शुक्रबार , मंग्सिर २३, २०७९

पराजित प्रकाश (कथा)

मलाई भने जिउँदै मेरो श्राद्ध गर्ने मन थियो । सबैलाई बोलाएर धूमधामका साथ श्राद्ध खुवाउने रहर, सबैलाई जिउँदै श्रद्धाञ्जली दिन आग्रह गर्ने ! यस्तो खोक्रो समाजमा जिउँदो लास भएर बाँच्नु भन्दा देह त्याग्नु बेस लाग्थ्यो ।

image

मेरो प्रिय मित्र प्रकाश  हारेर पनि जितेको दिन । जिन्दगीका अनेक गुनासाबाट मुक्त भएको दिन । अब ऊ सुकेका पात झैँ रुखबाट कहिल्यै झर्नुपर्ने छैन । साउने भेलका धमिला कणसँग मिसिनुपर्ने छैन । जिन्दगीमा हारसँग हार्नुपर्ने छैन । उसका पसिना मिहिनेतले अब हारकाे आभास गर्नुपर्ने छैन । ऊ कुनै चिजप्रति आजित हुनुपर्ने छैन, हरेस खानुपर्ने छैन । अन्ततः उसलाई अब उपरान्त जितकाे कुनै आवश्यकता हुँदैन । कारण उसले  हारलाई सदाको निम्ति हार मान्न बाध्य बनाएर कहिल्यै नहार्ने यात्रामा गएको थियो ।

“हात हेराउँदा ज्योतिषले राम्रै हुन्छ भन्थाे भन्नलाई !” रेडियोमा बजेको बद्री पङ्गेनीको गीत र प्रकाशकाे जिन्दगी ठ्याक्कै उस्तै थियो । जिन्दगीमा उसले प्रयास नगरेको कुनै काम थिएन । सानोभन्दा सानो काममा पसिना बगाएको थियो । दौडधुप मिहिनेत र खट्नु उसको धर्म नै थियो । तर प्रतिफल भने सधैँ ऊ भन्दा निकै पर बसेको हुन्थ्यो । उसको मिहिनेतको सधैँ पराजित भएको देखिन्थ्यो । उसलाई  हारले, असफलताले सधैँ जितेको थियो । यी तमाम प्रयास आशा भरोसाप्रति विक्षिप्त भई प्रकाश यस धर्तीबाट हारेर गएको आज १३ दिन भएको थियो ।

आत्महत्या गर्नुअघि प्रकाशले मलाई एउटा डायरी थमाएको थियो । ‘कसलाई न दिनु तँ सँग राख्नु ..नपढ्नु, मेरो नासो हो’ भनेको थियो । उसले आफ्नो निजी डायरी दिँदा म झस्केको थिएँ । किन दिइस् त आफ्नो व्यक्तिगत डायरी भनेर सोधेँ । हाँस्दै उसले भन्यो, ‘तेरो विश्वास हेर्नलाई हो के ।’ मैले रातो गाता भएको उसको डायरी दराजको कुनामा राखेको थिए । कोठा पस्दा ठ्याक्कै डायरी देखिन्थ्यो ।

आज प्रकाश विलय भएको तेह्रौँ दिनमा उसको घर गएको थिए । फोटोमा फूल चढाए, बुबा आमालाई सान्त्वना दिएर कोठा फर्किएको थिएँ । त्यस दिन उसको निकै याद आयो । प्रायः मेरो कोठामा आउँदा ऊ भन्ने गर्थ्यो ‘जा केटा गतिलो चिया बना त ! कस्तो तलतल लाग्यो ।’ कोठा हिजाेअस्ति भन्दा अर्कै थियो । खै के भयो त्यसदिन  कताकता प्रकाश मेरो कोठामा आएको आभास भएको थियो  । ‘चिया बना न’ भनेझैँ लागेको थियो । एक्कासि झ्यालबाट ‘ल पढ् डायरी ! तेरो साथीले केके लेखेको रहेछ थाहा पाउलास्’, प्रकाशकाे स्वर कान वरिपरि गुञ्जिएझैं लागेको थियो । ‘पढ ..पढ’ वाक्य कानमा घुमिरहेको जस्तै भयो । अर्कोतिर उसको मप्रतिको विश्वास मस्तिष्कमा आयो । एकछिन नपढाैंझैं लाग्यो । अचेतन मनले मान्दै मानेन ! रातो गाता भएको डायरीको दराजको कुनाबाट हेरेझैँ लाग्यो । मलाई पढ्न, पाना पल्टाउन र उठाउन आग्रह गरेझैँ लाग्यो ।  जब डायरी छोएँ, कान हल्का भयो । कोठा मौन रह्यो ! त्यसपछि पढ्न सुरु गरेँ !

पेज १

जिन्दगी जिउन हाँसो, खुसी, उत्साह र सपना चाहिन्छ । त्यो मसँग थिएन । मसँग केवल असफलता, विफलता, धोका, पीडा र निराशा थिए । यी तत्त्वहरूको एकमात्र सहयात्री मेरो आँसु  थियो । आँसु भने भरिभराउ थियो मसँग । म र आँसु साथी भएका थियौँ । जब मलाई पीडा हुन्थ्यो, असह्य हुन्थ्यो, आँसु आफैँ बग्थ्यो । एकछिन हल्का महसुस गराउँथ्यो । हृदयको भार कम हुन्थ्यो । त्यसैले आँसु प्यारो लाग्थ्यो । मेरो दुःख बुझिदिने, मेरो सारथि, यहीँ आँसु त थियो !

पेज २

म कहिले बाँचिनँ । मेरो बाँच्ने आधार केही थिएन । मुफ्तको जिन्दगी बाँचिरहेको थिएँ । जसको कुनै अर्थ थिएन । घरीघरी टोलाउँथेँ, घोरिन्थेँ, आफैँले आफूलाई प्रश्न गर्थेँ । कारण सोध्थेँ- किन बाँचिस् भनेर । एकछिन मौन हुन्थेँ । हारेर, सास फेरर, निरस भएर, जीवित छु भन्नुको कुनै तुक थिएन ।

म कहिले हाँसिनँ । मेरो हाँस्ने आधार थिएन । म के का लागि हाँस्ने ? कसका लागि हाँस्ने ? हाँस्न कारण चाहिन्थ्यो । मसँग कारण नै थिएन । मुफ्तको हाँसो हाँस्नुको कुनै तुक थिएन ।

मलाई अन्धकार प्यारो थियो । दिनको रौनक फिक्का लाग्थ्यो । कालोमा कालजयी देख्थेँ । सेतोमा रक्ताम्मे ! सूर्यका किरणमा बीस देख्थेँ, अन्धकारमा उजेली ।

मानिसको चरित्र अचम्म लाग्थ्यो । विना कारण हाँस्दिने, के के न भए जस्तो । नक्कली उत्साह, खाेत्रा गफ, लिखे तर्कले समाजमा व्यापक हल्लीखल्ली हुन्थ्यो । गल्ली गल्लीमा, चाेक चोकमा एकसय एक कवाडी, गफाडीहरू गफ चुट्दै बसेका भेटिन्थे । कोही हो मा हो मिलाउन रुचाउने त कोही कुरा काट्नमा ! सायद गफलाई परिचय ठान्थे होला ! जति ठुलो आवाज, त्यति ठुलो मै हुँ सोच्थे होला । यस्तो भुमरीमा हाँसोको फोहोरा, गफकाे कचहरी के का लागि ? कसका लागि ? विचित्रको संसार । मलाई सांसारिक माया मोह, भोक प्यासप्रति केही लिनुदिनु थिएन । जोगीको जीवन जिउने आँट पनि थिएन । ‘रहिश’ हुने मेरो सामर्थ्य थिएन । आफैँले आफूभित्र विचित्रको चित्र पाउँथे । म स्वयम् आफैँले आफूलाई बुझ्न सकेको थिइन । मेरो धार, आधारप्रति अनविज्ञ थिए । त्यसकारण म रुन चाहन्थेँ, चिच्याउन चाहन्थेँ, हाम फाल्न चाहन्थेँ । झुन्डिन मन थियो तर म कातर, त्यो बाटो रोज्न डराउँथ्थेँ । त्यसका लागि ठुलो आँट चाहिन्थ्यो । म मा त्यो थिएन !

पेज ३

मेरा लागि सबैभन्दा प्यारो मेरो कोठा थियो । कसैसँग बोल्नु नपर्ने ! कसैका कुरा सुन्नु नपर्ने । कसैको अनुहार हेर्न नपर्ने । कुनाको भित्तामा आमाको तस्बिर राखेको थिए । दायाँबायाँ भगवान्हरू थिए । बिचमा आमाको तस्बिर  । भगवान्भन्दा पनि ठुली, यो संसारमा सबैभन्दा नजिक, ममताको खानी, प्यारी, मेरो आमा हुनुहुन्थ्यो । आमा घरमा हुँदा पनि नहुँदा पनि, म सधैँ तस्बिर हेरिरहन्थेँ । सधैँ आमाले मलाई हेरेको आभास  हुन्थ्यो ।

म लक्का जवान थिएँ, त्यहीँ पनि कपाल सुमसुम्याउँदै, ढाडस दिनुहुन्थाे । मेरो भित्री भाव बुझेर होला । म मानिससँग कमै घुलमिल हुन्थेँ । साथी थिए तर नजिकका कोही थिएनन् । स्वभावले म अन्तरमुखी, कम बोल्ने ! मलाई अरूसँग घुलमिल हुन ज्यादै कठिन लाग्थ्यो । मनका कुरा मनमै राख्थेँ । भनेर कसले पो के गर्थे । रुँदा किन राेइस भन्ने पनि थिएनन् । त्यहीँ आँसु थियो तिर्खा मेटाइ दिने आफै बगेर ओठसम्म आउँथ्यो, नुनिलो स्वाद दिएर जान्थ्यो ।

म प्राय आमालाई सोध्थेँ, म कसरी जन्मेको ? आमा ‘नकरा, के के सोध्छ’ भन्नुहुन्थ्यो । धेरै जिद्दी गरेपछि भन्न राजी हुनुभयो । आमा भन्नुहुन्थ्यो, म मरेर बाँचेको मान्छे । जन्मिदा मलाई मृत घोषणा गरिएको थियो । सबैले मर्याे भनेर आस मारिसकेका थिए । लास फाल्नमात्र बाँकी थियो । म पनि त्यसै लम्पसार सुतिरहेको थिए । सायद जीवन थिएन !  आमा निराश हुनुभएको थियो । नहुन पनि कसरी, बल्लतल्ल जन्मेको त्यो पनि मर्याे भनेर । वर्षैकाे सपना छिनभरमै तुहियो । कति सपना थिए होला आमाका ! कति रहर !

गाउँमा सबैभन्दा अनुभवी साेडेनी थिइन् , रीउचा आमा, उनी विना सुत्केरी घर अधुरो हुन्थ्यो । मै हुँ भन्ने गाईने डाक्टर भन्दा माहिर थिइन । सबैको विश्वास उनै रीउचा आमा मात्र थिइन् । के भो के भो सोध्नु भएछ । सबै मौन थिए । कारण अगाडि थियो । बाजागाजा रोकिएका थिए । बन्दुकका नाल त्यसै उभिएर बसेका थिए । रीउचा आमाले नियाली छन् । उनी पनि मौन थिइन । माहौल झन् गम्भीर भयो । सबैको आस समाप्त भयो । डाको छाेड्नुमात्र बाँकी थियो । ती आमालाई के मनमा आएछ, पानी हातमा राखेर मेरो मुहारमा पानी छर्की छन् । पानीका थोपा शरीरमा स्पर्श हुने बित्तिकै म चिच्याएको थिएँ रे। मेरो आवाजसँगै म जीवित भएको थाहा भयो । दमाहा बज्न थाले । बन्दुक पड्किए । आमा भन्नुहुन्थ्यो ‘तँ भगवान्को प्रसाद होस् । धेरै चिन्ता नलिई, दिन सबैको आउँछ ।’ मनमनै सोच्थेँ, मेरो दिन कहिले आउँला र ! सायद क्यालेन्डरमा थिएन होला ! आमाका कुरा सुनेपछि जिन्दगी फ्री लागेको थियो । सबैको उत्साह,उमङ्ग मारेर जन्मेको, निराश पछिको रस अलि फिक्का हुन्छ । मेरो जिन्दगी फिक्का थियो । बेला बेला सोच्ने गर्थे त्यहीँ बेला मरेको भए आनन्द हुन्थ्यो । यो भार, चिन्ता, तनावबाट मुक्ति पाइन्थ्यो ।

पेज ४

पल्लो घरको दाइको  जन्मदिन थियो । हल्ला त्यस्तै, ‘काँटा लगा’ भन्दै उफ्री उफ्री नाच्दै थिए मनमाैजीहरु । आधुनिक समाजमा मानिस आफ्नो जन्मदिन तामझामका साथ मनाउँछन्। जन्मदिनलाई उत्सव मनाउने र म बिच धेरै भिन्नता थियो । उनीहरू रमाउँथे, हाँस्थे, नाचगानमा मस्त हुन्थे । मलाई भने दिक्क लाग्थ्यो, घृणा लाग्थ्यो । यो क्षणिक उत्सव के का लागि ? यो नौटङ्की, भ्रममा रमाइलो मान्नु व्यर्थ थियो । जन्मदिन मनाउनेको तामझामले ऊ यो संसारको एकमात्र जीवित जन्तु हो । ऊ त भगवान्को देन हो, माहौलले त्यस्तै जनाऊ दिन्थ्यो । जन्मदिन मनाउनेले, त्यस दिन भगवान् इन्द्रको रूप धारणा गरेको हुन्थ्यो । सुकिला वस्त्रमा चट्टक सजिएका हुन्थे । उसकाे पार्टी इन्द्र सभा जस्तै देखिन्थ्यो । सुरा, सुन्दरी, सङ्गीत र इन्द्र लोकमा देखिने बाफ जस्तो धुवाँ ! सङ्गिन अनि रङ्गिन माहौल ! आगन्तुकहरू पनि इन्द्रलाेकका स्त्रीलम्मटले जस्तै गिद्धे नजर सुरा र सुन्दरीमा लगाउँथे । वास्तवमा पार्टी यसकै लागि हुन्थे । इन्द्र लोकमा झैँ सुरा र सुन्दरी भए अरू के चाहियो यो संसारमा ! मलाई भने जिउँदै मेरो श्राद्ध गर्ने मन थियो । सबैलाई बोलाएर धूमधामका साथ श्राद्ध खुवाउने रहर, सबैलाई जिउँदै श्रद्धाञ्जली दिन आग्रह गर्ने ! यस्तो खोक्रो समाजमा जिउँदो लास भएर बाँच्नु भन्दा देह त्याग्नु बेस लाग्थ्यो । मृत्युसँग भेट्ने ठुलो इच्छा थियो । पहिलो प्रश्न गर्थेँ, मलाई किन लगिनस् ? तेरो काम के त ?

मानिसहरू एक से एक कलाकार थिए । क्षण भरमा रूप परिवर्तन गर्न सक्थे । दु:ख लुकाउन, सुख देखाउन माहिर । आँसु लुकाएर हाँसोको फोहरा निकाल्थे । एक छाकलाई सजिलैसँग बफे डिनर भन्थे । भित्रको पीडा, मर्म, दु:ख वेदना सुकिला लुगाले ढाक्थे । अचम्म लाग्थ्यो मलाई ।

पेज ५

म मन्दिर कमै जान्थेँ । भगवान्देखि दया लाग्थ्यो ! विचरा कसका कुरा सुनोस् । सबै माग्ने, सयको प्रसाद चढाएर करोडौँको माग गर्न लाइनमा बसेका हुन्थे ! बेलाबेला रिस पनि उठ्थ्यो । तर विचार ढुङ्गाको भगवान् बोल्दै बोल्दैनन् । कोही तीस मिटर टाढाबाट सिक्काले भगवान्को मूर्तिमा श्रद्धा देखाउँथे ! त्यहीँ सिक्काका चोटले कयौँ मूर्ति बुट्टादार भएका थिए । कोही टाढैबाट हाइ हलो गर्थे ! कोही एक हातले अभिवादन गर्थेँ त कोही दुई हात जोडेर ! आजसम्म कुनै भगवान्ले कसैलाई प्रतिक्रिया जनाएका थिएनन् । कसैलाई बाबू सन्चै छौँ भनेर सोधेका थिएनन् ? मानिस अचम्मको प्राणी छिन भरमै भगवान् बनाइदिने । हिजोआज भगवान् बढेका थिए ।

मानिसहरू पागल लाग्थे । जो बोल्न सक्दैन, जसको कुनै अस्तित्व छैन । ढुङ्गा, फलाम, तामा पित्तलका पुतलीसँग बिलौना पाेख्खछन्, माग्छन्, बाहिर मन्दिरका अगाडि वर्षौँदेखि माग्न बसेका माग्नेलाई हेला गर्दै भित्र केही नबोल्नेसँग बिलौना गर्छन् । गजब छ संसार ! जसलाई प्रसादको खाँचो छ, मायाको आवश्यकता छ ! उसलाई माग्ने कहलिन्छ, उसलाई तिरस्कार गरिन्छ, भित्रको ढुङ्गालाई पुजिन्छ, दूध चढाइन्छ ।

मानिस पाप र स्वार्थले भरिएको प्राणी ! ऊ आफ्नो पाप पखाल्न निर्दोष पशुको बलि चढाउँछ । कयौँ कोश नभनी दिनरात हिँडेर चिसा हिमतालमा डुबुल्की हाल्छ, पाप पखाल्न । उसले केही दिनु भनेको देवतासँग धेरै अपेक्षा गर्नु हो । धेरै माग्नु पनि हो ! गरिबलाई, भोका, असहायलाई केही दिँदा उसलाई के लाग्छ भने ऊ पुण्य प्राप्त गर्दैछ । उसलाई भगवान्ले माथिबाट हेर्दै छन् । उसको यस्तो कार्यबाट भगवान् प्रफुल्ल हुनेछन् । फलस्वरूप उसलाई केही राम्रो हुन्छ भन्ने आशय राख्छन् । नत्र मानिस त्यसै दानी कहाँ हुन्थे र !

यस्तो घिनलाग्दाे मायामोह, मानसिक पीडाबाट प्रताडित, जिन्दगीदेखि वाक्क भएका, म जस्तै धेरै होलान् ! सबै पीडितको आआफ्नै बाटो होला । मेरो बाटो भने अलि भिन्न थियो । मलाई गुप्तबास बस्न मन थियो । कसैलाई नभनी मुक्तिकाेट गएँ । मुक्तिकाेट बारे धेरै सुनेको थिएँ । जो कोही पुग्न नसक्ने ठाउँ, मानिसको रक्त स्वाद पाएका जङ्गली बाघ, भालु, चितुवाले भरिएको ठाउँ ! गएका मानिसको अत्तोपत्तो हुँदैन थियो । मुक्तिकाेट जाने मानिसको आस मारेका हुन्थे घरपरिवारले !

पेज ६

ठुलाठुला चट्टानका पहाड, बाक्लो जङ्गल, दिउँसै रात हुने, घामको किरणले सायदै मुक्तिकाेटलाई छुइएकाे होला ! पाइलै पिच्छे झरना, डरलाग्दा खाेल्सा, जमिन पुरै हरियो लेउले बुट्टा भरेको जस्तो देखिने । पाइला सार्न हम्मेहम्मे पर्ने ! चिरबिर चिरबिर आवाज, स्वाँस्वाँ सुनिने हावाको बेगले मन त्यसै आत्तिने ! सुन्दै जो कोहीलाई अत्यास लाग्ने चित्रण सुनिन्थ्यो मुक्तिकाेट बारे ! त्यस्तो ठाउँ पुग्न साहस चाहिन्थ्यो , सामान्य कात्तर, डरपोकको गन्तव्य थिएन मुक्तिकाेट । बहादुर र विरङ्गनाले मात्र जान सक्ने एकमात्र एकान्त ठाउँ, कसैको अनुहार नदेखिने, भिडभाड, तडकभडक नहुने, यो तेरो त्यो मेरो, तँ त्यस्तो म यस्तो, मेरो घर ठुलो तेरो घर सानो, तेरो औकात मेरो औकात, के ठानेको छस् तैँले जस्ता तर्क/कुतर्क नसुन्न चाहने, हामी जस्ताको एकमात्र गन्तव्य थियो मुक्तिकाेट ! एका बिहानै भालेको डाकेसँगै मुक्तिकाेट तिर हानिए । झिसमिस थियो, प्रवेशद्वार पुगेँ, आङ जिरिङ्ग भयो । लामो सास लिएँ, यताउता कोही थिएनन् !

दुई दिनको बाटो हिँडे, उकाली ओराली गर्दै, हावाहुरी, पानी असिना झेल्दै, बाघ, भालुसँग लुकामारी खेल्दै मुक्तिकाेट पुगेँ । अग्लो टाकुरो हेर्दै मन लोभिने । चिसो हावाको बेगले मन शान्त पार्ने । मानौँ नवआगन्तुकलाई स्वागत गरे जस्तो । म भन्दा अगाडि तीन जना तिनतिर फर्केर बसेका थिए । म सहित चार पुग्यौँ । त्यहाँ पुग्ने सबै उदास देखिन्थे । दारी झुस्स, कपाल जिरिङ्ग ! सायद, मलाई जस्तो पीडा थियो होला । सांसारिक मोह पट्टकै मन नपर्ने थियो होला ! मेरो लागि उत्तरपट्टिको दिशा खालि थियो । म पनि कसैसँग नबोली आफ्नै ठाउँ सम्झेर बसे ! चार जना चारतिर बसेका थियौँ । चिसो सिरेटोले हानेको हान्यै थियो । प्रवाह नगरी हामी आआफ्नै सुरमा व्यथा, पीडा, चोट, मर्म लुकाएर बसेका थियौँ । चारैजना घुँडा ठाडो पारेर हातले कस्सक कसेर बसेका थियौँ । वातावरण मौन थियो, हामी चार जस्तै ।

उत्तर दिशाबाट तल बेसीतिर बिजुली बत्ती चम्केको दृश्य देखिन्थ्यो । गाडीको आवतजावत कमिलाको ताँती जस्तै देखिन्थ्यो । लावालस्कर ! हेडलाईट, टेललाईटले सडक रङ्गिन बनेको थियो । अन्य दिशामा भने घना जंगलमात्रै !

सहरको तडकभडकबाट आजित मलाई झिलिमिली व्यर्थ लाग्थ्यो । मलाई अन्धकार प्यारो थियो, कोही नदेखिने । मलाई जस्तै ती तिनको मनमा पनि अन्धकार प्यारो थियो होला ! नत्र दु:खकष्ट गरेर मुक्तिकाेट किन आउँथे र ? मुक्तिकाेटमाथि जाने ठाउँ थिएन । माथि कालो आकाश देखिन्थ्यो । सानासाना तारा चम्केका थिए । बेलाबेलामा लामपुच्छ्रे तारा खस्थे । चन्द्रमा पनि त्यस रात लुकामारी खेल्ने सुरमा थियो । घरि उज्यालो घरि अँध्यारो । कुनै बेला झलझलाकार त कुनै बेला अन्धकार । जुनकाे उजेलीमा त्यस रात चम्कनै थिएन ।

म आकाशतिर हेर्दै थिएँ । अँधेरी रातमा लियाेनार्दाे दा भिन्चिले चित्र कोरेझैँ देखिन्थ्यो । मनोरम दृश्य, ताराहरू हिँडेझैँ लाग्थ्यो । चन्द्रमा र ताराहरू लुकामारी खेलेको जस्तै देखिन्थ्यो । क्षण भरमै बिलाउने र झुल्किने, एक आपसमा नजिकिँदै आए जस्तो ! परपर गयो जस्तो । चन्द्रमा घरीघरी चम्कने घरि मधुरो हुन्थ्यो । ताराहरू ससाना, रिसाएर ठुस्स परे जस्ता देखिन्थे । पर पर हुँदै विलय हुन्थे ।

सबैका मनमा विभिन्न कुरा खेलेको हुनुपर्छ । घर परिवार, मायामोह, टोल-छिमेक आँखा अगाडि आएको हुनुपर्छ । मनभित्र चलेको चेतन अचेतन र अवचेतनको हावाहन्डरी प्रश्चात मुक्तिकाेट यात्रा रोजेको हुनुपर्छ । सामान्य दुख कष्टले त्यत्रो यात्रा कहाँ हुन्थ्यो र ! सहनशीलताको भेग फुटेपछि यस्तो जटिल यात्रा राेजिन्थ्याे । अचानक ड्याम्म आवाज सुनियो । दायाँबायाँ हेर्दा ती तीन थिएनन् । एकछिन पछि Yes I am on the way to Nirvana आवाज सुनियो । सायद खुसी हुनुपर्छ । मोक्ष प्राप्तिको यात्रा रोजेर । साहसी रहेछन् मुक्तिको बाटो रोजे । म भने बसिरहे! हावासँग बेतुक बात मार्दै ।

पेज ७
म एकपटक हारेर पुनः घर फर्किएको थिएँ ।  त्यो हार  जीवनकाे जित थियो तर मेरा कयौँ हारलाई निरन्तरता दिने मार्ग थियो । मुक्तिकाेटबाट फर्किए पछि एउटा आवाज Yes i am on the way to Nirvana मनमा बसेको थियो । जतिखेरमा पनि कानमा गुन्जिरहेको रहन्थ्यो । मलाई ती व्यक्तिले बोलाएझैँ लाग्थ्यो ।  किन हो फर्किएको दिनदेखि निन्द्रा फिटिक्कै लाग्दैन थियो । कयौँ रात मैले बार्दलीमा नसुती बसेको थिए  । धेरै छाक भोकै सुतेको थिए । म आजित थि ..

पृष्ठ सातपछि पाना त भरिएका थिए । तर अक्षर थिएनन्, खाली  डुडल चित्र जस्ता ! खै किन हो सातौँ पृष्टको अन्तिम वाक्य पूरा थिएन । पूर्णविराम बाङ्गिएको थियो । डायरीका बाँकी पानाभित्र डुडल चित्रका आकृति जस्ताले भरिएका  थिए । ती डुडल चित्र मैले लाख कोसिस गर्दा पनि बुझिनँ । अन्तिम पानाको चित्र भने अलि बुझिने खाल्काे  थियो । सायद आत्महत्या झल्किने चित्र थियो । एउटा बुढो रुखमा हरियो कुनै  चिज झुन्डिए जस्तो । सायद प्रकाशले आफ्नो भावी बिम्ब कारेको हुनुपर्छ । त्यसैको स्वरूप प्रकाश परमधाम गएको थियो  । प्रकाश पराजित भएको थियो ।  प्रकाशको जिन्दगीप्रतिका भाष्य निकै निराशाले भरिएको रहेछ । उसलाई देख्दा मैले ऊ भित्रको जीवित प्रकाश कहिल्यै देखिनँ । मैले देख्दा, सङ्गत गर्दा म जस्तै लाग्थाै । वास्तवमा ऊ स्वयम् डुडल चित्र कोर्ने कुनै नामी कलाकार रहेछ । सारा जगतलाई रनभुल्लमा राखेर  तनावले भरिएको जिन्दगीलाई सहजै प्रस्तुत गरेको थियो  ।

सम्बन्धित समाचार