शुक्रबार , मंग्सिर २३, २०७९

तीनपटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति: सत्यमोहन जोशी

image

  • सिर्जना लामिछाने

बिहान एक कप कालो चिया । साँझ टुच्च एक प्याक ब्ल्याक लेबल । नत्र अय्ला । सत्यमोहन जोशीले यो पंक्तिकारसँग केही समय अगाडि भनेका थिए, ‘चिया र रक्सी दुवै अम्मल हो । तर जिउलाई मिलाउन जान्नुपर्छ । थोरै, टुच्च ।’

डाक्टरलाई भेट्नैपर्ने बाध्यता नआउन्जेल उनी डाक्टर भेट्न चाहँदैनथे । ‘डाक्टरले केही न केही समस्या देखाइहाल्छ, उसको कामै हो,’ उनी भन्थे, ‘बरु यत्तिकै नांगो पैतालाले बिहानको शीतमा दुबोतिर हिँड्यो, आफूलाई तन्दुरुस्त राख्यो । यसैले काम गर्छ ।’

डा. सत्यमोहन जोशी नेपालका संस्कृतविद् हुन् । उनको मुख्य पेशा नै लेखन, इतिहास तथा संस्कृतिविद् हो । साथै उनी साहित्यकार पनि हुन् । उनको जन्म वि.सं. १९७७ बैशाख ३० (१२ मे १९२०) बखुम्बहाल, ललितपुरमा भएको थियो । उनी पिता शंकरराज जोशी र माता नोगलदेवी जोशीका जेठा छोरा हुन् । उनले त्रिचन्द्र कलेजबाट बि . ए. सम्म अध्ययन गरेका छन् ।

नेपालका विभिन्न गाउँगाउँ गएर विरही गीत सङ्कलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे । पछि गएर यही पुस्तकले वि.सं २०१३ सालमा मदन पुरस्कार पाए । मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरे । नेपालमा लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गरे र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि वि. सं. २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार पाए। तेस्रोपटक वि. सं. २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए। हालसम्म तीनपटक मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् । 

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारीदीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्जवल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म मदन पुरस्कार जित्न सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बेला उनले नेपाली खस सभ्यताको व्युत्पत्ति थलो कर्णालीस्थित सिँजाखोलामा गएर अनुसन्धान थाल्ने निधो गरे । त्यहाँको भाषा, लोकजीवन, संस्कृतिलाई समाजशास्त्रीय, अर्थशास्त्रीय आँखाबाट चिहाए । कर्णार्ली विकट छ, गरिब छ भन्ने सबैलाई थाहा थियो, तर कर्णाली धनी छ भन्ने थाहा कमैलाई थियो । जोशीसहितका पाँच अनुसन्धानकर्ताको टिमले लामो समय दिएर अध्ययन गर्यो । यही अनुसन्धानको प्रतिफल २०२७ सालमा कर्णाली लोकसंस्कृति नामक पुस्तक पाँच भागमा प्रकाशित भयो ।

शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका छन् । यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन् ।

सत्यमोहन जोशीको वि.सं. २०७९ साल असोज ३० गते १६ अक्टोबर २०२२ (१०२ वर्ष) किष्ट अस्पताल, ललितपुरमा बिहान ७:०९ बजे निधन भएको हो । 

 

 

 

सम्बन्धित समाचार