मंगलबार , अषोज ६, २०८३

धार्मिक पर्यटक आकर्षित गर्दै ‘महाराजा थान’

यहाँ भाकल गरिएका सबै कुरा पूरा हुनु यो मन्दिरको विशेषता रहेकाले यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत चकित पर्ने गरेको छ

image

काठमाडौं । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित भइरहेको छ । उक्त मन्दिर परापूर्व कालमा राजा मणिमुकुन्द सेनले स्थापना गरी पूजापाठ गर्न सुरु गरिएको थियो । सो मन्दिरमा गई भाकल मागे पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा भाकल चढाउन र पूजाआजा गर्न भक्तजनहरूको बाक्लो भीड लाग्ने गरेको छ ।

महाराजा बाबालाई साँचो मनले सम्झिएर गरेको भाकल पूरा हुने भएकाले यस मन्दिरमा दिनहुँ भाकल गर्न र पूजापाठ गर्न आउनेहरूको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी शिवराज महतोले जनाएका छन् । यहाँ भाकल गरिएका सबै कुरा पूरा हुनु यो मन्दिरको विशेषता रहेकाले यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत चकित पर्ने गरेको उनले जनाए ।

यस मन्दिरमा भाकल गर्न र पूजापाठ गर्न भारतको देहरादुनबाट नेपालका लगभग सबै क्षेत्रका तीर्थालु आउने गरेका पुजारी महतोले बताए । कावासोती नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल जिल्लाकै मुख्य धार्मिक र पर्यटकीयस्थल मानिन्छ । यद्यपि आम श्रद्धालु र घुमन्ते पर्यटकको रोजाइमा परे झैँ सरकारको नजरमा भने यो पुण्यधाम नपरेको कावासोतीवासी गुनासो गर्छन् ।

प्रचारप्रसारको अभावले ओझेलमा परेको भए पनि पछिल्ला केही वर्षदेखि यहाँ आउने भक्तजन उल्लेख्य रूपमा बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापाले जनाए । उनले मन्दिर नजिकै वनभोजस्थलको समेत व्यवस्थापन भएपछि पछिल्लो समय वनभोजका लागि आउनेहरू पनि बढ्दै गएको बताए । चिसो हावा र यहाँबाट देखिने मनोरम दृश्यका कारण वनभोजका लागि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सो अनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोडभन्दा धेरै रकम आवश्यक पर्ने जनाएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारले दिनुपर्ने जति चासो नदिएको अध्यक्ष थापाको गुनासो छ ।

सम्बन्धित समाचार