केहिदिन अघि नेकपा माओवादी परित्याग गरेका युवा नेता दिपक विश्वकर्मा (निर्मल)को नेतृत्वमा युवाहरू एमाले प्रवेश गरेका हुन् ।
काठमाडौं । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर-१, का पाँच सय भन्दा बढी युवाहरू विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । केहिदिन अघि नेकपा माओवादी परित्याग गरेका युवा नेता दिपक विश्वकर्मा (निर्मल)को नेतृत्वमा युवाहरू एमाले प्रवेश गरेका हुन् । वाईसियलका पूर्व केन्द्रीय सदस्य एवम् माओवादी निकट नेपाल राष्ट्रिय सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासङ्घका अध्यक्ष समेत रहेका विश्वकर्माले पार्टीमा वैचारिक विचलन आएको भन्दै माओवादी परित्याग गरेका थिए ।
शनिवार नेकपा एमाले सूर्यगढी-काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको तारकेश्वर नगरपालिका लामबगरस्थित तारकेश्वर मल्टी पार्टी भेन्यु मा आयोजित चियापान तथा पार्टी प्रवेश कार्यक्रममा युवाहरू एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका अधिकांश युवाहरू नेकपा माओवादी केन्द्रबाट आएका छन् भने केही सामाजिक अभियन्ता, कलाकार एवम् बुद्धिजीवीहरू पनि रहेका छन् । आफ्नो नेतृत्वमा अझै पनि एक हजार बढी युवाहरू एमालेमा आउने नेता विश्वकर्माले दाबी गरेका छन् । उनले नेकपा एमालेको नेतृत्वमा मात्रै देशको विकास र समृद्धि सम्भव रहेको र देशको राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डताका रक्षा गर्न एमाले बाहेक अन्य पार्टीले नसक्ने निचोडमा पुगेर आफूहरू एमालेमा प्रवेश गरेको जिकिर गरे ।
त्यसैगरी तत्कालीन नयाँ शक्ति पार्टी नेपालको आइटी (सूचना प्रविधि) विभागका सदस्य एवम् नेसपा निकट प्रेस नेपालका केन्द्रीय सहसचिव राजाराम पौडेल पनि पचास भन्दा बढी युवाहरूको नेतृत्व गर्दै एमाले प्रवेश गरेका छन् । लामो समयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएका पौडेल रोजगारी र सम्मृद्धिका लागि आर्थिक क्रान्तिको अभियानबाट बेरोजगार युवाहरूलाई रोजगारी माग गर्दै खुल्लामञ्चमा १० दिन आमरण अनसन बसेका थिए ।
त्यसैगरी तत्कालीन जनता समाजवादी पार्टी नेपालका बागमती प्रदेश कमिटी सदस्य एवम् सो पार्टीको नुवाकोट क्षेत्र नम्बर १ का सभापति महेश पन्त, तत्कालीन नयाँ शक्ति पार्टी नेपालकाे नुवाकाेट जिल्ला कमिटि सदस्य एवम् हाल जसपा निकट लाेकतान्त्रिक प्राध्यापक महासङ्घका केन्द्रीय सचिव उमेश सिलवाल लगायतका नेताहरू युवाहरूसहित एमाले प्रवेश गरेका छन् ।
साथै नुवाकोटको पञ्चकन्या गाउँपालिकाका तीन सय पचास भन्दा बढी युवाहरू माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज विन्दा ढुङ्गाना, नेकपा एमाले नुवाकोट जिल्ला अध्यक्ष बद्री मैनाली लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै नेतृ ढुङ्गानाले नुवाकोट १ मा एमालेको जित सुनिश्चित भएको बताएकी छन् । “नुवाकोट-१, मा हाम्रो जित नजिक-नजिक थियो, आज तपाईँहरूको प्रवेशले सुनिश्चित नै भयो । अब हामी जित्छौँ ।” ढुङ्गानाले भनिन् ।
त्यसैगरी एमाले नुवाकोटका अध्यक्ष एवम् नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बद्री मैनालीले रोजगारी सिर्जना आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै आफूलाई निर्वाचित गराउन युवाहरूलाई अपिल गरेका छन् । “औद्योगीकरण र रोजगारी सिर्जना विना समृद्धि सम्भव छैन । युवाहरूलाई बिदेसिनबाट रोक्न र बिदेसिएका युवाहरूलाई स्वदेश फर्काइ रोजगार बनाउन उद्योगहरू खोलिनु आवश्यक छ । यसका लागि म सदनमा व्यापक आवाज उठाउने छु ।” नेता मैनालीले भने, “समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न एमालेले जित्न आवश्यक छ ।”
बागमती प्रदेशका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका नेता मैनाली अघिल्लो निर्वाचनमा नुवाकोट १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
कार्यक्रममा नुवाकाेट एमालेका थुप्रै नेता एवम् कार्यकर्ताका साथै काठमाडाैं र नुवाकाेटबाट एमालेका उम्मेदवारहरूकाे उपस्थिति थियाे ।
तस्बिरहरू:







