शुक्रबार , साउन २२, २०८३

मनोमन्तव्य: विश्वकर्मा सूक्त (दोस्रो भाग)

पानी सारा देवशक्तिको र असुरी शक्तिको स्रोत हो । काम गर्ने इन्द्रियहरू न हुन् ! राम्रो गरे देव, नराम्रो गरे असुर । यथावत् दृष्टि सापेक्ष ...!

image

। मन्तव्य ।

हुन त आजको लागि मन्तव्यमा केही नलेखे पनि हुनेछ । कारण यो अघिल्लो हप्ताको अर्को भाग हो । केही लेखौँ लागिरहेछ र लेख्दै पनि छु । (अँ त तपाईं पढ्दै पनि हुनुहुन्छ ! )

ऋग्वेदको प्राचीनताको कुरा वेद शृङ्खलाको पहिलोमै गरियो ! सर्वप्राचीन ग्रन्थ भनेर । साथै भनियो, ‘वेद सर्वप्राचीन र सर्वनवीन दुवै हो ।’ कारण त्यतै भनिएको छ, आज पनि पढ्न अनुरोध र अघिल्लो हप्ताको शृङ्खला पनि यदाकदा तपाईं यो पढ्दै हुनुहुन्छ भने ! र  पहिलेको पढ्नु भएको छैन भने !

आज सानो जानकारी …,

ऋग्वेदको पहिलो मण्डल र दशौँ मण्डललाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । वैदिक समयले गरेको सामाजिक, दार्शनिक, वैज्ञानिक र राजनीतिक एवम् मनोवैज्ञानिक यात्राको केही हदसम्मको ज्ञान भण्डार नै छ । यद्यपि अरू वेदमा विस्तृत रुपमा छँदैछ । अझ विशेष रुपमा दशौँ मण्डल अति विशेष छ ।  यो मण्डलामा दर्शन, विज्ञान, चिन्तन, चराचर जगत् र ब्रह्माण्डको समय, निर्माण र उत्पत्तिको गहन वैज्ञानिक र दार्शनिक चिन्तन र व्याख्या छ ।

मैले ‘मनो~मन्तव्य’ मा यही मण्डलका सूक्तको बारे लेख्ने हो । दशौँ मण्डल र पहिलो मण्डल वैदिक कालको अन्तिम समयमा लेखिएको भन्ने मान्छन् केही व्याख्यता, अध्यता र इतिहासविधको । यसरी हेर्ने हो भने करीब/करीब छ/सात हजारदेखि दश हजार वर्ष अघि भन्ने निष्कर्षमा पुगिन्छ । यसको प्रमाणीकरण वेद लेख्नको भाषा शिवाय केही सभ्यता उत्खनन मात्र छन् ! अब केही समयपछि धेरै बलियो प्रमाण मिल्लान् ! अति प्राचीनता त मानिसकिएको छ !

यहाँ धार्मिक मत र आस्थाको आधारमा कुनै टिक्का टिप्पणी नगरौँ त्यताको व्याख्यामा लागियो भने विवादैविवादको शृङ्खला तिर लागिन्छ ! नलागौँ । लाग्नु परेको अवस्थामा तम्तयार !

अर्को महत्त्वपूर्ण कुरा के छ भने महाभारत कालतिर वेदको सङ्कलन र सम्पान मात्र भएको हो ! र ‘वेद व्यास’ लाई वेद र पुराणको लेखक मान्नेको भिड करोडौं नै छ ! तर व्यासवंशले संकलन र केही सम्पादन अवश्य नै गरेका हुन ।

तर वेदको लेखन कोबाट भयो ? यो प्रश्न सोध्न पहिले के बुझ्नु जरुरत छ भने… वेदको लेखन होइन, संकलन मात्र भएको हो । वेदको ज्ञान श्रुति परम्पराबाट गुरुबाट शिष्य हुँदै शिष्य गुरु भएर पुनः शिष्य हुँदै आएको हो, बल्ल लिपि र लेखन तसर्थ लेखनको प्रश्नचिह्न इति । अँ वेदको सूक्तको ऋचाको सृष्टि रचना चाहिँ हजारौं ऋषिहरूले गरेका हुन् ! अनि प्रक्रिया उहीँ गुरुबाट शिष्य हुँदै, शिष्य गुरु भएर पुनः शिष्यसम्म ।

कुनै समय स्तम्भकारलाई प्रश्न उठेको थियो, हैन कसरी याद भयो होला यत्रो ग्रन्थहरू ? यसको शुत्र के रहेछ भन्दा :
१) शिष्यको पात्रता
२) छन्द लय ।

यसो सम्झिनुस् त … 
तपाईंलाई गणितीय शुत्र – विज्ञानको सिद्धान्त छिटो याद हुन्छ कि गीत ?
उत्तरमा तपाईं पक्कै भन्नू होला – गीत । दश-बीस वटा गीत त कण्ठै होला, अझ (Line By Line ) – हे हे गजब छ नि गीतको / संगीतको कुरा।

अँ त गीतको लय त छन्दको एक पाटो न हो ! अनि वेदको सबै सूक्त, खण्ड, मण्डल पुराका पूरा छन्दमा छ । शिष्यको सङ्ख्या पनि त पुग्दो हुन्थ्यो ! छन्द लालित्यमा याद हुनु अहिले हामीलाई ग्रन्थ ! यात्रा गजब नि …
(वेद बोध स्तम्भकारको मस्तिष्कबाट साभार ।)

अहिले पो हामी आधुनिक भयौँ र छन्दलाई छोड्दै छौँ ! हाम्रै पुरानालाई अर्काको भनेर स्वीकारेर मस्त छौँ ।
हाम्लाई बाल ! ! !

लु अब लागौँ अपूर्णताको खण्डबाट पूर्णको यात्रातिर …

~ मण्डल – दश ~

सूक्त – ८२
नाम : विश्वकर्मा सूक्त
ऋषि : विश्वकर्मा भौवन
देवता : विश्वकर्मा
छन्द : त्रिष्टुप् ।

| सुत्रधार |

दर्शन र विज्ञानको जन्मदाता प्रश्नलाई सलाम नै भन्न मन लाग्यो । सलाम प्रश्न ।

किं स्विदासीदधिष्ठानमारम्भणं कतमत्स्वित्कथासीत् ।
यतो भूमिं जनयन्विश्वकर्मा वि द्यामौर्णोन्महिना विश्वचक्षाः ।। २/८१/१०।।

अर्थ : सृष्टिको निर्माणभन्दा पहिले परमात्मा कुन आश्रयमा थिए ? सृष्टिको निर्माणमा प्रयोग भएका मुल द्रव्य के र कस्तो थियो ? त्यसबाट सर्वद्रष्टा विश्वकर्मा परमात्मा यस सुविशाल पृथ्वी र महान् द्युलोकको सिर्जना महान् सामर्थ्यले कहाँ बसेर गरे ?

पहिलो भाग ८१ सूक्त यो गर्भ प्रश्न, यो प्रश्न बिना यो सूक्त हुने थिएन । प्रश्नको गहनता र घनत्वो प्रश्न स्वयंले देखाएको अतिरिक्त व्याख्यानतिर नलागे राम्रो ।

~ पृथ्वी रचना र गर्भ तत्त्व ~

चक्षुषः पिता मनसा हि धीरो विधाता घृतमेने अजनन्नम्माने ।
यदेदन्ता अददृहन्त पूर्व आदिद् द्यावापृथिवी अप्रथेताम् ।। १ ।।

अर्थ : उहिल्यै द्यावा पृथ्वीको विस्तार भएर तिनका बाहिरीभित्री भाग बलियोसँग अडिएपछि चक्षुसम्पन्न पिताले (विश्वकर्माले) नमनशील घृतको(घिउ, अमृत) सृष्टि गरे ।

विश्वकर्मा विमना आद्विहाया धाता विधाता परमोत संदृक् ।
तेषामिष्टानि समिषा मदन्ति यत्रा सप्तऋषीन्पर एकमाहुः ।।२।

अर्थ : विश्वकर्मा देवता विशिष्ट महाशक्ति सम्पन्न, व्यापक विश्वका निर्माता धारणकर्ता महान् र सर्वद्रष्टा हुन् । उनैलाई प्राणका सप्तधाराका रुपमा रहेका सप्तऋषि पनि भनिन्छ । तिनको अभीष्ट पूर्ति उनकै पोषणशक्तिले हुन्छ । ती एउटै अद्वितीय हुन् ।

यी दुई सूक्तिको (मन्त्र) प्रमाणिकताको आधारले के देखाउँछ भने अन्तरिक्षमा (द्यावामा) केही प्रकिया चल्यो, भयो । हुन सक्छ विज्ञानले भनेजस्तै टक्कर । र, केही अन्तरापछि पृथ्वी आकर्षणको बलले बन्यो । आकार लिन आन्तरिक र बाह्य विस्तार भयो ! समयसँगै ऊर्जाको समीकरणले नयाँ तत्त्व जुन नमनशील थियो अर्थात् जता पनि मोड्न मिल्ने, जुन आकार पनि दिन मिल्ने तत्त्व ।

मन्त्रमा भनिए अनुसार त घृत (अमृत /घिउ) । यसो बुझिल्याउँदा स्तम्भकारलाई त्यो तत्त्व जल पो कि भन्ने लागेको छ ! दोस्रो मन्त्रमा ऊर्जाको महत्त्व वर्णन पछि भनियो : “प्राणका सप्तधाराका रुपमा रहेका सप्तऋषि ।”
प्राणको आन्तरिक कुरा त ऊर्जा नै हो । हरेक कुरा ऊर्जा हो र त्यो ऊर्जा अद्वितीय छ !

~ फरक समीकरण र फरक सिर्जना ~

यो नः पिता जनिता यो विधाता धामानि वेद भुवनानि विश्वा ।
यो देवानां नामधा एक एव तं सम्पश्‍‌नं भुवना यन्तयन्या ।। ३ ।।

अर्थ : परमेश्वर (विश्वकर्मा) हामी सबैका उत्पन्न र पालन गर्ने हुन् उनी सबैका धारणकर्ता हुन् । उनी सम्पूर्ण लोकका, स्थानका ज्ञाता हुन् र एउटै भएर पनि विविध देवताको नाम धारण गर्दछन् । सबै लोकका प्राणी आखिरमा उनैसित पुग्दछन् ।

त आयजन्त द्रविणं समस्या ऋषयः पूर्वे जरितारो न भूना ।
असूर्ते सूर्ते रजसि निषत्ते ये भूतानि समकृण्वन्निमानि ।। ४ ।।

अर्थ : अन्तरिक्षमा प्रत्यक्ष अथवा परोक्ष रुपले निवास गर्ने परमेश्वरले समस्त प्राणीको रचना गरेका हुन् । उनै स्रष्टाका लागि हाम्रा पूर्वज ऋषिहरू स्तुति गर्दै यज्ञमा महान् वैभव समर्पित गर्दछन् ।

दुई मन्त्रको भाव सार करीब उस्तै लाग्छ । तर, यहाँ दुई-तीनवटा नयाँ जानकारी बुझ्न सकिन्छ । रचना गर्नु र धारण गर्नु दुई फरक मत होइन कि झैँ लाग्छ । कविले कविता लेख्नु र लेखेको कविता सधैँ साथै लिएर हिँड्नु वा कण्ठ पारेको हुनुमा जति अन्तर छ, त्यति नै अन्तर यो कुरामा छ । “सबै लोकका प्राणी आखिरमा उनैसित पुग्दछन् ।” यो ठुलै घोषणा हो ! हामी सबै ऊर्जा हौँ र ऊर्जा परिवर्तन गरिरहन्छ- आफ्नो आकार/रुप । हामी कहिल्यै सकिँदैनौँ ! Conversation of Energy र Conversion of Energy यही प्रक्रिया हो ।
ऊर्जा उहीँ हुन्छ तर, काम फरकफरक र फरक । समीकरणसँगै नयाँ रचना ।

मन्त्र चारमा “ऋषिहरू स्तुति गर्थे” भनेर भनिएको छ । ( हेर्नुस् त )
“स्तुति गर्नु कुन ठूलो कुरा भो र ?” भन्दै हुनुहुन्छ होला ।

स्तम्भकारलाई लागेको छ, यहाँ हामी बुझिरहेका छैनौँ ! अँ बुझिरहेका छैनौँ । किनभने.., स्तुति एक्लै बसेर हुँदैन यज्ञमा ! समूह हुन्छ, ऋषिहरू (गुरु) र शिष्यहरूको । ऋषिहरूले छन्दोबद्ध स्तुतिमै शिष्यहरूलाई विज्ञान र दर्शनको ज्ञान प्रदान गर्थे कि ? यो विज्ञानको विशेष ज्ञानको लागि विशेष महत्त्व थिएन भन्न सकिन्न ।

। दृष्टि भ्रम ।

परो दिवा पर एना पृथिव्या परो देवेभिरसुरैर्यदस्ति ।
कं स्विग्दर्भं प्रथमं दधं आपो यत्र देवाः समपश्यन्त विश्वे ।।५।।

अर्थ : हृदयमाको ईश्वरीय तत्त्व द्युलोकभन्दा पर छ, पृथ्वीभन्दा पर छ, देव र असुरभन्दा पनि पर छ । जल तत्त्वले सर्वप्रथम कुन गर्भधारण गर्‍यो ? त्यो गर्भ कस्तो विलक्षणको थियो ? उहिलेका ऋषिहरू त्यस परमतत्त्वको उचित दर्शन पाउनासाथ देवत्वको परमपद प्राप्त गर्दथे ।

यो मन्त्र विरोधाभासपूर्ण लाग्छ ! अलि तल तपाईंले पढ्नु हुनेछ मन्त्र सात र त्यहाँ भनिएको छ,  “सबैबाट भिन्न भएर पनि सबैभित्र प्रतिष्ठित छन् ।” यो वास्तवमा बुझाइको स्तरको कुरा हो । हामी सबैको आधारलाई कसरी खोज्छौँ भन्ने कुरा ! हामी आधारलाई हामी भित्र खोज्दै छौँ कि हामी मृगमरिचिका भइरहेछौँ यसको अन्तर देखाइएको हो । यो बुझ्नेले पाउँछ परमपद …

~ गर्भ सागर सारा जगत् चराचर ~

तमिग्दर्भं प्रथमं दध्र आपो यत्र देवाः समगच्छन्त विश्वे ।
अजस्य नाभावध्येकमर्पितं यस्मिन्विश्वानि भुवनानि तस्थुः ।।६।।

अर्थ : सृष्टिका आदिदेखि नै विद्यमान त्यस परमतत्त्वको अपतत्त्वको गर्भ धारण गरेको हो । त्यहीँ सम्पूर्ण देवशक्तिको आश्रयस्थल छ । यस्ता अजन्मा ईश्वरका केन्द्रमा एउटै परम तत्त्व अडिएको छ, त्यसैबाट समस्त भुवन रक्षित भएर अडिएको छ ।

न तं विदाथ य इमा जजान्यद्युष्माकमन्तरं बभूव ।
नीहारेण प्रावृता जल्प्या चासुतृप उक्थशासश्चरन्ति ।।७।।

अर्थ : हे मानिस हो ! यस सम्पुर्ण ब्रह्माण्डको रचना गर्ने परमेश्वरलाई तिमीहरू जान्दैनौ । परमतत्त्वका रुपमा रहेका तिनी सबैबाट भिन्न भएर पनि सबैभित्र प्रतिष्ठित छन् । अज्ञान बाक्लो अन्धकारमा डुबेका केवल गफ र विवादमा लागेर जिउ जोगाउने र पोस्ने चिन्ताले सताइएकाहरूको त्यस्ता परमेश्वरका सम्बन्धमा व्यर्थ विवाद गर्दै विचरण गर्दछन् , साक्षात्कार गर्न सक्दैनन् ।

पुनः माथि फर्किऊ,

मन्त्र पाँचमा दुई  प्रश्न छन् : “जल तत्त्वले सर्वप्रथम कुन गर्भधारण गर्‍यो ? त्यो गर्भ कस्तो विलक्षणको थियो ?” उत्तर मन्त्र ‘छ’ले दिएको छ ।

यहीँबाट विज्ञानको कथा सुरु हुन्छ, डार्बिनको कुरासँग शतप्रतिशत त मिल्दैन ! तर प्राणी जगत्‌को आरम्भ भने अवश्य देखाएको छ । (बुझ्नु पर्ने कुरा हामीले डार्बिनको कुरालाई मानेको भएर आजसम्मको यथार्थ हो ! अझै गहन खोजमा लागेको दिन यहाँ उल्लेखित जस्तै पनि कुरा हुन सक्छ र यहाँ भन्दा अघि पनि !)

पानी सारा देवशक्तिको र असुरी शक्तिको स्रोत हो । काम गर्ने इन्द्रियहरू न हुन् ! राम्रो गरे देव, नराम्रो गरे असुर, यथावत् दृष्टि सापेक्ष …!

“तर्कले सतही ज्ञान मात्र हुन सक्छ । अध्ययन, मनन र चिन्तनले ज्ञान ज्योति साक्षात्कार हुन्छ” यो निष्कर्ष ! मन्त्र सातको ।

ॐ । यथा दृष्टि तथा सृष्टि । ॐ

प्रिय साक्षी / पाठक,

अँ पढेर चित्त नबुझेको कुरामा गाली गर्ने/आलोचना गर्ने अधिकार तपाईंको हो । गर्नु हुँदैन/भएको छैन ! गजबै छ यात्रा, म भने पर्खाइमा नै छु ।
लु धन्यवाद । साधुवाद ।
~। इतिस्तु ।~

सम्बन्धित समाचार