काठमाडौं । लोकप्रिय दक्षिण भारतीय अभिनेत्री नयनतारा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनी आफ्नो प्रेमी एवम् निर्देशक विग्नेश शिवनसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । नयनतारा र विग्नेश करिब ८ वर्षदेखि प्रेम सम्बन्धमा थिए । भारतीय सञ्चारमाध्यमका अनुसार तमिलनाडुको महाबलिपुरमस्थित एक लग्जरी होटलमा वैवाहिक कार्यक्रम राखिएको थियो ।

बलिउड अभिनेता शाहरुख खान, बोनी कपुरका साथै दक्षिण भारतीय सुपरस्टार रजनीकान्त, विजय सेतुपति, थलापति विजय, कमल हसन, चिरञ्जीवी, सूर्या, अजित, कार्थी, सामान्था रुथु आदि कलाकारहरु उनको विवाहमा उपस्थित थिए । विवाहको तस्वीर सामाजिक सञ्जालमा राखेपछी प्रशंसक तथा शुभचिन्तकहरु जोडीलाई शुभकामना दिइरहेका छन् ।

‘ननुम राउडी धान’को सेटमा नयनतारा र विग्नेशको भेट भएको थियो । सन् २०१५ बाट प्रेम सम्बन्धमा रहेका उनीहरूले सन् २०१६ मा एक अवार्ड शोमा प्रेम सम्बन्धको बारेमा बताएका थिए ।
