'देशकाे राष्ट्रिय स्वाधिनता, स्वाभिमान, स्वतन्त्रता र सार्वभाैमिकताकाे रक्षा राप्रपा बाहेक अन्य पार्टीले गर्न सक्दैनन्' उनले भने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)काे भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक संङ्गठनका अध्यक्ष फणीराज लोहनी (राजु)ले नेपालमा गणतन्त्र र गणतन्त्रवादी दलहरू असफल भइसकेकाे र वैकल्पिक शक्ति राप्रपा नै भएकाे दाबी गरेका छन् ।
सङ्गठनलाई विस्तार गर्न बुधबार काठमाडौंमा आयोजित भेलालाई सम्बाेधन गर्दै अध्यक्ष लाेहनीले गणतन्त्रवादी दलहरूका कारण राष्ट्रिय स्वाधिनता,स्वतन्त्रता र सार्वभाैमिकता नै खतरामा परेकाे बताए ।
‘देशकाे राष्ट्रिय स्वाधिनता, स्वाभिमान, स्वतन्त्रता र सार्वभाैमिकताकाे रक्षा राप्रपा बाहेक अन्य पार्टीले गर्न सक्दैनन्’ उनले भने, ‘आगामी संसदीय निर्वाचनमा राप्रपालाई जिताउन कुनै कसरत बाँकी नराख्न म तमाम राष्ट्रवादी युवाहरूलाई अपिल गर्दछु ।’
अध्यक्ष लोहनीले गणतन्त्रवादी दलहरूले देशको विकास गर्न नसक्ने पुष्टि भइसकेकाले जनताको आशा र भरोसाको एक मात्र शक्ति राप्रपा भएको बताए । गणतन्त्रवादी दलहरू असफल सावित भइसकेकाले राप्रपाप्रति जनलहर बढ्दै गएको उनले बताएका छन् । अध्यक्ष लोहनीले आगामी संसदीय निर्वाचनमा राप्रपालाई जिताउन युवा सङ्गठनले अग्रनी भूमिका खेल्ने बताए ।
पार्टीको विधि विधान भन्दा बाहिर गएर गतिविधि गर्ने जोकोही नेता कार्यकर्तालाई युवा सङ्गठनले खबरदारी गर्ने लोहनीले बताएका छन् । पार्टीको नेतृत्व पंक्तिलाई सहि दिशामा हिँडाए मात्रै देशलाई सहि दिशामा अगाडि बढाउन सकिने भएकाले सङ्गठनले पार्टीको विधिविधान बमोजिन नचल्ने नेता कार्यकर्तालाई कारबाही गर्ने उनले बताए ।
अध्यक्ष लोहनीले युवा सङ्गठनको महाधिवेशनको कार्यतालिका बमोजिम काम गर्न र तयारीमा जुट्न पनि युवाहरूलाई निर्देशन समेत दिएका छन् ।
कार्यक्रमका प्रम्रख अतिथि (राप्रपा)का पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताए । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरूले गल्ती गरिरहेको उनले बताएका हुन् ।

‘पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दाबी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् । पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरे, जनआकांक्षा अनुकूल राज्य सञ्चालन गर्ने प्रजातान्त्रिक परिपाटी व्यवहारमा लागू गरे । राज्य सञ्चालनका बहिङ्गम नीतिहरू लागू गरेर विशाल नेपाल बनाए,’ राप्रपा नेता लोहनीले भने ।
त्यस कारण अन्य राजनीतिक दलहरूले विदेशीहरूको तस्बीर राखेर विदेशीहरू पुज्ने गरे पनि राप्रपाले नेपाल निर्माता पृथ्वीनारायण शाहलाई सर्वदा सम्मान गर्ने गरेको लोहनीको भनाइ थियो ।
‘पृथ्वीनारायण शाहका नीतिहरू, २५० वर्ष पछि, अहिले पनि उतिकै सान्दर्भिक छन्,’ लोहनीले भने । ‘जसले जे भने पनि, वास्तवमा पृथ्वीनारायण शाह राष्ट्र निर्माता नै हुन्, यसमा कुनै द्विविधा छैन ।’
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपाका पूर्व अध्यक्षले यस्तो विचार राखेका हुन् ।
‘नेपाल दुई ढुंगाबिचको तरुल भन्ने पृथ्वीनारायण शाहको परराष्ट्र नीति अहिले पनि उतिकै सान्दर्भिक छ । निर्यात अत्यन्तै कमजोर र आयात मात्रै व्याप्त रहेको समयमा, विदेश बस्तुलाई रोक लगाउनु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु भन्ने शाहको दिव्यवाणी आर्थिक सम्पन्नताको सूत्र हो, जो हाल पनि अनुकरणीय छ,’ लोहनीले भने ।
‘नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाहको देन अहिलेको अवधारणामा राष्ट्रियता र समावेशीकरणको आधार हो, समावेशी राष्ट्रवाद हो । घुस लिने र दिने दुबैलाई दण्डित गर्नुपर्छ भन्ने शाहको विचार, भ्रष्टाचार विरुद्धको उच्चतम व्यवस्था हो,’ युवा भेलालाई सम्बोधन गर्दै लोहनीले भने ।
भेलाले सङ्गठनलाई विस्तारै गर्दै २२५ सदस्यीय बनाएको छ ।
भेलाले सातै प्रदेशमा युवा सङ्गठनको संयोजक समेत तोकेको छ । प्रदेश १ संयोजकमा राजकुमार योङ्गा, प्रदेश प्रदेश संयोजकमा रनविजय सिं, बागमती प्रदेश संयोजकमा हरित न्यौपाने, गण्डकी प्रदेशमा सचिन थापा, लुम्बिनी प्रदेशमा हुकुम केसी, कर्णाली प्रदेशमा भरत पुरी, सुदूरपश्चिम संयोजकमा इश्वरदत्त अवस्थी तोकिएका छन् ।
भेलाले सङ्गठनको केन्द्रीय महाधिवेशन आगामी भदौ २९ देखि ३१ मा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी युवा संगठनले साउन १५ गतेदेखि २५ गतेसम्म वडा, गाउँपालिका, नगरपालिका तह र साउन २६ गतेदेखि भदौ २ गतेसम्म प्रदेशसभा समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । भदौ ३ गतेदेखि १० गतेसम्म क्षेत्रीय समितिको निर्वाचन, भदौ ११ गतेदेखि १६ गतेसम्म जिल्ला कार्य समितिको निर्वाचन, भदौ १७ गतेदेखि २२ गतेसम्म प्रदेश समिति गठन गर्ने, भदौ २३ र २४ गते केन्द्रीय प्रतिनिधिहरुको निर्वाचन गर्ने तय गरेको छ ।
कार्यक्रममा नेता डा. लोहनीुसहित राप्रपाका उपाध्यक्ष एवम सचिवालय सदस्य हेमजङ गुरुङ, उपाध्यक्ष मुकुन्द श्याम गिरी, पार्टीका महामन्त्री युवा सङ्गठनका पूर्व अध्यक्ष भुवन पाठक, अर्का महामन्त्री राजेन्द्र गुरुङ, पार्टीका प्रवक्ता सगुन लावती, सहमहामन्त्री प्रकाश रिमाल लगायतका नेताहरूले मन्तव्य दिएका थिए ।
कार्यक्रममा सङ्गठनमा उपाध्यक्ष गुणराज राजभण्डारीले स्वागत भाषणा गरेका थिए भने कार्यक्रमको सञ्चलान युवा नेता उत्तमराज भण्डारीले गरेका थिए ।
