सोमबार , फागुण १४, २०८०

लिगलिगकोट : जहाँ दौड जित्नेले राजा बन्न पाउँथे !

मर्स्याङ्दी नदी र चेपे नदीको सङ्गमस्थल चेपेघाटदेखि यस स्थानसम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा रहेको थियो ।

image

लिगलिगकोट गोरखा जिल्लाको साबिकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । समुन्द्री सतहबाट करिब १,४३७ मिटर उचाइमा अवस्थित लिगलिगकोट ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो ।

लिगलिगकोट दौड जित्ने मानिस एक वर्षको लागि राजा बन्ने परम्पराको लागि प्रख्यात छ । लिगलिगकोट नेपाल एकीकरणको सुरुवातकर्ता मानिएका द्रव्य शाहको दरबार रहेको स्थान पनि हो, हाल उक्त दरबार नभए पनि दरबारको भग्नावशेष यद्यपि त्यहाँ विद्यमान छ । कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन् । मर्स्याङ्दी नदी र चेपे नदीको सङ्गमस्थल चेपेघाटदेखि यस स्थानसम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा रहेको थियो ।

नामकरण

लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्ध सामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विश्वास गरिन्छ । यो स्थान डाँडाको टुप्पोमा रहेको र त्यहाँबाट हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुँदा, यो स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भन्न थालिएको बताइन्छ ।

खस राज्य स्थापना हुनु अघि लिगलिग लगायत सम्पूर्ण गोरखा क्षेत्र मगरहरूको अधीनमा थियो । त्यसैले यहाँका नदी, पहाड, खोला आदिको नाम मगर भाषाबाट नै भएको पाइन्छ । मर्स्याङ्दी, दरौंदी, भुसुन्दी, घिरुङ्ग, खोप्लाङ्ग लगायतका नामहरू जस्तै उक्त स्थानको नाम लिङलिङ रहेको र पछि खसहरूको आगमनसँगै उक्त शब्दलाई गलत उच्चारण गरिएर लिगलिग भएको अनुमान गर्न सकिने इतिहासकारहरू बताउँछन् ।

इतिहास

प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्ल पछि, तत्कालीन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । बि.सं. १६०३ मा मुकुन्द सेनको मृत्यु पश्चात् उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए । त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले । यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बारपाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरू मध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो । दौडबाट राजा छान्ने परम्परा । प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मूल दरबारबाट करिब १० किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो ।

कसरी पुग्ने ?

तनहुँ जिल्लाको डुम्रेबाट तुरतुरे हुँदै पालुङटार बाट लिगलिगकोट पुग्न सकिन्छ । लमजुङको बेसीशहरबाट राइनास नगरपालिकाको धमिलिकुवा हुँदै तुरतुरे पुगेर पनि जान सकिन्छ । गोरखा सदरमुकामबाट चेपेटार-खोप्लाङ-लुइँटेल-बडडाँडा हुँदै पनि जान सकिन्छ । जुनसुकै बाटोबाट जाँदा पनि जम्मा लिगलिगकोट सम्म पुग्न सकिन्छ । त्यसपश्चात् आदि घण्टाको पैदल यात्रा गर्नुपर्दछ । पर्यटकहरूलाई ध्यानमा राखेर होमस्टे पनि सञ्चालनमा आएको छ । पछिल्लो समय पर्यटकहरूको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार