आइतबार , साउन १७, २०८३

इन्धनको मूल्यवृद्धि विरुद्ध राप्रपा निकट संगठनहरूले निकाले राँके जुलुस, आन्दोलन जारी रहने घोषणा

सरकारले अस्वाभाविक रुपमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै चौतर्फि विरोध र आलोचना भइरहेको बेला संगठनले आन्दोलनको कार्यक्रम अघि सारको छ ।

image

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृ संगठनहरूले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राँके जुलुस निकालेको छ । जुलुसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भ्रातृ संगठनहरू राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेता कार्यकर्ताहरूका साथै ठूलो संख्यामा समर्थकहरूको पनि उपस्थिति थियो ।

मंगलबार साँझ भृकुटीमण्डल्पबाट सुरु भएको जुलुस भद्रकाली सहिदगट हुँदै सुन्धारा पुगेको थियो । सुन्धारा पुगेपछि प्रहरीले दमन गरेको थियो । प्रहरीको लाठि चार्जबाट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका उपाध्यक्ष गुणराज राजभण्डारी सहित आधा दर्जन कार्यकर्ताहरू घाइते भएका छन् । घाइतेहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ । सरकारले जनतामाथि गरेको अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउँदा प्रहरीले दमन गरेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष राजु लोहनीले प्रहरीको कदमप्रति खेद प्रकट गरेका छन् ।

अध्यक्ष लोहनीले हिमाल दर्पणसँग भने, ुपेट्रोलियम पदार्थको अस्वाभाविक मूल्य वृद्धि गरेर सरकारले गरिब जनताको ढाड सेक्ने काम गरेको छ । सरकारको यस्तो हर्कतलाई टुलुटुलु हेरेर बस्न हामी राष्ट्रवादी शक्तिलाई सुहाउँदैन । हामीले जनताको पक्षमा जनताको हितको लागि काम गर्ने हो । जनताको लागि आवाज उठाउँदा आज प्रहरीले दमन गर्यो । यसमा हाम्रो आपत्ति छ ।’

उनले यो आन्दोलन निरन्तर जारी रहने बताएका छन् । अध्यक्ष लोहनीले आन्दोलनलाई थप सशक्त बनाउन बाहिर जिल्ला जिल्लामा पनि आन्दोलन गर्न आफ्ना नेता कार्यकर्ताहरूलाई आह्वान पनि गरेका छन् ।

सरकारले आइतबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि संगठनले सोमबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका थिए । मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएका थिए । सरकारले मंगलबार संसदमा पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता लिन नसकिने जवाफ दिएपछि संगठन थप आक्राशित बनेको हो ।

सरकारले अस्वाभाविक रुपमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै चौतर्फि विरोध र आलोचना भइरहेको बेला संगठनले आन्दोलनको कार्यक्रम अघि सारको छ ।

सरकारले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, मट्टितेलमा र डिजेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

सम्बन्धित समाचार