बुबा मङ्गलसिंह तामाङ (दमाई)ले आफ्नी छोरीको उपचारकाे लागि सहयोगको याचना गरेका छन् ।
धादिङ । आर्थिक अभावका कारण उपचार नपाउँदा धादिङको बेनीघाट रोराङ–१, जरुङका १५ वर्षीय सानी थिङ तामाङ मृत्युको दिन कुर्दै बस्न विवश भएकी छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि अस्पताल लैजान नसक्दा छोरीलाई घरमै राखिरहेको सानीका बुबा मङ्गलसिंह तामाङ (दमाई)ले बताए ।
उनका अनुसार छोरी सानीलाई तीन महिना अघि अचानक खुट्टा पोल्ने, झमझमाउने र दुख्न सुरु भएको थियो । दुखाई बढ्दै गएपछि गाउँमा धामी झाँक्रीलाई झारफुक गर्न लगाएको थियो । तर, स्थिति बिग्रिँदै गएर अहिले कम्मर मुनिको भाग नचल्ने भइसकेको छ । खुट्टाबाट सुरु भएको दुखाई अहिले छातीसम्म पुगिसकेको छ । जिउ सुकेर हड्डी र छाला मात्रै बाँकी छ । पछिल्लो हप्तादेखि बोल्न र चलमल गर्न समेत सक्दिनन् ।
यसअघि गाउँमा थोरै सहयोग सङ्कलन गरेर अस्पताल लगिएको तर, अस्पताल पुगेको भोलिपल्टै रकम सकिएपछि घरमा फिर्ता ल्याएको आमा सुन्तली माया तामाङले बताइन् ।
अहिलेसम्म सानीलाई कुन रोग लागेको हो भन्नेसम्म पनि पत्ता लागेको छैन । अस्पतालमा लगेको भएपनि अशिक्षाका कारण अस्पताल र चिकित्सकले भनेका कुराहरू बुझ्न नसकिएको हो ।
“अस्पतालमा लगेर डाक्टरलाई देखाएको र पैसा सकेपछि फिर्ता ल्याएको” आमा सुन्तलीले बताइन् । त्यसभन्दा बढी आफूलाई थाहा नभएको उनी बताउँछिन् ।
“हामी नपढेको गरिब मान्छे, के गर्नु ? पैसा सापटी माग्दा पनि दिँदैन । छोरीको अवस्था बिग्रिँदै गएको छ । अब मरेनी मरोस् भनेर बसेको” सानीकी आमा सुन्तलीले आँसु पुछ्दै भनिन्, “एउटा छोरो पनि बोली नै आउँदैन । बुढो पनि गाह्रो काम गर्न सक्दैन । कान्छाे छोरो पनि पढेको छैन । यो छोरीलाई काकाचैँले पढाउँदै थियो । अब मर्ने भयो के गर्ने !”
“अस्पतालसम्म पुर्याउने भाडा मात्रै भएको भएपनि छोरीलाई उपचारका लागि लैजाने भनेको कसले पो दिनु र !” बुबा मङ्गलसिंहले भने, “छोरीलाई बचाउने कोही भगवान् छन् कि भन्ने आशा मात्रै छ ।”
बुबा मङ्गलसिंह तामाङ (दमाई)ले आफ्नी छोरीको उपचारकाे लागि सहयोगको याचना गरेका छन् ।
सहयाेगका लागि सम्पर्कः
चन्द्र तामाङ ९८६०४०८९३९
सुरेन्द्र तामाङ (मिलन) ९८६६३१८१७१