तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सडकखण्ड करिब २० मिटर भासिएकोले सडक बनाउन केही समय लाग्ने भएको हुँदा ठूला सवारीसाधन नचल्ने बताएका छन् ।
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन् । आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो।
सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ ।
शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुनसक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ । सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सडकखण्ड करिब २० मिटर भासिएकोले सडक बनाउन केही समय लाग्ने भएको हुँदा ठूला सवारीसाधन नचल्ने बताएका छन् ।
सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ । शुक्रबार बिहान सडक भासिएर कार, मोटरसाइकल र स्कुटर खस्दा दुई जनाको ज्यान गएको थियो ।
घटनामा परि ज्यान गुमाउनेमा गोरखाको सिरानचोक गाउँपालिका ५ छोप्राक घर भइ अहिले आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौंडा नगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।
सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी कार्यलाई तीव्रता दिइरहेको छ । भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ ।