मंगलबार , अषोज ६, २०८३

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ’- मन्त्री किराँती

image

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचेभन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ६२औँ रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले देश जहाँ छोयो, त्यहीँ फाटेको टिप्पणी गरे ।

१० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको किराँतीको भनाइ छ । मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको टिप्पणी गरे । आफू फेल भए युग र व्यवस्था नै फेल हुने उनको भनाइ छ ।

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ,’ किराँतीले भने, ‘म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो, हात्तीको होइन ।’

नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा पछि परिरहेको उनले बताए । बेरोजगार भएर मात्रै विद्यार्थीहरू विदेश जाने नगरेको भन्दै किराँतीले नेपालको शिक्षामा नै विष हालिएको टिप्पणी गरे । विद्यार्थीहरूलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालिएको उनको भनाइ छ ।

Tags:

सम्बन्धित समाचार