सोमबार , जेठ १४, २०८१

खोकनाको सिकाली जात्रामा देवगणहरू उफ्राउफ्री किन गर्छन् ?

image

१. दक्ष प्रजापतिले ठूलो यज्ञ गरेको र सबैलाई यज्ञमा भाग लिन बोलाए अनुसार सबै देवताहरू यज्ञमा भाग लिन आए ।

१.१ यो कुरालाई खोकनाको सिकाली जात्रामा रमाइलो पाराले सबै देवताहरू आकाशबाट ओर्लेर आएको जस्तो देखाउन पूर्व दिशाबाट उफ्रीउफ्री यज्ञमा प्रवेश गरेको देखाइन्छ । यो क्रियाकलाप देखाउन लामो सिकाली पाटनको प्रयोग गरेर टाढा टाढाबाट उडेर आएको भान हुन्छ ।

१.२. यी देवताहरू पूर्वबाट आएको देखाउनुको मुख्य कारण ईन्द्रादि देवताहरूको राज्य अमरावती पूर्व दिशामा अवस्थित छ ।

१.३. यसमा देवताहरूलाई दुई जना सहायकहरूले दुई तिरको पाखुरा समातेर उफ्रीउफ्री आएको देखाउन उठाएर बसालेर उठाएर रमाइलो गर्न खोजेको हुन्छ । कारण यो जात्राको रूपमा मनाइन्छ ।

१.४. यसमा यसलाई अझ रोमान्टिक बनाउन यो सबै क्रियाकलाप दुई जना सहायकहरूले दौडाएर देवताहरूलाई उठाउन कोसिस गरेको पाइन्छ ।

१.५. यसमा भक्तजनहरूको र जात्रा हेर्न आउनेहरूको ठूलो भीड यसको दुईतिर उभिएर ताली बजाएर हल्लाखल्ला गर्दा खेरिको यसको रौनक अरू बढ्न जान्छ र झन् रमाइलो हुन्छ ।

२. यसमा कथा के छ भने त्यसबेला दश दिक्पालहरू दश दिशामा बसेर सुरक्षाको व्यवस्था गरेका थिए । सबै देवताहरू र अन्य निम्तो पाएकाहरू यज्ञमा आइपुग्दा दक्ष प्रजापतिले सबैलाई नाना अलङ्कार पहिराएर माला लगाइदिएर आसनमा बसालेर स्वागत सत्कार गरेका थिए ।

२.१. त्यस बेलामा यक्ष गन्धर्वहरू गाना गाएर, किन्नरहरू बाजा बजाएर, अप्सराहरू नाचेर, नाना प्रकारले मङ्गल धुन बजाएर रमाइलो गरिरहेका थिए । ऋषि मुनिहरू वेद पाठ, उच्चारण गरिरहेका थिए । अष्टमङ्गल आदि पूर्ण घडाहरू राखेर, ब्रह्मा, विष्णु देवताहरू राखेर बृहस्पतिद्वारा यज्ञ गराएर, सबैलाई आनन्दले बसालेर दक्ष प्रजापतिले यज्ञ गराएका थिए ।

२.२. सबै ठुला-ठुला यज्ञहरूमा चौसट्ठी योगिनीहरू साथ लिएर यज्ञेश्वर महादेवलाई यज्ञको कर्ता-धर्ता बनाएर यज्ञ गरिथ्यो । तर यस यज्ञमा विष्णु देवताहरू साथमा लिएर दक्ष प्रजापति साथ यज्ञ गर्न बसेको थियो ।

२.३. त्यसमा दधीचि आदि केही ऋषि मुनिहरूले यज्ञको कर्ताधर्ता यज्ञेश्वर महादेवलाई निमन्त्रणा दिएर बोलाउन सल्लाह र सुझावहरू दिए । तर दक्षले मानेनन् ।

२.४. नारद मुनि गएर सतीदेवी र महादेवलाई नबोलाएको कारण बुझ्न कैलाश पुगे । यो खबर सुनेर सतीदेवीलाई दुःख कष्ट र बेइज्जत गरेको लागेर महादेवसँग संवाद गरेर यज्ञ हेर्न गए ।

२.५. सतीदेवीले धर्मको पालन गरेर धर्मको बाटो हिँड्न अनुरोध गरे । तर दक्ष प्रजापतिले उल्टो महादेवलाई मनपरी गाली दिए । सतीदेवीलाई सहन गाह्रो परेर यज्ञमा हामफालेर प्राण त्याग गरिन् ।

३. महादेव क्रोधित भएर वीरभद्र, महाकाली उत्पत्ति गरेर दक्षयज्ञ विध्वंस गर्न पठाएको कथा खोकनाको सिकाली जात्रामा रमाइलो पाराले प्रस्तुत गरिएको छ ।

३.१. महादेवले एक वीरभद्र नाम भएको महाभयङ्कर डरलाग्दो स्वरूपको भैरवको उत्पत्ति गरे । यिनको तीन आँखाबाट आगोको ज्वाला निस्केर हजार सूर्यको तेज निकालेर, मुण्डमाला पहिरिएर, दाहिने हातमा काल समान त्रिशूल लिएर, प्रलयकारी रूपमा सबैलाई मार्न र यज्ञ विध्वंस गर्न तैयार भए ।

३.२.त्यस्तै महादेवले भयङ्कर डरलाग्दो स्वरूपको महाकाली उत्पत्ति गरे । जसको आँखाबाट आगोको ज्वाला निकालेर सूर्यको तेज फैलाएकी, आकाश जस्तै पेट भएकी, खप्पडको मुण्डमाला पहिरिएकी, काला-काला लामा लामा रौँहरू हावामा उडाएर, दाहिने हातमा खड्ग लिएकी, जिब्रो लाप्राक-लाप्राक रगत चाटेर सबैलाई मार्न खान, रगत पिउन र यज्ञ विध्वंस गर्न तैयार भए ।

३.३. त्यसपछि महादेवबाट ‘सबैको निर्मूल हत्या गरेर दक्षयज्ञ विध्वंस गरेर, दक्षको पनि वध गरेर छोडिदेऊ’ भन्ने आज्ञा पाएर कैलाशबाट ओर्ले । यसरी कैलाशबाट पृथ्वी झर्दा पृथ्वी नै डोलायमान भएर सबै जीवजन्तुहरू त्राहित्राहि भएर यताउता भाग्न लागे । यिनीहरू मेघ गर्जे जस्तो आवाज निकालेर, रगत वृष्टि गरेर, वायु मण्डल ढाकेर, वायु बेगले यज्ञमा प्रवेश गरेको देखेर दिक्पालहरू सबै दिशा छोडेर भागे ।

३.४. खोकनाको सिकाली जात्रामा वीरभद्र- महाकाली दलबलका साथ उत्तर दिशाबाट ओर्लेर आएको झन् रमाइलो पाराले जात्रा गरेर आएको देखाउन खोजेको पाइन्छ ।

३.५. कैलाश उत्तर दिशामा भएको हुनाले उत्तर दिशाबाट आएको र आकाशबाट उडेर आएको देखाउन दुई जन सहायकहरूले दुई तिरबाट पाखुरामा समातेर दौडाएर माथि उठाएर, तलमाथि गर्दा ज्यादै रमाइलो देखिन्छ र दुवैतिर भीड उभिएर ताली बजाएर स्वागत गर्दा त झन् रमाइलो हुन्छ ।

४. खोकनाको सिकाली जात्रामा वीरभद्र-महाकालीको फौज दक्षयज्ञ विध्वंस गर्न आएको भनेर देखाएकोमा पहिले हनुमान भदौरे सिन्दुरे वर्णको लुगा, जामा र मुकुट पहिरेर प्रवेश हुन्छ ।

४.१. दोस्रोमा रातो वस्त्रमा महालक्ष्मी र तेस्रोमा नीलवर्ण भएको भैरवको नीलो वस्त्रमा प्रवेश हुन्छ ।

४.२. त्यसपछि एक-एक गरेर रातो वर्णको वाराही, पहेँलो वर्णको ब्रह्मायणी, सेतो वर्णको माहेश्वरी, सेतो वर्णको महादेव, हरियो वर्णको वैष्णवी, रातो वर्णको इन्द्रायणी, रातो वर्णको चामुण्डा, सेतो वर्णको गणेश, रातो वर्णको कौमारी, रातो वर्णको कुमारको साथसाथै सिहिनी र ब्याध्रिनीको प्रवेश हुन्छ ।

४.३.खोकनाको सिकाली जात्राको विशेष महत्त्व यिनै वीरभद्र- महाकालीको प्रवेशमा देखिन्छ । यहाँ तीन कुराको प्रदर्शन भएको पाइन्छ । जसको तल चर्चा हुनेछ ।

५. खोकनाको सिकाली जात्राको विशेष महत्त्व बारेमा चर्चा गर्दा यी कुराहरूको चर्चा हुन जरुरी छ ।

५.१. वीरभद्र- महाकालीको प्रवेशको क्रममा भात छरेर प्रवेश गरेको हुन्छ । त्यसमा सबै भक्तजनहरूको ठूलो चहलपहल देखिन्छ । सबै छाता लिएर अगाडि लाइनमा उभिन तँछाडमछाड गरिरहेका हुन्छन् । जब भात छरेर अगाडि बढेका हुन्छन्, सबैजसो भक्तजनहरू छाता उघारेर उल्टो पारेर भात थापिरहेका हुन्छन् ।

५.२. वीरभद्र- महाकालीको प्रवेशको क्रममा जाँड रक्सी चुहाएर आएको देखिन्छ । यसमा पनि जाँड रक्सी थाप्ने र लिने काम भइरहेको पाइन्छ।

५.३. वहाँहरूको प्रवेशमा एउटा अर्को कुरा के देखिन्छ भने वहाँहरू यज्ञस्थलमा पुगेपछि खुट्टाले यज्ञको आगो फेँकिदिएको देखाउँछन् ।

५.४. यो जात्रामा फेँकिएको भात र जाँडलाई सबै भक्तजनहरूको आकर्षणका विषय हुनुमा धेरै कारणहरू देखिन्छन्:-

  • यसमा आस्था राख्ने भक्तजनहरूको लागि यो ठूलो प्रसादको रूपमा ग्रहण गर्ने कुरा हो । यसबाट शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास छ । त्यसकारण यसलाई शक्ति प्राप्त गर्ने मौका पाएको कुरा प्रस्ट देखिन्छ ।
  • यहाँ भाग लिन आउनेहरूको भनाई सुन्दा यो एक मनोरञ्जन त हुँदै हो । तर यो शक्ति प्राप्त गर्ने मौका पनि हो भनेर मौकाको फायदा लिइरहेको पाइन्छ ।
  • यहाँ पञ्च तत्त्वहरूको बारेमा पनि उपलब्ध गराएर ज्ञान दिन खोजेको पाइन्छ ।
  • वीरभद्र- महाकालीले दक्ष प्रजापतिको यज्ञ विध्वंस गर्दा देवताहरूलाई काटेर रगत पिएर, मासु टुक्रा-टुक्रा गरेर खाएको र फ्याँकेको जुन भूतप्रेत, पिशाचहरूले पनि खाने हिसाबले देखाएको भन्ने मान्यता छ ।
  • जाँड चुहाउँदै हिँडेको, रगत चुहाएर सबैले पिएर भूतप्रेत, पिशाचहरूको रगत पिउन बन्दोबस्त गरेको भन्ने भनाई पनि छ ।
  • खुट्टाले दक्षयज्ञको आगो फेँकेको भनेको दक्षयज्ञ विध्वंस गरेको दर्शाएको भन्ने मान्यता छ ।

यसरी नै खोकनाको सिकाली नाचमा पनि स्वस्थानी परमेश्वरको व्रतकथामा आधारित विषय बस्तुहरूलाई ज्ञानवर्द्धक रूपमा प्रस्तुत गरिएको छ । नेवार दर्शनअनुसार दक्षको व्यक्तिवादी सिद्धान्तको शासनकालको अन्त गर्न दक्षयज्ञ विध्वंस गरेको देखाइएको हो र सामाजिकतावादी सिद्धान्त अपनाइएको हो भन्ने मान्यता छ । यस बारेमा थप चर्चा हुन बाँकी नै छ ।

फोटो : प्रविण रानाभाट

यो पनि पढ्नुहोस्;

भिडियो

https://www.youtube.com/watch?v=svOdDFtVffY

सम्बन्धित समाचार