काठमाडौँ – बेवास्ता गरिएका रोगहरूलाई उपेक्षित रोग भनिन्छ । यी रोगहरू विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, फंगी र विषाक्त पदार्थहरूका कारणहरूले लाग्दछन् ।
विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसहरूलाई असर गर्ने गरेको डब्लुएचओको तथ्याङ्क छ । यस्ता रोगहरूको बारेमा विश्वभर जनचेतना फैलाउने उद्देश्यले ३० जनवरीमा विश्व उपेक्षित रोग दिवस समेत मनाउने गरिन्छ ।
कुनै समयमा यी रोगहरूको बारेमा कुनै पनि किसिमको बहस हुँदैन थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले यी रोगहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वकालत सुरु गर्यो र, उपेक्षित उष्णप्रदेशीय देशहरूमा पाइने २० वटा रोगहरूको सूचीकृत गर्यो ।
डब्लुएचओले सूचीकृत गरेका २० उपेक्षित उष्णप्रदेशीय रोगहरू :
१. डेंगु र चिकनगुनिया
२. रेबिज
३. ट्रकोमा
४. बुरुली अल्सर
५. यज
६. कुष्ठरोग
७. चागस रोग
८. हयुमन अफ्रिकन ट्रीपानोसोमियासीस
९. कालाजार
१०. टेनियासिस र न्यूरोसिस्टीसर्कोसिस
११. ड्राकुनकुलियासिस (गिनिया वोर्म रोग)
१२. इसिनोकोकोसीस
१३. खाना जन्य ट्रीम्याटोडीयासिस
१४. हात्तीपाइले
१५. ओंकोसर्सियासिस (रिभर अन्धोपना)
१६. सिस्टोसिसोमियासिस
१७. माटोबाट सर्ने जुका
१८. माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अरू डिप माइकोसेस
१९. सर्पदंश
२०. लुतो र अरू इक्टोपारासाइट
नेपालको सन्दर्भमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, लुतो जस्ता रोगहरू समस्याको रूपमा रहेका छन् । यी रोग निवारणका लागि सरकारले बजेटको व्यवस्था गरी विभिन्न कार्यक्रम समेत गर्ने गरेको छ । तर नेपालमा अझै पनि अन्य रोगहरूको तुलनामा यस्ता रोगहरू सम्बन्धी पर्याप्त रूपमा बहस र जनचेतना फैलाउन भने जरुरी छ ।