काठमाडौं । गृह मन्त्रालयले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता घटनामा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो ।
‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ ।’
मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को संयोजकत्वमा छानविन समिति गठन भएको छ ।
एसएसपी बसन्त कुँवर, प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का लगायतको समिति गठन भएको हो ।
त्यस समितिले काम गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।
‘उक्त समितिले काम सुरू गरिसकेको अवस्था छ । उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
