सोमबार , फागुण १४, २०८०

लाङटाङ पदयात्रा : जे देखियो, जे भोगियो, त्यही लेखियो

image

यात्राका कतिपय योजना वर्षौंसम्म योजनामै सीमित हुन्छन् भने कतिपय योजनाले छोटो अवधिमै सार्थकता लिन्छन्।

पथ प्रदर्शक भाइ निरोज श्रेष्ठले तयार गर्नुभएको टोलीसँग लाङटाङ पदयात्रा गर्ने अवसर मिल्यो।

७ दिने यो कार्यक्रममा विविध भोगाइ तथा अनुभव रहे।

बसबाट काठमाडौं, त्रिशूली, धुन्चे हुँदै स्याफ्रुबेंसी पुगेर पहिलो बास त्यहीँ नै भयो। सात दिनमा आउने जाने दुई दिन बसको यात्रा भयो भने बाँकी पाँच दिन पदयात्रामै बित्यो।

मोटर बाटो पुग्ने अन्तिम बिन्दु स्याफ्रुबेंसीबाट सुरू भएको पदयात्राको अन्तिम गन्तव्य क्याञ्जिङ गुम्बा पुग्दासम्मका खानपिनका सन्दर्भमा भन्नुपर्दा स्थानीय उत्पादन खासै केही भएको देखिएन।

केही ठाउँमा टनेल लगाएर साग उत्पादन गरिएको, मौसम अनुसार उत्पादन हुने इस्कुसबाहेक अन्य तरकारी फलफूलको उत्पादन भएको पाइएन।

केही मात्रामा उत्पादन हुने आलु पनि कीराको प्रकोपको कारणले राम्रो नभएको स्थानीयले बताए।

यसबाहेकका सीमित संख्यामा पालिएका चौरी गाईको दूधबाहेक अरू केही देखिएन।

बिहानको नास्तामा तिब्बतीयन रोटी खुवाउने प्रचलन रहेछ। जसलाई मैदामा बेकिङ पाउडर मिलाएर बनाएको पीठोले तयार गरिने रहेछ।

अलि मोटो आकारमा तयार गरिने यो रोटी दिनहुँ खाने गरेपछि पाचन क्रियामा केही असहजता महसुस भयो। मलाई मात्र यस किसिमको समस्या हो कि भनेको यात्रारत अरू मित्रलाई पनि यस्तै भएको रहेछ, अझ एक जना पायल्सबाट ग्रसित मित्रलाई त अलि बढी नै मुस्किल परेछ।

खानामा पनि साँझ बिहान एउटै जस्तो परिकार दाल, भात, सिमी र आलुको तरकारी साग भएको ठाउँमा साग अनि पापड दिने चलन रहेछ।

मैदाभन्दा गहुँको पीठोको मूल्य कम छ तर पनि होटलवालाले नास्तामा दिइने रोटीमा गहुँको पीठोको प्रयोग नगरी महँगो मैदा किन प्रयोग गर्ने गरेका हुन् बुुझ्न सकिएन।

बिहान खाली पेटमा बेकिङ पाउडर प्रयोग गरी तयार पारिएका भित्रसम्म राम्रो नपाकेको जस्तो लाग्ने मोटो रोटीले स्वास्थ्यमा सहजता दिएन।

खाना नास्तामा जे जति अन्नको प्रयोग भएको थियो त्यसमा स्थानीय उत्पादनको हिस्सा अत्यन्त न्यून मात्रामा थियो।

सबै खाद्यान्न तथा अन्य आवश्यक सरसामान स्याफ्रुबेंसीबाट मानिस वा खच्चडबाट बोकाएर लानुपर्ने अवस्था रहेछ।

२५ केजीको ढुवानी खर्च तीन हजार लिने गरेको एक खच्चड व्यवसायीले बताए। ग्याँसको एक सिलिण्डरको ढुवानी खर्च पनि तीन हजार नै रहेछ।

हाम्रो टोलीमा एक जना कृषिमा स्नातकोत्तर गर्दै गरेका मित्र पनि थिए उनको भनाइमा स्थानीय होटल व्यवसायीले स्थानीय उत्पादनको प्रयोगमा ध्यान दिएको देखिएन। जस्तै: कतिपय ठाउँमा प्रशस्त सिस्नु थिए। उनको भनाइ अनुसार सिस्नुलाई दाल, तरकारी, सुपको रूपमा भरपुर उपयोग गर्न सकिन्छ र यो अरूभन्दा पौष्टिक पनि छ। तर व्यवसायीलाई स्थानीय उत्पादनको प्रयोग गर्ने भन्दा बोरामा आएको अन्नलाई प्रयोग गर्न सजिलो छ।

क्यान्जिङ गुम्बा पुगेपछि प्रवेशमार्गमै फोहरको थुप्रो देख्दा काठमाडौंका चोक-चोकमा देखिने फोहरको थुप्रोको झल्को आयो। घर पनि कति ठूला-ठूला।

धेरैजसो घरहरू आरसिसी ढलान गरेर बनाइएका घरहरू। म बसेको होटल चार आना जग्गामा बनाएको रहेछ जसमा चार तलाको घर बनाउँदा तीन करोड खर्च भएको होटलका साहुले बताए।

उनले भने अनुसार अब त क्यान्जिङ पनि भक्तपुरजस्तो भइसक्यो जतासुकै घरैघर। हुन पनि क्यान्जिङमा गुजमुज्ज ठूला-ठूला कंक्रिटका घरहरूले ढाकिएको छ, बाटो पनि सहरको भित्री गल्लीमा जस्तो सानो।

समुन्द्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको सधैंजसो चिसो मौसम हुने क्यान्जिङमा ढलान घर बनाउन प्रयोग हुने सामान हेलिकप्टरबाट लगिने रहेछ, जसमा प्रयोग हुने सिमेन्टको मूल्य बोराको चार हजार पाँच सयसम्म पर्ने स्थानीयले बताए।

घर बनाउन कुनै मापदण्ड नभएको, सक्नेले सके जति उचाइ र क्षेत्रफलको बनाउने गरेको र बनिसकेका घरहरूले पनि क्रमै सँग तला थप्दै लाने गरेको स्थानीयले बताए।

सधैंभरि चिसो मौसम रहने यो पर्यटकीय क्षेत्रमा ढलान घर बनाउने इच्छा कहाँबाट पलायो होला ? त्यसै त चिसो त्यसमाथि सिमेन्ट र दण्डीको प्रयोग गरेर बनाएको ढलान घर। न त यो सस्तो प्रविधि न त यो वातावरणमैत्री।

घर ढलानको भए पनि घरको भित्री भागमा काठ तथा प्लाइउड प्रयोग गरेको पाइयो। फोहर यत्रतत्र फालिएको देख्दा फोहर
व्यवस्थापनमा कसैको ध्यान नगएको स्पष्ट देखिन्छ।

यात्राको सुरूदेखि अन्त्यसम्म लाङटाङ नदी बगेको छ। विद्युत विस्तारको लागि पोल गाडिएको छ तर कतिपय ठाउँमा विद्युतको पोलबाट करिब पाँच सय मिटरको दूरीका घरमा पनि विद्युत वितरण नभएको र सोलारको भरमा बसेको पनि देखियो।

पदयात्राको क्रममा बाढीका कारण क्षति भएका झोलुंगे पुलको मर्मत नगरिएको र रेलिङ नै नभएको पुलबाट भगवान भरोसाको भरमा पार गर्नुपर्‍यो।

पदयात्राको क्रममा लाङटाङ पदमार्गमा पर्ने ठाउँ दुर्गम भए पनि अति विकट भने लागेन। तर होटलको मेनु हेर्दा भने अर्कै लोकमा पुगेको आभास दिलाउँथ्यो।

सामान्य नेपाली खानाको मूल्य त ठिकै हो तर यस बाहेकका अन्य खानाको मूल्य अचाक्ली छ। व्यापारीले लगेर प्रति क्यारेट सात सयमा बेच्ने अण्डाको मूल्य प्रति गोटा मेनुमा एक सय पचास लेखिएको छ।

स्याफ्रुबेंसीमा बसेको होटलमा चिकेन मःमको मूल्य प्रति प्लेट चार सय पचास लेखिएको छ।

हुन सक्छ यो मूल्य पर्यटक लक्षित होला तथापि यो मूल्य लागत मूल्यभन्दा अधिक हो।

यात्राको आनन्द प्राकृतिक सौन्दर्यता, जैविक विविधता, विविध भोगाइ त आफ्नै ठाउँमा छ। तर कतिपय अस्वभाविक जस्ता लाग्ने विषयले भने अनेक प्रश्न गर्ने ठाउँ रहने रहेछ। क्यान्जिङ जस्तो पर्यटकीय ठाउँको भौतिक पूर्वाधार बनाउने कुरामा किन राज्य, स्थानीय निकायको ध्यान नगएको होला ?

अहिलेदेखि नै फोहर थुप्रिएको ठाउँमा दस वर्षपछि झन् कस्तो होला ? दुर्गमको नाममा सामानको मूल्य जति पनि लिन पाइने हो ? यसमा किन कसैको ध्यान नगएको होला ? कञ्चन पानी बगेको ठाउँमा मिनरल वाटरको बोतल किन लानु परेको होला ? बर्सेनि हजारौं पदयात्री हिँड्ने पुलको रेलिङ भत्किँदा पनि कसैको ध्यान किन नगएको होला ?

जहाँ पनि सडक विस्तारको कामले पदमार्ग कम हुँदै गएको छ। सडक विस्तारसँगै पदमार्गको दूरी छोटिने निश्चित छ। लाडटाङ पदमार्ग पनि यसबाट ग्रसित छ।

सबभन्दा नमिलेको कुरा जहाँ पदमार्ग छ त्यसैलाई विस्तार गरेर मोटरको लागि सडक बनाउँदै लगिएको छ। यसले पदयात्रीलाई मात्र असर गरेको छैन पर्यावरण पनि नाश भएको छ।

यदि मोटरको लागि सडक बनाउने हो भने पदमार्गलाई छोडेर छुट्टै सडक बनाइनु पर्दथ्यो। जसले गर्दा पर्यटनको सम्भावना सधैं रहन सक्थ्यो।

पर्यटकीय पदमार्गमा जहाँ जे उत्पादन हुन्छ त्यसको उत्पादनमा पर्याप्त ध्यान दिएर स्थानीय उत्पादनको प्रयोग गर्न आवश्यक छ।

पर्यटकीय क्षेत्रमा भइरहेको अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, फोहर व्यवस्थापन, बाटो पुलको मर्मत सम्भार, बजार मूल्यको नियन्त्रण गर्न बेलैमा सरोकारवालाहरूले ध्यान दिने कि ? – भानु रोशन राजभण्डारी

 

Tags:

सम्बन्धित समाचार