शुक्रबार , मंग्सिर २३, २०७९

अनावश्यक कुराकानीले पति–पत्नीमा विष घोल्दछ

image

  • शीतल गिरी

सञ्जीवले बाइक रोक्यो र आफ्नो कालो भएको हात धुनको लागि बाथरुममा जान लाग्दा रजनीले सोधी- “आज किन निकै अबेला आएको ?”
“केही होइन, बाटोमा बाइकले धेरै दुःख दियो, छिन छिनमा स्टार्ट बन्द भएर ।”
“तिमी यो थोत्रो बाइक किन बेच्दैनौँ ?”
“पछि सोचिएला, अहिले मलाई तात तातो चिया बनाएर ल्याऊँ । टाउको पनि दुखेको छ ।”
“तिमी दिन भरमा १५–२० कप चिया किन पिउँछौँ, शरीरलाई राम्रो गर्दैन” भन्दै रजनी चिया बनाउन गई ।

रजनीको यस्तै अनावश्यक किसिमको वाहियात कुरा गर्ने बानी छ । सङ्गीताको बानी पनि करिब करिब यस्तै छ । सङ्गीताले विनयलाई बोल्ने मौका नै दिँदिनन् । पत्नी पीडित विनयले एकपटक मलाई भनेका थिए, “मलाई यस्तो लाग्दछ, वास्तवमा मलाई लगाउन, खान, उठ्न–बस्न राम्ररी आउँदैन, यही कारणले गर्दा सङ्गीताले मलाई मन पराउँदिनन्, त्यसै भएर त मेरो प्रत्येक कुरामा तिनी दोषै दोष देख्छिन् ।”

घरमा पत्नीको माया नपाएको विनयले कार्यालयमा उसको सहयोगी पुष्पाको कामप्रतिको निष्ठा र लगन देखेर प्रशंसक बन्न पुग्यो । पुष्पालाई पनि विनयको सामिप्यता बडो राम्रो लाग्न थालेको थियो । विस्तारै विस्तारै मित्रता प्रेममा परिणत भएपछि विनयले पुष्पामा आफ्नो सुखचैन खोज्यो ।

रजनी र सङ्गीता जस्ता धेरै महिलाहरूको बानी एकदम धेरै अनावश्यक प्रश्न गर्ने कचकच गर्ने हुन्छ । पत्नीले बारम्बार अनावश्यक प्रश्नहरू सोध्दा पति आत्तिनु स्वाभाविकै हो । अनावश्यक प्रश्नहरू सोधी कचकच गरी पतिलाई डोमीनेट गर्न खोज्दा आत्तिनु त स्वाभाविकै हो । पत्नीको अति प्रश्नबाट आजित भएका या अतालिएका पतिहरू घर जान भनेपछि यमराजको मुखमा जान लागेको ठान्छन् र डराउने गर्छन्, त्यस्ताहरू आफ्नो धेरैजसो समय घरबाहिर काट्ने गर्दछन् । अब सोचौँ, रथको एक पाङ्ग्रो गृहस्थी रुपी गाडी तान्न धरमराउन र घरको वातावरण अस्वस्थ बन्छ भने यो कसको दोषले गर्दा हो ?

यस्तो स्थितिमा पतिलाई स्वयंबाट र घरबाट टाढा धकेल्नमा दोष मात्र पत्नी को हो ? यहाँ प्रश्न उब्जिन सक्छ- के त्यसो भए पत्नीले सुनेर बस्ने, केही नभन्ने ? मेरो भनाई यस्तो कदापि होइन । मेरो भनाई त यतिमात्र हो कि यस्तो कुराकानीबाट सधैँ बच्नु पर्दछ जो एकअर्काको मनमा गढ्दछ । पत्नीद्वारा बारम्बार अनावश्यक प्रश्नहरू सोध्दा पतिको मनमा घर र परिवारप्रति आस्था घट्दछ र उ जीवनमा शान्तिको लागि अन्त भौँतारिन्छ ।

मैले विनयलाई सोधेको थिए, “तिमीले किन पुष्पासँग विवाह गरेर अन्तै बसेको ?” तब उसले प्रष्टसँग सङ्गीताको व्यवहारले जीवनप्रतिको मोह घटाएको र पुष्पाको प्रेमले जीवनप्रति मोह जागेको बतायो । उसले यो पनि भन्यो कि ‘यदि पुष्पाले उसलाई नसम्हालेको भए सङ्गीताको वाकवाणले गर्दा उहिल्यै आत्महत्या गरिसक्ने थिएँ ।’

यदि रजनिले ‘तिमी यो थोत्रो बाइक किन बेच्दैनौँ’ भन्नुको साटो यसो भन्दी हो कि ‘यो बाइकले तिमीलाई धेरै दुःख दियो, बारम्बार मर्मत गरिरहँदा पैसा पनि धेरै खर्च हुन्छ । बरु यसो गरौँ, राम्रो पैसा दिने पाएमा बरु यो बेचौँ । केही पैसा थपेर नयाँ किनौँ !’ तब निश्चय नै सञ्जीवले पनि खुलेर कुरा गर्थ्यो, आफ्नो दुःख कष्ट बत्ताउँथ्यो ।

पति पत्नीको सम्बन्ध रेशमी धागो जस्तो नरम हुन्छ । दुवैको सद्-व्यवहारले त्यो रेशमी धागो चुट्दैन । यसर्थ सबभन्दा पहिलो कुरा त दुबैमा एक अर्का प्रशस्त विश्वास हुनु पर्छ, घर सम्हाल्ने ठूलो दायित्त्व पत्नीको हुने हुँदा अनावश्यक कुराकानीबाट टाढै बस्ने प्रयत्न गर्नुपर्छ ।

Tags:

सम्बन्धित समाचार