बुधबार , बैसाख १९, २०८१

वडाध्यक्ष घिसिङले छात्रछात्रालाई प्रोत्साहित गर्न आफ्नो सेवा-सुविधा कटाएर दिए पुरस्कार

image

काठमाडौँ । मकवानपुरको कैलाश गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले छात्रछात्रालाई प्रोत्साहित गर्नका लागि आफ्नो सेवा सुविधा कटाएर पुरस्कृत गरेका छन् । विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउन र स्वच्छ प्रतिस्पर्धात्मक भावनाको विकास गराउन प्रेरित गर्ने उद्देश्यले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गाउँपालिकाभरिबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने १ जना छात्र र १ जना छात्रालाई पुरस्कृत गरेका हुन् ।

अघिल्लो वर्षको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा उक्त पुरस्कारको घोषणा गरेका वडाध्यक्ष घिसिङले आज सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता समारोहकै अवसर पारेर पुरस्कार वितरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र अधिकारी, वडाध्यक्षहरू भुवन घलान, सूर्य बहादुर गोले लगायतको उपस्थितिमा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका वडाध्यक्ष घिसिङले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पुरस्कृत हुने दुवै छात्रछात्रा कैलाश गाउँपालिका–९ स्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थी रहेका छन् । गाउँपालिकाभरिबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्दै पुरस्कृत हुनेमा छात्रतर्फ कैलाश–९ का प्रेम सुनार (३.१५ जिपिए) र छात्रातर्फ कैलाश–९ कै विमसा घिसिङ (३.४ जिपिए) रहेका छन् । वडाध्यक्ष घिसिङले आफूले पाउने एक महिनाको सेवा सुविधा बराबरको रकमबाट दुई जनालाई पुरस्कृत गरेका हुन् ।

छात्रछात्रालाई प्रोत्साहित गर्नका लागि पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने वडाध्यक्ष घिसिङले बताएका छन् । पुरस्कारले गाउँपालिकाभरिका विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउने उनले बताए । वडाध्यक्ष घिसिङले भने, “पुरस्कारले गर्दा विद्यार्थीहरूमा स्वच्छ प्रतिस्पर्धात्मक भावनाको विकास भई अध्ययन गर्ने रुचिमा वृद्धि भएको र समग्र पालिकाभरिका छात्रछात्राहरूमा ऊर्जा थपेको छ ।”

सम्बन्धित समाचार