काठमाडौं । नेपाल एयरलाइन्सले यही वैशाख ९ गते देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ। वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ।
निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा दुई उडान गर्नेछ।
सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहल एवं निर्देशन बमोजिम निगमले रियाद गन्तव्य विस्तार गर्न सफल भएको हो। उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रिया थालनी गरेका थिए।