विगत तीन दशक भन्दा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न रहँदै आएका सुवेदीले साे क्षेत्रबाट व्यवसायी र राज्यलाई थुप्रै योगदान दिइसकेका छन् ।
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
महासङ्घको यही चैत्र २८ र २९ गते साधारण सभासहित निर्वाचन हुँदै छ । व्यवसायी सुवेदीले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनकुमार श्रेष्ठ र उपाध्यका उम्मेदवार मनिषलाल प्रधानको प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।
विगत तीन दशक भन्दा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न रहँदै आएका सुवेदीले व्यवसायी र राज्यलाई थुप्रै योगदान दिइसकेका छन् ।
आफूले पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन लागिएको भए पनि महासङ्घमा गएपछि सबै क्षेत्रका उद्योगी व्यवसाय र व्यवसायीहरूको हकहितमा काम गर्ने सुवेदीले बताएका छन् ।
“नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालको उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीहरूको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्याउने ठुलो र साझा संस्था हो” सुवेदीले भने, “सबै क्षेत्रका उद्योगी व्यवसायीहरूको हकहितको संरक्षण, उद्योग व्यवसायको विकास र विस्तारमा केन्द्रित भएर काम गर्ने छु ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसले सक्षम र समर्पित नेतृत्व पाउनुपर्ने सुवेदीको भनाइ छ । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) लगायत विभिन्न सङ्घसंस्थाको नेतृत्व गरेर कुशलता र समर्पण प्रदर्शन गरिसकेकाले महासङ्घको सदस्यमा पनि आफ्नो जीत अनिवार्य रहेको सुवेदीले बताए ।
“टानमा मैले दुई वर्षभन्दा बढी नेतृत्व गरेँ । मैले आफ्नो व्यवसायलाई छोडेरै टानलाई समय दिएको थिएँ । महासङ्घमा पनि पुरा समय दिएर काम गर्ने छु ।” सुवेदीले भने ।
पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायीहरूको साथ–समर्थन रहेको र व्यावसायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आफूले पुर्याउँदै आएको योगदानलाई मूल्याङ्कन गर्दै आफूलाई महासङ्घको सदस्यमा निर्वाचित गराउने सुवेदीको विश्वास छ ।
महासङ्घमा वस्तुगत, जिल्ला–नगर र एशोसिएसन गरी तीन वटा विधाहरू रहेका छन् । सुवेदीले वस्तुगत क्षेत्रबाटै उम्मेदवारी दिन लागेका हुन् । महासङ्घमा १२३ वटा वस्तुगत क्षेत्रहरू संलग्न रहेका छन् ।
सफल पर्यटन व्यवसायी सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक समेत रहेका छन् । सुवेदी सामाजिक संस्था लायन्स क्लब अफ नेपाल प्याराडाइजको अध्यक्ष, रोटरी क्लब अफ दरबारमार्गका सदस्यका समेत रहेका छन् ।
सुवेदी नेपाल सरकारद्वारा प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित समेत भएका छन् । पर्यटन र सामाजिक क्षेत्रमा सुवेदीले दिएको योगदानको कदर गर्दै सरकारले विभूषित गरेको हो ।