काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। नेपाली विद्यार्थी संघको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा देउवाले भने, ‘पहिला (२०७४) को जस्तै होला। अहिले एकलौटी रुपमा बहुमत आउने सम्भावना छैन। हामीले गठबन्धन टुटाउने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिले भने हाम्रो के अवस्था होला ?’
अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सम्भव नभएकाले गठबन्धन गरिएको देउवाको तर्क छ। ‘पहिला ओलीलाई हटाउन भनियो उनलाई हटाइयो। गठबन्धनमाा गिभ एण्ड टेक हुन्छ। गठबन्धनमा आउनेले पनि पाउने आस गरेको हुन्छ नि। उनीहरुले हामीलाई ठूलो पार्टी हुनुस् भनेको छ र हामी पनि सानो पार्टी बन्छौं भनेका छन्। यसमा के गलत छ ?’देउवाले भने।
दोहोर्याएर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका देउवाले पार्टी नेताहरुलाई अब विभिन्न तहका सरकारमा जिम्मेवारी लिने विषयमा अर्जुनदृष्टि राखेर काम गर्ने भने। ‘केहीलाई यस (गठबन्धन)लाई तोड्नु छ। म त प्रधानमन्त्री भइसकेँ, अब तपाईंहरु हुने हो। मुख्यमन्त्री हुने हो। अर्जुनदृष्टि राखेर काम गर्नुस्।’
संसद्मा पनि आफूहरु हारेको हार्यै भएको तथ्य बुझेर संगठन निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।