शुक्रबार , जेठ १५, २०८३

‘अब मासुभातमा बिक्नु हुँदैन’ – रवि लामिछाने

‘चुनाव आएपछि हामी मासुभातमा बिक्छौँ भन्ने आरोप पनि लाग्ने गरेको छ । तर यसपालिको चुनाव एकादशीको दिन पो परेछ ।’ उनले भने

image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी चुनावमा मासुभातसँग आफ्नो मत नसाट्न मतदातासँग आग्रह गरेका छन् ।

लामिछानेले यसपटकको निर्वाचन एकादशीका दिन परेको भन्दै मासुभातले भोट किन्न नसकिने पनि बताएका छन् । आगामी मङ्सिर ४ गते आइतबार एकैचरणमा संघ र प्रदेशको चुनाव हुने भएको छ ।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै लामिछानेले सारा दुःख बिर्सिएर मासुभात र पैसामा नबिक्न पनि मतदातालाई आग्रह गरेका हुन् ।

‘चुनाव आएपछि हामी मासुभातमा बिक्छौँ भन्ने आरोप पनि लाग्ने गरेको छ । तर यसपालिको चुनाव एकादशीको दिन पो परेछ ।’ उनले भने, ‘यसपालिको चुनाव आइतबार परेछ, आइतबारलाई रविबार पनि भन्ने गरिन्छ ।’

उनले पटकपटक प्रधानमन्त्री भइसकेका नेता पनि आउँदो चुनावमा किन लड्न लागेको ? भन्दै प्रश्न गरे । लामिछानेले अझै प्रधानमन्त्री बन्ने लोभमा उनीहरु चुनाव लड्न खोजेको भन्दै आपत्ति जनाए ।

‘यो चुनावमा ६/६ जना पूर्वप्रधानमन्त्रीहरु फेरि प्रधानमन्त्री बन्नका लागि चुनाव लड्दैछन् । अहिलेसम्म के गरे र फेरि जितेर गए के गर्छन् ?’ उनले भने, ‘अब उहाँहरुलाई मंसिर ४ पछि घरमै आराम गर्ने अवस्थामा पुर्‍याउनुपर्छ ।’

हरेक चुनावमा दलहरुले आश्वासनको पोका बाँड्ने गरेको भन्दै लामिछानेले अब त्यो पोको खोलेर प्रश्न सोध्न नागरिकलाई आग्रह गरे ।

सम्बन्धित समाचार