शुक्रबार , फागुण १८, २०८०

चिसा स्याँठहरू (मनोभाव)

दूरी बढ्नुको मजबुरी- निकै उचाइमा लाग्ने चिसा स्याँठहरू बढिरहे, छातीनेरको रुखो पाखो एकनास बत्तिइरह्यो ।

image

बहिनिले फ्याट्ट भनिदिई- भाउजू ।
उसलाई मन परेन । ‘के भनेको रे?’, सोधी ।
बहिनीले पुनश्च: ‘भाउजू’ भनी । ऊ अर्कै भई, आवाजमा थप रूखोपन ल्याएर फोन राख्न हतारो देखाई ।

बहिनिले फोन मलाई दिई । म झमक्क भएँ । अँध्यारै भएँ । ..फोन काटियो ।
न बहिनीले मलाई हेरी, न मैले बहिनीलाई हेर्न सकेँ ।

एउटा घोर चकमन्नता लामो अवधिभर हामी दुईबिच बसिरह्यो र, चैतको हावाहुरी जस्तो कतै फुत्त हुत्तियो ।
देखेँ, झ्याल बन्द रहेछ ।
बुझेँ, हावाहुरी झ्यालबाट निस्किएनछ ।
महसुस गरेँ, हावाहुरीको कम्पनले हृदय कामिरहेछ ।

उसलाई मसँग जोडिएको सम्बन्धमा रुचि छैन । यो अलि धेरै अघिको कुरा पनि होइन, उसलाई मसँग जोडिएको सम्बन्धमा रुचि थियो । यो अलिक अगाडीकै कुरा हो, हामीबिच एउटा फूल खस्यो । प्रेम नामको फूल । एक्कासि खसेको । प्रेमील नगरीमा हामीले नै चुँडाएको । चुँडिएको फूल टिपेर न मैले उसको केशमा सजाइदिएँ, न उसले त्यो इच्छा व्यक्त गरी । एउटा फूल हाम्रै सामुन्ने ओइलायो । र, त्यही ओइलाउँदै गएको फूल यसपटकको हुरीले पर हुत्ताइदियो ।

महसुस गरेँ, फूल हुत्तिँदा मुटु अठ्ठीदो रहेछ, आत्तिँदो रहेछ ।
यो त्यही अँठ्याई, यो त्यही अत्यास…।

***

मैं तुझ से साथ भी तो उम्र भर का चाहता था
सो अब तुझ से गिला भी उम्र भर का हो गया है

इरफ़ान सत्तारसँगको यो पहिलो भेट थियो/हो मेरो । र, मलाई हालसम्म उनको यही शेर मात्रै याद छ ।

यस्तो धेरैपटक भएको छ, कुनै व्यक्तिको एक मात्र र मात्र एउटा कुरा याद भइदिन्छ मलाई ।

उसको हकमा पनि सोही छ, ऊसँगको प्रथम भेटमा हामी दुईतिरबाट मिलेका थियौँ । सोचेको थिएँ, अब सँगसँगै हिँडिन्छ । अघि-पछि भइएला तर वारिपारि हुँदैनौँ । मिलनसार अनुसार, ‘वारिपारि बराबरी भएसी किनारा हुँदैन, दोबाटो हुँदैन, दुई ढोका हुँदैन । बरु डुङ्गा होइन्छ, यात्रा भइन्छ, आँखीझ्याल बनिन्छ ।”

तर, मिलनसार मलिन भइदियो । किनारा भइदियौँ, दोबाटो भइदियौँ, दुई द्वार भइदियौँ । टाढा-टाढा हुँदै गयौँ ।
दूरी बढ्नुको मजबुरी- निकै उचाइमा लाग्ने चिसा स्याँठहरू बढिरहे, छातीनेरको रुखो पाखो एकनास बत्तिइरह्यो ।
किनारा हुनुको कथानुराग- एउटा सङ्लो खोलो डुङ्गामा छिर्यो र माझिलाई निलिदियो ।
दुई द्वार हुनुको विरोधाभास- हृदयको जीर्णोद्धार भयो तर तत्कालै खस्किदियो ।
र, जेजे भयो- एउटा आत्मभाव आत्मा अभावमा सिर्जनात्मक मृत्यु मर्यो । र, त्यो मृत्यु सायद ऊ पनि मर्दै छे/मर्नेछे ।

***

म सोच्दै छु- एउटा सम्बोधनमा कति कुरा हुन्छन् ? एउटा शब्दले कति अर्थ बोक्छन् ? एउटा बोली कति बोझपूर्ण हुन्छन् ? र, सबैभन्दा महत्त्वपूर्ण, अन्तरअनूभूतिहरू के विधि प्रकाशपूर्ण र छायाँमय ?

वफ़ा करेंगे निबाहेंगे बात मानेंगे
तुम्हें भी याद है कुछ ये कलाम किस का था

अब यतिखेर दाग देहालवीलाई सम्झेर के गरूँ ? छरपष्ट विचारलाई कसरी पो मुद्रित गरूँ ?

अब यतिखेर,
उत्साहपूर्वक एउटा कुरा भन्न सकुँला- संशोधन, पुनर्लेखन, पुनर्व्याख्या, प्रेमका टकटकाउँदा हिमटाकुराहरू हुन्, जसले हृदयको बिम्ब-प्रतिबिम्बहरूमा प्रगाढता थप्ने गर्दछ, जो असीमित न्यानो रङ्गको हुने गर्दछन् ।

अस्तु !

Tags:

सम्बन्धित समाचार