यस पटककको निर्वाचनमा नेपालको संघीय राजधानी काठमाडौंका मतदाताको रोजाइमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी परेको निर्वाचन परिणामले देखाएको छ ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परणाम आउने क्रम जारी छ । यस पटककको निर्वाचनमा नेपालको संघीय राजधानी काठमाडौंका मतदाताको रोजाइमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी परेको निर्वाचन परिणामले देखाएको छ । रास्वपाले काठमाडौंका चार स्थानमा विजय हासिल गरिसकेको छ भने काठमाडौंकै एक स्थानमा अग्रस्थानमा रहेको छ ।
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ १०१०५ मत लिएर विजयी भए ।
उनका प्रतिस्पर्धी लौरोका उम्मेदवार सुमन सायमी ५८८९ मतमा रोकिए । नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ ४८७७ मतका साथ तेस्रो भए । एमालेका शिवसुन्दरराज वैद्य ३५२२ मत ल्याएर चौथो स्थान प्राप्त गरे ।
काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी
प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जीत हासिल गरेको छ ।
बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएको हो ।
सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।
ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए ।
सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन् ।
काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् ।
काठमाडौं-७ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जित हात पारेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी-२, काठमाडौं-६, चितवन-१ र २ मा अग्रस्थानमा रहेको छ ।