शुक्रबार , अषोज १४, २०७९

छाती ताछ्ने कविताहरूको नाउँ !

image

हिजो राति बियर खाएर मात्नु मातियो । बिहान उठिसकेपछि चिया खाने हुत्ती छैन । किन छैन भन्दा छाती ताछिएको जस्तो महसुस भइरहेको छ । तर, चिया खानु नै छ ।  अब यतिबेला के गर्ने ? यो प्रश्न निकै मासुम लहेजाको छ । मुलायम चेहराको छ । यहाँ मुलायम कुरा छ- ताछिनु ।

चिया खाइयो की खाइएन, त्यो तपसिलको कुरा ! तर, छाती ताछियो, यो महत्त्वपूर्ण कुरा छ । बियर खाएर छाती ताछ्नेहरूमध्येमै म पनि पर्छु, यो प्रचलित विश्वास हो, जो सोह्रै आना सहि कुरा हो । तर, बियर खाएर मात्रै छाती ताछ्ने काम मात्रै म गरिरहन्न । अरू अरू प्रकार र किसिमले छाती नताछिएपछि बियर अन्तिम विकल्प बन्ने हो । त्यसअघि धेरै कुरा छन्, धेरैथरी कुरा छन् । ताछिन तयार हुँदा पनि ताछ्ने कुराहरू नपाउनुको पीडाबोध पनि मसँग कैयन छन् । अहिले ताछिएकै कुरा गरौँ;

१.अलि अगाडि शिल्पी पुगेँ, घिमिरे युवराज दाइ ‘हिउँको पृथ्वीयात्रा’मा थिए । यात्रारत भएँ, फर्किएँ । फर्कँदा ताछिएको छातीसहित फर्किएँ ।

२. सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ हेरेँ । बाल्यकालको झझल्कोले ताछिएँ । ‘बच्चा बेलाको फोटो भएन्, फोटो भएन्’ भनेर गनगनाइरहँदा उनले डल्लै बाल्यकाल ल्याएर ‘ल लाँ’ भन्दिए । कोपरिएँ यार.., ताछिएँ ।

३. ‘पुस्तक मेला वा किताब जात्राहरू केका लागि ?’ भनेर प्रश्न उठिरहँदा एकेडेमीसम्म पुगेँ ! मिश्रासाबको ‘आरम्भ है प्रचण्ड’ले छाती चिथर्यो । ताछ्यो । चिथोरिएँ । ताछिएँ ।

४. कुमारी रथयात्राको पहिलो दिन दिन वसन्तपुरमा पुलुकिसीको फोटो खिच्न खोज्दै थिएँ, एउटा बच्चीले ‘म पनि हात्त्ति बन्ने’ भनिन् । ताछिएँ ।

धेरै कुरा छन्, धेरैथरी कुरा छन् । ताछिँदै आएको छु । चिथोरिँदै आएको छु ।

यसैमध्ये एक हुन्- कुशल न्यौपाने । लेखे, खुब लेखे यिनले । लेखिरहेकै छन् । यिनका कविताले हरेकपटक ताछिएको छु । पटकपटक ताछिएको छु । आफ्नै कविता याद नहुने मलाई यिनको कविता मुखमै आउँछ । मुखमा ‘कविता’ आउनु, चानचुने कुरा कहाँ हो र ? मुखमा ‘राम’ आउँदा त मान्छे दंगदास छन् । ‘राम भन्दा परम पद हो कविता’- मलाई लाग्छ । लाग्छ त लाग्छ । अरूलाई के लाग्छ, भुत्रैसित्ति !

अर्का मौन आवाज छन्, तिनले पनि सोही गरिरहेका छन् । चिथोर्ने सवालमा यिनले पनि छाडेका छैनन् ।  यिनका कविताबारे लेख्नुथियो, चिथोरीनुको आन्नदमै छु, त्यो अलि पछी गरौँला ।

लेखियो नि, आफूले पनि ।
र, छोडियो पनि, यी दुईले लेखिरहेकाले ।
मेरो अनुभूति त यही भन्छ- ‘छाती ताछिएपछि लेखिने रहेछ कविता !’ यी दुई के कवि के भन्छन्, के थाहा ? सोध्दिन पनि !

कहिलेकाहीँ प्रभात भाइले फुत्त एउटा कविता राख्छ,  कोपरेर निस्किन्छ । झम्टा हान्न ऊ पनि माहिर छ ।

यसरी दिनदहाडै छाती ताछ्न सक्नेहरूकै तलाशमा छु म । खुलेआम छाती चिथोर्नेहरूकै स्वागतार्थ उभिएको छु । कोदालो पर्खिरहेको बाझो जमिन हुँ । ताछिनु मेरो नियति हो, रोजाई हो । नियति त रोजाई होइन नि ? तर, के फरक पर्छ र ? यथार्तता पनि कौन्सा रोजाई हो र ?

यही मेसोमा मेरो सङ्कलनमा रहेका कुशलका यी कविताहरू हुन् । जसलाई यहाँ राख्दैछु । राख्ने बहानामा ताछिन खोज्दै छु । ताछिनुको सुखानुभूति महसुस गर्न खोज्दै छु । कुशलले कोदालो उचालिरहुन्, म ताछिइरहूँ.. । हेहे..एउटा सदीक्षा, एउटा रोजाई । र, सायद यहि नियति पनि । किनकि कुशलले लेख्नु उसको नियति हो । नलेख्ने छुट उसलाई छैन ।

कुशलका तीन कविता


१. त्यही सहर त्यही ठाउँ

तिमीले अकस्मात सोधेकी छ्यौ
“म वेश्याजस्ती देखिन्छु र?”
यस बेला
म देखिरहेछु
भुइँको ढुङ्गे पेटी झिकिएर इँट्टाको भएछ
यो गल्ली पोहोर रात भन्दा अझ ओसिलो भएछ
यो ओसिलो गन्धमा के छ?
हराउनुको याद?
विषादको यात्रा?
कि स्वतन्त्रताको एक्लोपन?

वेश्या देखिनु कस्तो हुन्छ?
चञ्चल कि गम्भीर?
उत्सुक कि हतास?
बेफिक्र कि अबोध?

कति रमाइलो भएछ यो ठाउँ
जस्तो कोलाहलको शहरभित्र एउटा उदास गाउँ
जस्तो परिचित गाउँभित्र एउटा दूरको शहर
जस्तो अर्धउज्यालोको छायाँहरुले बनाएको एउटा मैलो ऐतिहासिक चित्र।

तिमीसँगै हिँडेर पनि तिमीसँग भएनछु क्यारे
र किञ्चित् डरले टाँसिएर कुहिनाले सोधेकी छ्यौ फेरि,

हुनसक्छ,
थियौ आशाको मैदानमा अविश्रान्त
उफ्रँदै हिँड्यौ उत्सुकताका गल्लीहरु
नाचेर बितायौ अबोध वर्षहरु
देख्यौ सफलताका चञ्चल सपनाहरु
फुर्किदियौ एक-एक डल्ला मिश्रीहरुमा
र, उनिहरुले तिमीलाई वेश्या भनिदिए।

अथवा हुनसक्छ,
क्लान्त बनायो अविश्वासहरुले
खसालिदियो भर्‍याङबाट भरोसाले
निर्मम उपेक्षाहरुले घोचेर/
माथी हेर्ने धुरीले थिचेर/
थङ्थिलो भएको ज्यान लतारीहिँड्यौ
जाउँ कि बसुँको दोधारमा अल्मलियौ
बेचौँ कि बाँचौँको दोसाँधमा उभियौ
अलिकति अपेक्षा र अलिकती उदासीनता बोकेर जिन्दगीको पेटीमा चुपचाप उभिएकी थियौ
र, कसैले तिमीलाई वेश्या भनिदियो।

जे पनि हुनसक्छ
भूत ,वर्तमान वा भविष्य
हुनसक्छ म एकोहोरिएको बेला
कसैले मेरै साथमा हुँदासमेत दियो घिनलाग्दो इशारा
र पिच्च थुक्यौ तिमीले आफ्नै खुट्टामा पर्नेगरी।

तर म भने सोचिरहेथेँ
यत्तीको ठाउँ सबैतिर हुनुपर्छ
हरेक शहरमा हुनुपर्छ
हरेक गाउँमा हुनुपर्छ
अलिकती एकान्त हरेकको भाग लाग्नुपर्छ
हर-एकलाई रुन पुग्ने/हराउन पुग्ने एकान्त नभएको ठाउँ पनि के ठाउँ;
इँट्टामा परावर्तित प्रकाशले घुर्म्यौलो बनाएको यो ठाउँ कम्ता मनमोहक लागेको छैन मलाई- यो पीत ठाउँ।

तर तिमीलाई यहीँ कसैले वेश्या महसुस गराएको छ   – यो पतीत ठाउँ।

आखिर के फरक पर्छ ठाउँले
के फरक पर्छ शहरले वा गाउँले
सपना पछ्याएर निर्धक्क उड्नेलाई जे भने पनि के फरक पर्छ?

के फरक पर्छ
जिन्दगीदेखी थकित पाइला -चले पनि रोकिए पनि
उपस्थिती देखि आजित घर -भए पनि नभए पनि
थकित -थकित झैँ
मलिन- मलिन झैँ
हतास- हतास झैँ
भयभीत अनुहार
र समयको बलेसीले निरन्तर चुटेको जीर्ण कायालाई जे भने पनि के फरक पर्छ।

तिमी वेश्या हौ भनिदिने पनि मै हुँ
तिमी वेश्या हैनौ भन्ने पनि मै हुँ
मेरो प्रमाणीकरण खोज्नुपर्ने हो तिमीले यदि भने
मेरो साथमा तिमी जहाँ गए पनि के फरक पर्छ?
तिमीलाई मैले जे भनिदिए पनि के फरक पर्छ?

तर यत्रो मौनतापछी पनि
अबोध अनुहारले उत्तर मागिरहेकि छौ
“म वेश्याजस्ती देखिन्छु?”


२. पृथ्वी पनि मर्दैछ

आगो बर्सिन्छ कि
कि घोप्टीन्छ समुन्द्र
कि फुसफुस झरेर सकिन्छन् बादल!
आकाश खस्छ कि
कि उचालिन्छ धरती!

पीर पनि केलाई हो
माटो बोल्ने ढुङ्गा थुपार्नेको
डढ्ला त
पग्लिएला त
घुल्ला त
तिमिले नहोस् भनेर के हुन्छ?
मैले होस् भनेर के हुन्छ।

कसको मुख ताक्छ्यौ
पराई को हो बुझेकी छौ?
म तिम्रो/ तिमी मेरो
भए के/ नभए के।

रुख काट्न कति बाँकी छन्
कति पानीले पुग्छ मैलो पखाल्न
डढेरै खतम भयो हावा
कहिलेबाट सुरु गर्छ माटोले शूल रोप्न!

छहारी पनि बाँड्दै गए सकिन्छ
अम्खोरा पानी पिएर पहेँलिन्छ
कस्को फोहोरले मैलियो सोच्यौ?
कस्लाई सुग्घरी गराउन को फोहोरमा छिर्‍यो?

तिम्रो आउने बाटोमा यामान् को पहिरो खसेको छ
म जाने बाटो मेरो टाउको हुँदै काँधतिर खसेको छ
तिमिलाई हुन्छ भन्ने पनि मै हुँ
तिमिलाई हुन्न भन्ने पनि मै हुँ
थाहा पाएकी छौ
मैले आफ्नो अनुहार कस-कसलाई बेचेको छु!

तिम्रो योनीको बाटो हुँदै आउँछ
स्वर्ग भन्छ/ नर्क भन्छ
तिमिलाई बेच्ने को थियो?
सम्भवत: त्यसलाई पनि मैले नै अनुहार बेचेको हुँ।
तिम्रा सपना- देख्न सकिन्छ तर फाल्तु हुन्
तिम्रा आशा- बुझ्न सकिन्छ तर फाल्तु हुन्
मलाई अँठ्यायौ, तिम्रो प्रेम बेकार छ
मेरै अनुहारका कस-कसलाई धरा सुम्पिन्छौ?

म बसिरहेको डील
यो पृथ्वीको अन्तिम छेउ हो
यो सभ्यताको किनार हो
जसलाई कसैले सभ्यता भन्ने दुस्साहस नगरोस्
तिमिलाई पनि थाहा छ
यिनिहरु सब मर्दै छन्
यिनिहरु बाँचे सब डढ्छ सब सकिन्छ
यस्तो बेला काँध हाल्छौ र?

यो भीर बाट हाम्फालेर जुन कुनै बेला मर्न सकिन्छ
त्यसो त पृथ्वी पनि मर्दैछ
आऊ बस,
खुट्टा झार
यो अन्तिम निमेष धिपधिपाइरहेको
नीच सभ्यताको बर्बादीको तमाशा हेरौँ।


३. त्यसपछी गरौँला प्रेम

क्षणभङ्गुरताको बोध
मलाई पनि छ,
मुट्ठी कसेर गर्नुछैन
बालुवाको लोभ,
चुहिएरै जाला स्थायित्व पनि।

तिमिसँग छन् भने केहि अन्न
देऊ मेरो ठुँडभरी
हुर्काउँदैछु एउटा स्वतन्त्र उडान।

फर्किनुपरेन भने बतासलाई यहि बाटो,
गलेनन् भने पँखेटा
गुँडको अन्तरिक्षभित्र,
दुख्न छाडेन भने
आफैँले कोतरिराखेको अहम् को घाउ,
तिमि आऊ
दुखाऊ
प्रेमले दुख्नुको नियास्रो मलाई पनि छ।

तर अहिले
म रोप्दैछु प्वाँखहरु
पख केहि समय
बचेरालाई उड्न देऊ।

Tags:

सम्बन्धित समाचार