सुवेदीले पर्यटन र सामाजिक क्षेत्रमा दिएको योगदानकाे कदर गर्दै सरकारले विभुषित गरेको हो ।
काठमाडौं । पर्यटन व्यवसायी एवम् ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष खुम बहादुर सुवेदीलाई सरकारले प्रबल जनसेवाश्री मानपदवीले विभूषित गरेको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका सफल पर्यटन व्यवसायी सुवेदी आज असोज ३ गते अर्थात् आठौँ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो पदवीले विभूषित भएका हुन् ।
सुवेदीले पर्यटन र सामाजिक क्षेत्रमा दिएको योगदानकाे कदर गर्दै सरकारले विभुषित गरेको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका-६, चैनपुरमा जन्मिएका सुवेदी २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका हुन् । सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक समेत रहेका छन् ।
सुवेदी पर्यटन व्यवसायी मात्रै नभई नियात्राकार समेत हुन् । ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ सुवेदीका दुई नियात्रा कृतिहरू बजारमा प्रकाशित भइरहेका छन् ।
मानविकी विषयमा स्नातक पुरा गरेका सुवेदीले नेपाली पर्यटन प्रवर्द्धनार्थ ४० भन्दा बढी देशहरूको भ्रमण गरिसकेका छन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट सम्मानित भइसेका छन् ।
मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ९९८ जनालाई उनीहरुको योगदानको कदरस्वरुप विभिन्न तहका मानपदवी, अलंकार र पदक प्रदान गरेको छ ।
संविधान दिवसका अवसरमा घोषित मानपदवी राष्ट्रपतिबाट हस्तान्तरण हुने चलन छ । सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न यसपालि पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई दिइएको छ ।