बिहिबार , मंग्सिर १४, २०८०

प्रकृति र संस्कृतिको सङ्गम ‘मेघाैली’

image

विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा नै सर्वप्रथम जङ्गल सफारीको सुरुआत गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तब्य हो ।

यहाँको प्रकृति र संस्कृतिको सौन्दर्य प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटक आउँछन् । पर्यटकको आगनलाई लक्षित गरी यस क्षेत्रमा विभिन्न सुविधासम्पन्न होटेलका साथै थारु सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आइसकेको छ । कोरोना महामारीका कारण यहाँको पर्यटनमा असर पारे पनि पछिल्ला दिनमा आन्तरिक पर्यटकको बढ्दो आगमनले आफूहरूलाई उत्साहित बनाएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

यहाँस्थित थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा खाइने चिचर, घोँगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी नाच (स्टिक डान्स(, झमटा नाच, झुमरा नाच, डम्फु नाच आदि मौलिक नृत्य औधी मन पाउँछन् । नाच प्रस्तुत गर्नुभन्दा पहिले देखाउन खोजेको नाचबारे आगन्तुक पाहुनालाई जानकारी गराउने प्रचलन यहाँको विशिष्टता हो ।

आधुनिकताका नाममा ठाउँठाउँमा परम्परागत नृत्य हराउँदै गएका अवस्थामा यहाँका युवापुस्ता आफ्नो मौलिकताले युक्त थारु नृत्यलाई निरन्तरता दिएको थारु सामुदायिक होमस्टेका सञ्चालक बेदकुमार महतोले जानकारी दिए ।

चितवनको भरतपुर चौबीसबोठीदेखि २५ किलोमिटर पश्चिममा रहेको यस ठाउँमा स्वदेशी र विदेशी पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् । जङ्गल सफारीका क्रममा पर्यटकले दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरूङ्गी आदिको अवलोकन गर्न पाउँछन् ।

दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जङ्गल वाक, जीप सफारी आदि मेघौलीको विशिष्टता हो । हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल वाक, भिलेज वाक, वाइल्डलाइफ सम्बन्धी विविध विषयमा जानकारी पाउनुका साथै थारु डान्स हेर्न, चरा अवलोकन गर्ने आकर्षक गन्तव्यका रुपमा मेघौली विकास हुँदै गएको छ ।

Tags:

सम्बन्धित समाचार