शुक्रबार , मंग्सिर २३, २०७९

युट्युबमा उपलब्ध छन्, ओस्करमा छानिएका यी ३ लघु चलचित्र

यी तीनमध्ये दुई चलचित्र ओस्करमा छानिएका हुन् भने एउटाले अवार्ड हात पारेको थियो । सबै चलचित्र अंग्रेजी भाषामा सबटाइटलसहित छन् ।

image

काठमाडौं । लघु चलचित्र छोटो भए पनि कुनै-कुनै चलचित्र मस्तिष्कमा छाप छोड्ने खालका हुन्छन् । छोटो समयमै भाँती पुर्‍याएर चलचित्रले दिन खोजेको कुरा दिएको हुन्छ र यसले दर्शकको मन समेत जितेको हुन्छ ।

हामीले भोग्ने साना-साना कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गरिनु पनि लघु चलचित्रको विशेषता रहेको छ । यस्ता चलचित्र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाउन समेत सफल हुने गरेका छन् । यिनै कारणहरूले गर्दा लघु चलचित्रले ओस्कर, कान्सलगायत विभिन्न अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा एउटा छुट्टै स्थान कमाएको छ ।

सन् १९२९ देखि वितरण हुन थालेको ओस्करका केही वर्षमै लघु चलचित्रको नियमित प्रतिस्पर्धा हुन थालेको छ । सन् १९३२ मा जेम्स प्यारोटको ‘म्युजिक बक्स’ले प्रथम पटक पुरस्कार पाएको थियो ।

आज ओस्करमा छानिएका यस्तै तीन लघु चलचित्र सुझाउन गइरहेका छौँ जुन विशेषगरि बालबालिकाको विषयमा केन्द्रित छन् । चलचित्रमा बालबालिकाको मनोविज्ञान, शारीरिक अपाङ्गता, द्वन्द्व, रङ्गभेदजस्ता गम्भीर सामाजिक विषय चित्रण गरिएको छ ।

यी तीनमध्ये दुई चलचित्र ओस्करमा छानिएका हुन् भने एउटाले अवार्ड हात पारेको थियो । सबै चलचित्र अङ्ग्रेजी भाषामा सबटाइटलसहित छन् ।

पहिलो चलचित्र रहेको छ ‘द क्रश’ 

चलचित्रमा आठ वर्षीय अर्डाल ट्राभिसले आफ्नी शिक्षिका मिस पर्डीलाई मनपराउँदै बिहे गर्ने सपना देख्छन् । तर, पर्डी आफ्नो प्रेमी पियर्ससँग विवाहको तयारीमा हुन्छिन् । यसपछि अर्डाल, पर्डी र पियर्सको कथा कसरी अगाडी बढ्छ भनेर जान्न सो चलचित्र हेर्नुपर्ने हुन्छ, जुन युट्युबमै उपलब्ध छ ।

दोस्रो चलचित्र रहेको छ ‘न्यु ब्वाइ’

आयरल्यान्डको एक स्कुलका नयाँ विद्यार्थी जोशेफ अफ्रिकाको कुनै गाउँबाट आएका हुन्छन् । नयाँ स्कुलको वातावरण उनका लागि असहज हुन्छ । अन्य विद्यार्थीले उनलाई दुःख पनि दिन्छन् । आफ्नो गाउँको सामान्य स्कुलमा हाँसी खुसी पढ्ने जोशेफको आयरल्यान्डको यात्रा जान्न चलचित्र हेर्नुपर्ने हुन्छ, जुन युट्युबमै उपलब्ध छ ।

तेस्रो चलचित्र रहेको छ ‘द साइलेन्ट चाइल्ड’

कान नसुन्ने चार वर्षकी बालिका लिब्बी परिवारसँग बस्छिन् र उनको सहजीकरणको लागि आमाबाले एक समाजसेवी शिक्षकको सहयोग लिन्छन्। सू नामकी ती शिक्षकले लिब्बीलाई साङ्केतिक भाषा सिकाउँछिन् र लिब्बी सङ्केतमार्फत कुराकानी गर्ने हुन्छिन् । तर यो कुरा उनका आमाबालाई खट्किन्छ ।

त्यसपछि कथा के-कसरी अगाडी बढ्छ भनेर जान्न सन् २०१८ को ओस्करमा लाइभ एक्सन सर्ट फिल्म अवार्ड जितेको यो चलचित्र हेर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार