मंगलबार , साउन ८, २०८१

नेपालमा सबैभन्दा पहिला शासन गर्ने ‘गाेपाल वंश’का सन्ततिहरूकाे गाउँ, -कुन्छाल

दौरा-सुरुवाल र इस्टकोटमा ठाँटिएर पिँडीमा बसेर हुक्का तान्दै गरेका हजुरबाहरू, हाकुपटासीमा सजिएका आमाहरू, झ्यालबाट गर्दन तन्काउँदै बाटाे नियालिरहेका वृद्ध-वृद्धाहरू नयाँ मान्छे देख्ने बित्तिकै सोध्छन्, "बाबु नानीहरू कहाँबाट आयौ ? भोक तिर्खा लाग्यो होला, चिया खाने हो ?"

image

एउटा सुन्दर हरियाली थुम्काकाे काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला-अग्ला दुई/तीन तले गाउँले घरहरू एकै ठाउँमा झुप्प मिलेर बसेका छन् । एउटै रङ्ग र आकार-प्रकारका टाइलले छाएका दुई पाखे छानो अनि बुट्टे झ्याल ढोकाहरू । छानोलाई टेको दिइरहेका टुँडाल अनि तिनमा झुन्डिइरहेका मकैका झुत्ताहरू, बुट्टे झ्यालसँगैका साना-साना बार्दलीहरू घरलाई झनै सुन्दर देखाउन गहना बनेका छन् । झट्ट हेर्दा लाग्छ, निकै पुरानो बस्ती हो ।

जति नजिक पुगियो, त्यति नै अग्ला देखिन्छन् घरहरू । गाउँभित्र पसेर हेर्दा गगनचुम्बी महल जस्तै देखिन्छन् । घरको आँगन छेउछाउमा बाँधिएका गाई-भैँसी र गोबरको गन्ध अनि सँगै खेलिरहेका, हुल बाँधेर यताउता ओहोरदोहोर गरिरहेका हाँसका बथानहरूले गाउँको सुगन्ध दिन्छ । दौरा-सुरुवाल र इस्टकोटमा ठाँटिएर पिँडीमा बसेर हुक्का तान्दै गरेका हजुरबाहरू, हाकुपटासीमा सजिएका आमाहरू, झ्यालबाट गर्दन तन्काउँदै बाटाे नियालिरहेका वृद्ध-वृद्धाहरू नयाँ मान्छे देख्ने बित्तिकै सोध्छन्, “बाबु नानीहरू कहाँबाट आयौ ? भोक तिर्खा लाग्यो होला, चिया खाने हो ?”

स्थानीय महाेत्सवमा प्रदर्शनमा राखिएकाे तस्बिर

गाउँ र गाउँभित्रका दृश्यहरूले अर्कै लोकमा पुगेको अनुभूति गराउँछ । त्यसमाथि गाउँका बासिन्दाहरूले प्रेम र सद्भावले भरिएका यस्ता प्रश्नहरू गर्छन्, जसले साँच्चै भावविभोर बनाउँछ । गाउँमा पुग्दा लाग्छ, प्राचीन कालमा छौँ, प्राचीन गाउँमा छौँ । गाउँमा रहेका प्राचीनता झल्कने घर, मठ-मन्दिर, पाटी-पौवा, धारा, गाउँलेहरूको जीवनशैली, उनीहरूले प्रयोग गर्ने परम्परागत प्रविधि, विश्वास, मूल्य मान्यता, सामाजिक संरचना, सामूहिकता, सद्भाव र सह-अस्तित्वको भावना, जसले प्राचीनताको झल्को दिन्छ । जहाँ मानवता जीवित छ, सांस्कृतिक मुल्यमान्यताले भरिपूर्ण, परम्परागत प्रविधिले सम्पन्न जीवनशैली, कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्र । गाउँको नाम हो, कुन्छाल ।

अब, यो गाउँलाई चिन्न नेपालको प्राचीन इतिहासलाई कोट्ट्याउनुपर्ने हुन्छ । नेपालमा शासन गर्ने वंशहरूबारे लेखिएको इतिहासका पानाहरू पल्टाउनुपर्ने हुन्छ । सबैभन्दा पहिलो पानामा आउँछ, गोपाल वंश र यसको इतिहास ।

वंशावली एवम् विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख भए अनुसार ‘निप’ जातिका व्यक्तिहरू नेपालको दक्षिण तर्फको भू-भाग बाट आएर यहाँ (काठमाडाैं उपत्यका) बसोबास गर्न थाले । त्यस समयमा यहाँ बसोबास गरिरहेका ‘नाग’ जातिका मानिसहरूलाई युद्धमार्फत पराजित गरी उपत्यकामा आधिपत्य जमाए ।

‘ने’ नाम गरेका ऋषिले निप जातिका ‘भुक्तमान’ लाई नेपालको पहिलो राजा घोषित गरिदिए र भुक्तमानले मातातिर्थ भन्ने ठाउँलाई केन्द्र बनाई शासन व्यवस्था सुरु गरे । यसरी गोपाल वंशको सुरुवात भएको थियो । नेपालको पहिलो राजा ‘भुक्तमान’ लाई ‘भुमिगुप्त’ भनेर पनि चिनिन्छ । बौद्ध धर्मावलम्बीहरूका अनुसार ‘भुक्तमान’ लाई ‘धर्माकर’ भनिन्छ ।

यिनीहरूको मुख्य पेसा गाई पालन थियो । गाई पालन मुख्य पेसा भएकोले यिनीहरूलाई ‘गोपाल’ भनिन्थ्यो । यसै कारणले गर्दा गोपाल वंश भनियो । गाईले हालको पशुपति क्षेत्रमा आफैँ दूध चढाएको देखेर गोपालहरूले खोजी गर्दा ‘पशुपतिको ज्योतिर्लिङ्ग’ फेला परेको थियो भनिन्छ ।

गोपाल वंशका ८ जना राजाहरूले ५२१ वर्षसम्म शासन गरेका थिए । गोपाल वंशको पहिलो राजा ‘भुक्तमान’ हुन् भने अन्तिम राजा ‘यक्षगुप्त’ हुन् । यद्यपि, गोपाल वंश  नेपालको पहिलो शासक वंश भएकोमा मतैक्यता देखिए पनि शासनकाल र अवधिको विषयमा भने मत विभाजित छ । खैर, यता बहस गर्नु यो लेखको उद्देश्य होइन ।

अब, प्रश्न उठ्छ, नेपालमा सबैभन्दा पहिला शासन गरेका गोपालहरू कहाँ गए ? तिनका सन्तति कहाँ छन् ? हो, यी प्रश्नको जवाफ हो, कुन्छाल गाउँ । यस गाउँमा तिनै गोपालका सन्ततिहरूको बसोबास छ ।  गोपालहरूले बसालेको गाउँ हो, कुन्छाल । त्यसैले कुन्छाललाई ‘गोपाली गाउँ’  पनि भनिन्छ । जहाँ गोपाली समुदायको मात्रै बसोबास छ ।

याे गाउँ ऐतिहासिक महत्त्वले भरिएको  जिल्ला मकवानपुरको थाहा नगरपालिका-१ स्थित  टिस्टुङ-पालुङ उपत्यकाको उत्तर-पश्चिमी कुनामा समुन्द्री सतहबाट करिब एक हजार सात सय मिटरको उचाइमा चुपचाप बसेकाे छ । महाभारत पर्वत श्रृङ्खलाकै एक पहाडकाे काखमा विराजमान कुन्छाल गाउँकाे हावापानी न्यानो समशीतोष्ण खालकाे छ । ग्रीष्म याममा धेरै गर्मी नहुने र शिशिर याममा धेरै ठन्डा नहुने भएकाेले यस प्रकारकाे हावापानीलाइ सबैभन्दा उत्तम हावापानी समेत भन्ने गरेकाे पाइन्छ । कुन्छाल गाउँकाे यस प्रकारकाे हावापानीले गाउँमा पुग्ने पाहुनालाइ बाह्रै महिना स्वागत गर्दछ ।

गाउँकाे नाम ‘कुन्छाल’ ? 

कुन्छाल गाउँको नामकरण सम्बन्धमा मत विभाजित छ । अलि कुनामा पहाडको फेदमा कसैले नदेख्ने र हावा नलाग्ने ठाउँ भएकोले ‘कुन्चा’ भन्ने गरेको र पछि अपभ्रंश हुँदै ‘कुन्छाल’ भएको कतिपय स्थानीय दाबी गर्छन् । अर्को भनाइअनुसार धेरै वर्ष पहिले बाहिरका मानिसले स्थानीयलाई “कुन सालदेखि यहाँ आएर बसेको ?” भनी सोध्दा यकिन मिति थाहा नभएपछि स्थानीयले “खै! कुनसाल-कुनसाल” भनेर जवाफ दिएको र त्यसैको अपभ्रंश भएर कुन्छाल भएको बताइन्छ । कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाइ समितिका अध्यक्ष एवम् एक जना स्थानीय अगुवा सानुकाजी गोपाली पनि कुन्छाल गाउँको नामकरण सम्बन्धमा उल्लेखित दुई मत रहेकोमा सहमत छन् । तर, ती दुईमध्ये कुन चाहिँ सत्य हो भन्ने विषयमा भने उनी पनि अनभिज्ञता प्रकट गर्छन् ।

सानुकाजी गाेपाली (अध्यक्ष, कुन्छाल सामुदायिक हाेमस्टे व्यवस्थापन तथा सरसफाइ समिति)

त्यसाे त गाउँकाे न्वारन सम्बन्धमा मात्रै हाेइन, कुन्छाल गाउँमा अन्य धेरै प्रकारका सामाजिक, धार्मिक, सांस्कृतिक एवम् एतिहासिक मुल्यमान्यताहरू छन्, जुन हाम्रा निम्ति निकै विस्मयकारी छन् ।

जहाँ कुखुरा पाल्न मनाही छ

कुन्छाल गाउँमा कुखुरा पाल्न र मासु खान मनाही छ । गाउँमा कुखुरा पाल्दा भाले बास्ने र भाले बासेमा अनिष्ट हुने उनीहरू विश्वास गर्दछन् । यसको  पछाडि एउटा किंवदन्ती रहेछ । किंवदन्ती अनुसार, “उहिले बाटोमा हिँड्ने बटुवाले कुखुरा भाले पनि सँगै ल्याएर गाउँमा बास बसेको र राति भाले बासेपछि गाउँमाथि रहेको ऋषेश्वर महादेव रिसाएर बसाइ सरेर नजिकैकाे पालुङ उपत्यका माथिकाे डाँडामा गएर बसेछन् । भाले बासेकाे कारणले ऋषेश्वर महादेव बसाइसरेर गएपछि गाउँमा दुःख बिमार अनिष्ट भएकोले कुखुरा पाल्न मनाही गरेको” बताइन्छ । उनीहरू  हाँस पाल्छन् । कुखुराको ठाउँमा हाँसको मासु खान्छन् । गाउँका गोरेटा, घर  आँगनहरूमा हाँसका हुलहरू भेटिन्छन् । कुन्छाल गाउँमा पुग्दा हाँसको मासुको स्वाद चाख्न पाउनु बाध्यात्मक अवसर हो ।

कुन्छाल गाउँमा ‘राजतन्त्र’ छ 

नेपालमा राजतन्त्र समाप्त भएको डेढ दशक भयो । तर, कुन्छाल गाउँमा राजतन्त्र छ । जन्मँदै गाउँकाे राजा बन्ने परम्परा कुन्छालमा छ । उनीहरू तिनलाई राजा भने भन्दैनन् । नाइके भन्छन् । तिनलाई सबैले मान्छन् । “जिउँदोमा जन्ती जान होस् या मर्दा मलामी, नाइकेकै  निर्देशन अनुसार जानुपर्दछ ।” एक जना स्थानीय वीजेन्द्र गोपालीले भने, “नाइकेले सामाजिक व्यवस्था र संस्कृतिको संरक्षण र संवर्द्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् ।” कुन्छालमा गुठी परम्परा पनि रहेको छ । जसको नेतृत्व नाइकेले गर्दै  आएका छन् । यस गाउँमा १२ महिनामा १३ वटा चाड मनाउने गरेको स्थानीय कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाइ समितिका अध्यक्ष सानुकाजी गोपालीले बताए । उनका अनुसार गाउँमा वर्षमा दुई पटक गुठी बस्ने गरेको छ । त्यसैगरी वर्षमा एक पटक हिले नाच पनि आयोजना गर्दै आएका छन् । चाडपर्व, मेला, उत्सव, पूजाआजा लगायत सामाजिक कार्यहरूको नेतृत्व र योजना तथा व्यवस्थापन पनि नाइकेले गर्दै आएका छन् । गाउँमा प्रत्येक १२ वर्षमा नाच देखाउँछ । त्यो नाच तयार  पार्न १० जना कजीहरू तोक्ने गरेका छन् । यस वर्षको फागुनमा उक्त नाच हुँदै छ । अहिले तालिम भइरहेको छ ।

नाइकेले कुन्छाल गाउँकाे सामाजिक व्यवस्थालाइ बलियाे बनाएकाे पाइन्छ । समाजकाे अभिभावकीय भूमिका नाइकेले निभाएका छन् । नाइके प्रथा समाजलाइ सु-व्यवस्थित ढंगले सञ्चालन गर्न सहयाेगीसिद्ध भएकाे देखिन्छ । साे प्रथाकै कारण समाज एक ढिक्क रहेकाे र धार्मिक, सांस्कृतिक एवम सामाजिक मुल्यमान्यताहरू पनि जीवित भएकाे स्थानीय बताउँछन् ।

आत्मनिर्भर अर्थतन्त्र 

कुन्छाल गाउँको अर्को महत्त्वपूर्ण विशेषता भनेको कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्र हो । यस गाउँका बासिन्दाको मुख्य पेसा र  आम्दानीको स्रोत कृषि हो । कृषिजन्य उत्पादनको सदुपयोग गर्न गाउँलेहरू सिपालु छन् । “स्रोत र साधनलाई खेर फाल्नुहुँदैन” भन्ने उनीहरूको मान्यता छ । जस्तै धान झारेपछि परालको सुकुल गुन्द्री बुनेर प्रयोग गर्छन् । मकैको खोस्टाको चप्पल जुत्ता, चकटी बुनेर प्रयोग गर्छन् । प्लास्टिकका बोराहरू धागो निकालेर नाम्लो, खकन, डोरी बनाउँछन् । बढी भएको बेच्छन् ।

परालकाे चप्पल । घरमा बस्दा कुन्छालबासीहरू यही चप्पल प्रयाेग गर्छन् ।

स्थानीय महाेत्सवमा सुकुल, गुन्द्री, चकटी, चाल्नीफ डाेकाे, डालाे, झाडु, कुचाे लगायतका स्थानीय उत्पादनहरू प्रदर्शन गर्दै स्थानीय महिलाहरू

बाँस निगालोको चोयाबाट बन्ने सामाग्रीहरू अत्यधिक प्रयोग गर्दछन् । मन्जन ब्रस राख्ने टोकरीदेखि छ्याङ छान्ने चाल्नीसम्म चोयाकै बनाउँछन् । ढकिया, सोली, डोको, मोला, भकारी, पेरुङ्गो, मान्द्रो लगायत थुप्रै सामाग्रीहरू उत्पादन गर्छन्, प्रयोग गर्छन् अनि बढी भएको बेच्छन् ।

डाेकाे बुन्दै

यस गाउँमा धान, मकै, काेदाे, गहुँ, फापर, ताेरी विभिन्न प्रकारका दाल, बाेडी, गेडागुडी, आलु, काउली, बन्दगाेबी, मुला, गाँजर लगायत अन्नबाली उत्पादन गर्दै आएकाे छ । त्यसैगरी गाइभैँसी, बाख्रा, हाँसकाे पालन पनि गर्दै आएका छन् ।

स्थानीय अगुवाहरूका अनुसार कुन्छालका कमै युवाहरू मात्रै रोजगारीका लागि बिदेसिएका छन् ।  केही युवाहरू अध्ययनका लागि बिदेसिए पनि अध्ययनपश्चात् गाउँमै फर्कने गरेका छन् । कृषि र कृषिजन्य उत्पादनबाट नै राम्रो  आम्दानी हुने भएकाले युवाहरू बिदेसिन बाध्य नभएको उनीहरूको भनाइ छ । गाउँमै  आत्मनिर्भर बन्न सकेकाेमा उनीहरू गर्भ गर्छन् ।

हलाे जुवा

पर्यटकको रोजाइमा पर्दै कुन्छाल 

कुन्छाल गाउँ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । सन् २०१८ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपाल र नेपाल पर्यटन बोर्डले कुन्छाल गाउँलाई घुम्नैपर्ने ग्रामीण गन्तव्यको रूपमा घोषणा गरेका  थिए । त्यसपश्चात् लवग्रीन नेपाल नामक गैरसरकारी संस्था,  स्थानीय सरकार र समुदायको पहलमा होमस्टे(घरबास) कार्यक्रम सञ्चालन भयो । तर, भिटाेफ नेपाल र पर्यटन बोर्डले ‘घुम्नुपर्ने गाउँ’ को रूपमा घोषणा मात्रै गरेर छोडिदिएको स्थानीयको गुनासो छ । होमस्टे सञ्चालन, व्यवस्थापन, पर्यटन प्रवर्द्धनमा लवग्रीन नेपालले सहयोग गर्दै आएको छ । संस्थाले अघिल्लाे वर्ष जापानका विद्यार्थीहरूलाई ल्याएर कुन्छाल गाउँ होमस्टेको अवलोकन समेत गराएको छ । जसले कुन्छाल गाउँलाइ जापानमा चिनाउन भूमिका खेलेकाे र जापानीहरू आउने गरेकाे स्थानीयले बताए ।

गाउँका  अगुवाहरूका अनुसार कुन्छालका कमै युवाहरू मात्रै रोजगारीका लागि बिदेसिएका छन् ।  केही युवाहरू अध्ययनका लागि बिदेसिए पनि अध्ययनपश्चात् गाउँमै फर्कने गरेका छन् । कृषि र कृषिजन्य उत्पादनबाट नै राम्रो  आम्दानी हुने भएकाले युवाहरू बिदेसिन बाध्य नभएको उनीहरूको भनाइ छ । गाउँमै  आत्मनिर्भर बन्न सकेकाेमा उनीहरू गर्भ गर्छन् ।  होमस्टे व्यवस्थापन र पर्यटन प्रवर्द्धनका लागि  कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाइ समितिले  काम गर्दै  आएको छ । अहिले १० वटा घरमा होमस्टे सुरु गरिएको छ । होमस्टे सञ्चालनमा ल्याएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ । गाउँमा पर्यटकको आगमन बढ्न थालेपछि मुलुकका विभिन्न ठाउँमा सहरमा पेसा व्यवसायी गरी बसोबास गर्दै आएका युवाहरू पनि गाउँ फर्कन थालेका छन् ।

गोपाली संस्कृति, जीवनशैलीको अवलोकन, परम्परागत स्थानीय गोपाली खानाको स्वाद लिन पर्यटकहरू पुग्ने गरेका छन् । नेपालको इतिहास र समाजको अध्ययन गर्नेहरू पनि गोपाली गाउँ पुग्ने गरेका छन् । नेपालको पहिलो राजवंशावली गाेपालहरूकाे गाउँ भएकाले कुन्छालमा पुग्ने अधिकांश पर्यटकहरूले इतिहासकै बारेमा चासो र प्रश्न गर्ने गरेको स्थानीयकाे भनाइ छ ।

कुन्छाल ऐतिहासिक पर्यटनको थलो बन्न सक्छ । नेपालको इतिहासको उत्खनन गर्न चाहनेहरूले एक पटक पुग्नै पर्ने गन्तव्य हो, कुन्छाल । तर, पर्यटकहरूको भिडले ‘गुलजार’ बन्नुभन्दा पहिला कुन्छाल र कुन्छालबासी (गोपाली समुदाय) बारे प्रशस्त अध्ययन र अनुसन्धान हुन जरुरी छ ।  उनीहरूबारे लेखिन जरुरी छ ।

कसरी पुग्ने ? 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ मा अवस्थित कुन्छाल गाउँ काठमाडाैं उपत्यकाबाट ३०  किलोमिटरको दुरीमा रहेको छ । काठमाडाैंकाे थानकोट चेकपोस्टबाट चन्द्रागिरि डाँडा, चित्लाङ हुँदै जम्मा ४५ मिनेटको यात्रा तय गर्दै कुन्छाल गाउँ पुग्न सकिन्छ । हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै ७० किलोमिटरको दुरी तय गरेर पनि कुन्छाल पुग्न सकिन्छ ।  त्यसैगरी धादिङको धुनिबेँसी नगरपालिकाको नौबिसे-खानीखाेलाबाट त्रिभुवन राजपथ हुँदै जान पनि सकिन्छ ।  साना ठुला सबै खालका सवारीसाधनमा कुन्छाल गाउँ पुग्न सकिन्छ ।

भिडियो

सम्बन्धित समाचार