काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने बताइएको छ ।
गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्न वेष्टइन्डिजमा थिए । उतैबाट अमेरिका पुगेका उनी २० असोजमा नेपाल फर्किएका थिए । सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।