बिहिबार , कार्तिक २८, २०८२

हाइकिङका लागि उपयुक्त गन्तव्य ‘कोरी’

image

कास्कीको मादी गाउँपालिका-१ मा पर्छ कोरी ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण कोरी छोटो पदयात्रा गर्न चाहनेहरूको खास गन्तव्य बन्न थालेको छ ।

पदयात्राका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

कोरी पदयात्रा सिकलेसबाट सुरू हुन्छ ।

पोखराबाट सिकलेस लगभग ४२ किलोमिटर छ । सिकलेस जानका लागि पोखराको काहुखोलाबाट बस लाग्छ । अहिले बर्खाको समय भएकाले जिपहरू मात्रै पाइन्छ ।

त्यसपछि मादी गाउँपालिका-५ विजयपुर हुँदै छाचोक, तप्राङ, खिलाङ र तार्चे हुँदै सिकलेस पुगिन्छ ।

पोखराबाट तप्राङ चिप्लेको बीचसम्म २० किलोमिटर सडक पक्की छ । त्यसपछि कच्ची सडक सुरू हुन्छ ।

जिप भाडा प्रतिव्यक्ति पाँच सय रूपैयाँ लाग्छ । तर गाडीभरी यात्रु नभए जिप जाँदैन । रिजर्भ गर्नुपरे पाँच हजारमा जिपले सिक्लेस पुर्‍याउँछ ।

पोखराबाट बिहानै हिँड्ने हो भने सिक्लेस पुगेर त्यहाँबाट पदयात्रा सुरू गरी चार घन्टामा पासा पुगिन्छ । त्यहाँ खाना र बस्नको व्यवस्था छ ।

यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा अवलोकन गर्दै सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदल यात्रा तय गर्न सकिन्छ ।

पहिलो रातको बसाइ भने ‘तसा खर्क’ मा हुन्छ ।

तसा खर्कको होटलमा अर्को दिनको बिहानको खाजा खाई यात्रा कोरीतर्फको यात्रा फेरि सुरू हुन्छ ।  करिब ३ घन्टाको जंगलको यात्रा पछि खाना/खाजा को लागि ‘च्येका ल्हि’ मा पुगिन्छ ।

च्येका ल्हिमा खाना/खाजा खाएपछि भने यात्रामा उकालो बाटोको शुरुवात हुन्छ ।

करिब ३००० देखि ३५०० मिटरको उचाइ चारै तिर मनमोहक दृश्यले थकान भोक सबै हराएको महसुस हुन्छ कोरी पुग्दा ।

कोरीबाट ६ हजार ९८८ मिटर उचाइको लमजुङ हिमाल,  ७ हजार ९३७ मिटर  उचाइको अन्नपूर्ण दोस्रो, ६ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र ८ हजार १५६ मिटर उचाइको मनासलु हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

जसले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ ।

पदयात्राका लागि होटलहरूले गाइडको पनि व्यवस्था गरेको हुन्छ । उनीहरूले एक दिनको १ हजार पाँच सय पारिश्रमिक लिन्छन् ।

कोरीबाट तेस्रो दिनमा विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिएको कफुचे ताल ‘कफुचे’ पुगिन्छ । त्यहाँबाट चौथो दिनमा फर्किन सकिन्छ ।

यसरी चार दिनमा करिब १० हजार रूपैयाँ खर्चमा कोरी पदयात्रा सकिन्छ।

पदयात्रामा राम्रो र व्यवस्थित बासको व्यवस्थाको पाटोमा भने कमजोरी रहेको हामीले पायौं।  कुनै दिन सुत्ने ठाउँ पाउन समेत मुस्किन हुन्छ।  कोरी पदमार्गमा व्यवस्थित बसोबासका लागि होटल लज को  सही व्यवस्थापन गर्न नसक्नु नै प्रमुख कमजोरी हो ।

यस्ता कमजोरीहरूलाई हटाएर आन्तरिक र बाह्य पर्यटकहरूका लागि बसोबासको उचित व्यवस्था गर्न सके कोरी पदयात्रा मार्ग विश्वकै आकर्षकमध्येको एक गन्तव्य बन्न सक्छ ।

कोरी अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ पैदलयात्री सतर्क रहन आवश्यक पनि हुन्छ ।

यात्रीले गाइड लिने वा समूहमा यात्रा गर्ने, पानी, टर्च लाइट, लठ्ठी र न्यानो लुगा बोक्नुपर्छ । सो क्षेत्र कालो भालु अधिक पाइने हुनाले यात्राको बेला होहल्ला या भालु वा कुनै पनि जंगली जनावर जिस्काउन हुँदैन ।

सम्बन्धित समाचार