शुक्रबार , अषोज १४, २०७९

कथा: डायरीको आठौँ पाना

भैगो यसलाई शब्दले नभनौँ, पहिले केही शब्दहरू नै मारिदिऊँ । शब्दसँग बोधको पनि अस्तित्व मरिहाल्दछ र ? कृपया तपाईं घृणा नगर्नुहोस् ।

image

 – पारिजात

कल्पना गर्नुहोस्, एउटा जुलुस… भैगो ताँती भनिदिऊँ, लक्ष्यहीन गइरहेको छ । बीचतिर सायद म पनि हिँडिरहेको छु, मजस्तै धेरै अरूहरू पनि । हामी मौन छौँ । हामी कहाँ आइरहेका छौँ त्यो हामीलाई थाहा छैन र कहाँ गइरहेका छौँ सायद त्यो पनि…।

छोडिदिऊँ कुरा सुरु भएको छ, ‘कल्पना गर्नुहोस्’बाट । यसै सन्दर्भमा एउटाले भनेको थियो, “तपाईं त हुलमूलमा देखिनुभएन नि !”

ठिकै छ, त्यो कुनै दुःख लाग्ने रिमार्क थिएन । प्रश्न उठेको थियो, हुलमूलको अस्तित्व के हो तथा आफ्नो हुनु हुलमूलमा कस्तो हुन्छ, हुलमूलको आफू एउटा बलियो खाँबो हो कि होइन ?

त्यसपछि एउटा लामो अवधि एकदमै आइसोलेटेड भएर हिँडिदिएँ, मलाई कसैले पनि चिनेन अथवा यसो भनौँ, मलाई कसैले पनि देखेन । अब मलाई सायद दुइटै अवस्थामा विश्वास छैन ।

यस्ता अनुभूतिहरू जो साह्रै नै एब्स्ट्र्याक्ट छन्, मैले त्यसको पनि छाप आफ्नो डायरीमा उतारेको छु । तपाईंलाई थाहै होला, विगत दस वर्षदेखि मैले तपाईंलाई त्यो एब्स्ट्र्याक्टनेसको खास बिन्दुसम्म पुर्याउन सकेको छैन । अहिले मेरो डायरी हेर्नु भो भने तपाईं मलाई बौलाहा भन्नुहुन्छ ।

यो भोक हो, त्यो म एउटा वृत्तको आकारमा देखाइदिन सक्छु, यो सेक्स हो, त्यो म एउटा चतुर्भुजमा पुष्ट्याइदिन सक्छु र दुःख यो हो, त्यो म त्रिकोणमा छर्लंग्याइदिन्छु (त्यो त तपाईं पनि सक्नुहुन्छ, कसैले कसैलाई पनि) ।

प्रवृत्तिहरूको निर्माण एउटा मिस्कट अवस्था भनौँ, के यहाँ प्रेम र घृणा पनि अवस्थित छन् ? कुन्नि वा आफूलाई यदि केहीमा विश्वास छैन भने त्यो प्रेममा नै हो । मानिस प्रेमहीन बाँच्न सक्दैन, त्यो केटाकेटीको किताबमा लेखिएको छ । अँ, विगत दस वर्षभरिमा मैले तपाईंलाई प्रेम पनि बुझाउन सकेको छैन ।

घृणा नामकरण कसले दियो ? यो स्थितिबोधलाई कसले पत्तो लगायो ? के यो एउटा एनासिनको चक्की पत्ता लगाउनजस्तै सजिलो थियो ? मेरो भन्नुको अर्थ सम्भावितभित्र ।

भैगो यसलाई शब्दले नभनौँ, पहिले केही शब्दहरू नै मारिदिऊँ । शब्दसँग बोधको पनि अस्तित्व मरिहाल्दछ र ? कृपया तपाईं घृणा नगर्नुहोस् ।

तपाईंलाई कसैले भनेको हुनुपर्छ । त्यसमा तपाईं आफूमा कीर्नाजस्तै टाँसिएको घृणालाई उप्काउन नसकेर रन्थनिनुभएको थियो (त्यो तपाईंको अनुभूति) । विगत दस वर्षभरिमा तपाईं पनि मलाई घृणा बुझाउन असमर्थ हुँदै आउनुभएको छ ।

मेरो डायरीको आठौँ पानामा हेर्नुहोस्, यो ब्ल्यांक पाना एउटा यस्तो बोध हो, जसलाई म शब्दको माध्यमबाट बुझाउन सक्दिनँ र म त्यसलाई बुझाउने कोसिस पनि गर्दिनँ । जस्तो गरिकन अमुक लेखकको करुणासम्बन्धी एवं विशाल ठेली पढिसकेपछि मलाई त्यत्तिकै नमज्जा भएको थियो जति एउटा भुसको रोटी खाइसकेपछि हुन्छ ।

जान्दिनँ करुणा के हो ? त्यसो त तपाईं पनि मान्नुहुन्छ कि शब्दकोशमा जडान भएका शब्दहरू मात्र हाम्रो अवस्थाका प्रवर्तक होइनन् ।

बिहान उठेर आङ तन्काउँदा ऊ भन्छे, “तपाईं त जरोमा गजब बताउनुहुँदो रहेछ, मलाई राम्रै थाहा छ, तपाईंलाई जरो आएको हुनै सक्दैन ।”

मनमनमा हाँसो उठ्छ, यिनको कुरा कस्तरी बाझिरहेछ । प्रायः मानिस सबै यस्तै हुन्छन् । असम्भव, मेरो यथार्थ उसको अड्कलबाट हुन सक्दैन ।

“भरेदेखि त्यसरी नकराउनुस्, म जरोसरो भन्ने खालकी मान्छे होइन ।”

ऊ आफूभित्र कत्ति बाझेर बोल्छे, मेरो हाँसो दोहोरिन्छ । तथापि, सम्झाउन खोज्छु, “तिमी आफ्नै विश्वाससँग विरोध गरेर बोलिरहेकी छ्यौ ।”

ऊ मलाई बुझ्न सक्दैन र म आफूलाई उसको क्षमताभरि भियाउने गरी बुझाउनु पहिलो दर्जाको असम्भव । एक्लै बोल्नु के गैरकानुनी हो ? अनैतिक हो ?

सोच्छु, यतिबिघ्न असन्तोषी मान्छेहरूको डेलिरियम माइक लगाएर चौबाटादेखि प्रसार गरिदिनु पागलखानाजस्तो हुन्छ कि ? नहुन पनि त सक्छ । कसलाई थाहा छ के हुन्छ के ?

यो स्कोप नहुनुको जो तीतो वर्तमान छ, त्यसको एउटै छुटकारा अर्थात् विकल्प नै भनौँ, मैले मेरो निमित्त डेलिरियम छनोट गरेको छु । छ त केही सीमारेखा बहुला हुनु र नबहुलाउनुमा ? ऊ एक्लै ऐना हेरेर हाँस्छ र धेरैजसो आफ्नो वरिपरिका निर्जीव वस्तुहरूलाई गाली गर्छ, एउटा दुइटालाई क्रोधको आवेगमा परेर हिर्काउँछ पनि ।

अहिले म गइसकेपछि ऊ मेरो डायरी पल्टाउँछे र केही सस्तो प्रेमगीतहरूको संकलन देखेर क्षुब्ध हुनेछ । ऊ के थाहा पाउली र जीवनका कस्ता नमीठा क्षणहरू पचाउनको निमित्त म यो गीतहरू जम्मा गरेर हिँड्थेँ ।

“म बडो निस्क्रिय छु, मलाई डेलिरियममा बाँच्न देऊ कृपया ।” यो वाक्य आफैसँग निकै तीतो व्यंग्य भइदिन्छ । ऊ फिसिक्क हाँसिदिन्छे बुझेर हो वा नबुझेर । लाग्छ, व्यंग्य त उसले मलाई अवश्य गरेकी छैन ।

मेरो अनुपस्थिति फेला पर्नासाथ ऊ मेरो डायरी पल्टाएर हेर्नेछ र मदेखि ऊ निकै विरक्त हुनेछ । ऊ हिरोवरशीप गर्न जान्दिन र साँच्चै भन्ने हो भने म हिरो पनि त होइन ।

बारम्बार उसको अनुहारसँग दुष्ट हाँसो देखा परिरहन्छ र घरीघरी म क्षुब्ध भइरहन्छु । सम्झना आउँछ, राति सुत्ने बेलामा एउटा एनासिन उसको अनुमति लिएर खाएको थिएँ, यसैले कि मलाई जरो आउने निकै सम्भावना थियो (जस्तो लाग्छ) । तर, मैले उसलाई भनेको थिएँ, मलाई जरो आइरहेको छ ।

विगत रातदेखि अहिलेसम्मको रूपरेखा हेर्दा स्थिति केही हुनुको सट्टा हास्यास्पद भएर गइरहेको छ । यो एंगलबाट हामीले बाँचिरहेको जीवनलाई जति भने पनि उपहास गर्न सकिन्छ । भित्र कताकता नमज्जा लागेर आउँछ मानौँ, भुसको रोटी अनायास खाइसकेको छु ।

अबदेखि मलाई ऊ मेरो डेलिरियमबाट होइन, तर डायरीको सस्तो प्रेमगीतहरूबाट मूल्यांकन गर्नेछ । ऊ ठान्नेछ, अझ बढी त विश्वस्त हुनेछ कि डायरीको पन्ना मेरो यथार्थ हो र डेलिरियम खोल मात्र ।

प्रश्न उठ्छ, यहाँ सबै यस्तै भोगिरहेका छन् कि ? म उसलाई नजिक बोलाएर भन्छु, “तिमी विश्वास गर मलाई जरो आएको थियो ।”

“विश्वास गरिदिए पुग्छ ?”

प्रत्युत्तरले मलाई अझ बढी आकुल तुल्याउँछ ।

“मलाई नछामेर तिमीले निकै बोर गर्यौ ।”

थाहा भइरहन्छ, यो मात्र बोल्ने कुरा हो, भित्र अर्कै यथार्थ वरिपरि पस्रिदिएको छ (छामेर हेरिदिएको भए त्यो चरम बोर अवस्था हुने थियो, जसको निमित्त वकालत गर्ने कुनै सम्भव प्वाइन्ट नै छैन) ।

दैनिक मनस्थिति नै यही तालको भइरहेछ के लाग्छ ? आज शरीर एकतमासले शिथिल छ (अर्को बहाना) भन्दै म कोल्टे फर्कन्छु । ऊ कोठाबाट बाहिर गइदिन्छे । तत्काल अनुभव हुन्छ, मेरो वर्तमान सकस केही क्षणलाई हल्का भइदिएको छ । एउटा प्रश्नचिह्न मात्र ढोकामा झुन्डिरहन्छ, बाँच्नलाई के यति नै पर्याप्त छ ?

(पारिजातको कथासंग्रह ‘सडक र प्रतिभा’बाट)

Tags:

सम्बन्धित समाचार