काली) को नाच देखाइन्छ । नवौँ नाचको रूपमा महालक्ष्मीको नाच हुन्छ । यसरी अष्ट मातृकाहरू शक्ति पीठहरूको दायाँ र बायाँमा अर्ध गोलाकार रूपमा स्थापित भएको मान्यता छ ।

२.८. अष्ट भैरवको उपस्थिति शक्ति पीठहरूको आठौँ दिशाहरूमा बाहिर सुरक्षा व्यवस्था गरेर अवस्थित भएको मान्यता छ ।

२.९. यी शक्ति पीठहरूमा गणेश कुमार र हनुमानको स्थान पनि स्थापित हुने कुरा नाचबाट झल्काएको पाइन्छ ।

२.१०. यहाँनिर आएर शक्ति पीठहरूको शिवशक्ति स्वरूपमा रहेको मान्यता राखेर बलि चढाएर तान्त्रिक पूजा गरेर देखाएको हुन्छ, नाचहरूकै बिचमा । यो बलि चढाएर गरिने तान्त्रिक पूजा सामूहिक रूपमा नै गरेको पाइन्छ ।

तस्बीर : हिमाल खबर

३. मैले हेरेको दिनमा सत्रह वटा नाच नचाएको थियो । यसमा समय मौका अनुसार फरक हुन्छ भनेको सुनेको छु । तर सबै हेर्न पाएको छैन । आज म त्यही सत्रह वटा नाचको आधारमा शक्ति पीठहरूको उत्पत्ति र स्थापना बारेमा यस नाचमा देखाउन खोजेको कुरा छलफल गर्न गइरहेको छु । यसमा कुनै फरक दृष्टि पनि हुन सक्तछ । मैले देखेको १७ वटा नाचहरू यी हुन् :-

१. नीलो वर्णको भैरवको नाच,
२. रातो वर्णको महाकाली को नाच ,
३. सिंहिनी र ब्याध्रिनीको नाच,
४. मूद्य:र महादेवको नाच,
५. गणेश, कुमारको प्रवेश,
६. मन द्य: र नाग नागिनीको नाच,
७. अष्ट मातृकाहरू मध्येको ब्रह्मायणी, कौमारी र वैष्णवीको नाच ,
८. अष्ट मातृकाहरू मध्यको वाराही महाकाली ( चामुण्डा) र इन्द्रायणीको नाच,
९. महालक्ष्मी नाच ,
१०. कुमार नाच,
११. हनुमान नाच ,
१२. भैरवको साथ वाराही र चामुण्डा ( महाकाली) नोट:- यतिखेर बलि चढाउने पूजा हुन्छ ।
१३. वीरभद्र- महाकाली नाच ,
१४. भूतप्रेत, पिशाचहरू गणहरूको नाच,
१५. ब्रह्मायणी र अन्य गणहरूको नाच ,
१६. शिव, पार्वती र गणेश कुमार ,
१७. कुमार, गणेश, हनुमान र गणहरू सबैको खुसीयाली नाच

khokana indrayani sikali mandir

सिकाली चौरको रुद्रायणी मन्दिर,  तस्बीर : राजु झल्लु प्रसाद

४. सिकाली नाचबाट यो कुराहरू दर्शाएको पाइन्छ;

४.१. दक्ष प्रजापतिको यज्ञ विध्वंस पछिको देवताहरूको अव्यवस्थित अवस्थालाई व्यवस्थित बनाउन शक्ति पीठहरूको उत्पत्ति भएको र शक्तिको श्रोतको रूपमा रहन गएको खुसीयाली मनाएको देखिन्छ ।

४.२. योजनाबद्धरूपमा पचास शक्ति पीठहरूको उत्पत्ति भएर शिवशक्ति स्वरूपमा रहेर सबैलाई शक्ति प्रदान गरेर शक्तिमान बनाएर यो सृष्टि सञ्चालनमा सहयोग पुगेको खुसीयाली मनाएको ।

४.३. सतीदेवीले दक्षयज्ञमा हामफालेर प्राणत्याग गरेपछि बाँकी निराकार शरीरलाई महादेवले बोकेर हिँडेर कहाँ कहाँ पतन गराउने योजना बनाए । सोही अनुसार शरीरलाई पचास टुक्रा-टुक्रा गरेर पतन गराएर पचास स्थानहरूमा शक्ति पीठहरूको उत्पत्ति गराए । यी नै शक्ति पीठहरूमा शिवलिंग उत्पत्ति भएर शिवशक्ति स्वरूपमा रहे । यसबाट शक्ति प्राप्त गरेर जिउन सजिलो भयो ।

४.४. दक्षयज्ञ विध्वंस गर्न साथ दिने अष्टमातृकाहरू, अष्ट भैरवहरू, योगिनीहरू, गणहरू र भूतप्रेत, पिशाचहरू बाहेक गणेश, कुमार, सिंहिनी, ब्याघ्रिनी सबैलाई व्यवस्थित गरेर शिवशक्ति स्वरूपमा रहे । शक्ति पीठहरूमा यिनीहरू सबैको व्यवस्था भयो । यिनीहरू सबै अलपत्र परेर बस्नु परेन ।

४.५. कुलदेवताको मान्यता पाएर प्रत्येक वर्ष खोकनाको यो सिकाली जात्रा र नाच सामूहिक रूपमा नै ठुलो ठुलो तान्त्रिक बलि पूजाहरू गरेर नै मनाई आइरहेको छ । यो पनि एउटा खुसीयाली मनाउन उपयुक्त जात्रा र नाचको समय हो ।

५. अन्तमा शक्ति पीठहरूको माहात्म्य देखाउन रुद्रायणीको शक्ति पीठलाई उदाहरणको रूपमा प्रस्तुत गरेको छु । यस खोकनाको सिकाली नाचमा नाचमार्फत शक्तिपीठहरूको महत्त्व र शक्तिपीठको व्यवस्थापनमा सबै रमाएको कारण पनि प्रस्तुत गरिएको हो । साथसाथै यिनीहरू सबै आआफ्नू हैसियत अनुसार मान्यता पाएर बस्न पाएको र रमाउने वातावरण भएको कारण पनि प्रस्तुत गरेको हुँ ।

१. एक विद्या शक्ति
२. अष्ट मातृकाहरू
३. भैरव र क्षेत्रपालहरू
४. गणेश र कुमार
५. सिंहिनी र ब्याघ्रिनी
६. योगिनीहरू
७. गणहरू
८. भूतप्रेत, पिशाचहरू

त्यसकारण शक्ति पीठहरूको तान्त्रिक पूजामा यी सबै देवी-देवताहरूको पनि पूजा हुने मान्यता छ ।


बद्रीनाथ कायस्थ

Tags:

सम्बन्धित समाचार