काठमाडौं । नेपाली कांग्रेस कास्कीले नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीसँग पटकपटक छलफल गर्दा पनि उक्त पार्टीले अस्वभाविक दाबी गरेकोले चुनावी तालमेल नगर्ने निर्णय गरिएको कास्की कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।
सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अब एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्। स्थानीय चुनावमा एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने कांग्रेसको निर्णय छ।
केन्द्रमा सत्तागठबन्धनबीच ६ महानगर भागबन्डा गर्ने छलफल भइरहँदा कास्की कांग्रेसले भने पोखरामा मेयर छाड्न नसकिने बताएको छ।
एकीकृत समाजवादीले कास्कीको मेयर दाबी गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महानगरको बाँडफाँड सहमति नजिक पुगेको बताएका थिए । सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर गरी तीन महानगर लिने र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई एक एक महानगर दिने सहमति भएको उनको दाबी थियो ।
दाहालले आफ्नो पार्टीले भरतपुर नै नपाए पनि कुनै एउटा महानगर पाए हुने बताएका छन् । भागबण्डा अनुसार जनता समाजवादी पार्टीलाई विरगन्ज महानगर र समाजवादीलाई पोखरा महानगर परेको बताइएको छ । तर कास्की कांग्रेसले भने पोखरा महानगर समाजवादी पार्टीका लागि छोड्न नसकिने स्पष्ट पारेको छ ।
हेर्नुहाेस् विज्ञप्ति :
