बुधबार , जेठ ३०, २०८१

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन ठप्प

image

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलवार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज दिउँसो १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबेंशी नगरपालिका –६ र थाँक्रे गाउँपालिका –८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवै तर्फी सवारी आवागमन बन्द भएको छ ।

नयाँ पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको छ । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।

Tags:

सम्बन्धित समाचार