जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका ६७ बर्षिय आबेमाथि शुक्रबार गोली प्रहार भएको हो ।
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आक्रमण भएपछि विश्वभरका नेताहरूले घटनाको निन्दा गरेका छन् ।
जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका ६७ बर्षिय आबेमाथि शुक्रबार गोली प्रहार भएको हो । चुनावी अभियानका क्रममा भाषण गर्दैगर्दा उनीमाथि दुई पटक गोली प्रहार भएको हाे । ढाडमा गोली लागेपछि बोल्दा बोल्दै ढलेका आबेलाई अस्पतालमा लगिएको छ ।
आबेको अवस्था निकै चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनका कान्छा भाइले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार आबेको शरिरमा रगत दिइरहेको छ । उनको आबेको ज्यान जोगाउन प्रयासहरू भइरहेको बताएका छन्।
जापानका रक्षामन्त्री नोबुओ किशीले शूटरको उद्धेश्य जस्तोसुकै भए तापनि यो आक्रमण माफ दिनै नसकिने अपराध भएको बताएका छन् ।
आबेको घाँटी र छातीमा गोली लागेको र आन्तरिक रूपमा निकै रक्तश्राव भइरहकको अधिकारीहरूले बताएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसन सिन्जो आबेमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले ट्विटरमा लेख्दै, ‘शिन्जो आबेमाथि भएको आक्रमण घृणित र आश्चर्य लाग्दो’ भएको प्रतिक्रिया दिएका छन् । जोनसनले घटनाप्रति दुख व्यक्त गर्दै आबेको परिवार र सुभचिन्तकहरूलाई नआत्तिन भनेका छन् ।
त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले सिन्जो आबेमाथि गोली प्रहार भएको घटनाले मर्माहत बनाएको बताएका छन् ।
इण्डोनेशियामा जी२० का विदेश मन्त्रीहरूको सम्मेलनमा बोल्दै ब्लिकेनले आफूलाई गहिरो दु:ख लागेको बताएका हुन् ।
उनले आफूहरु आबे, उनको परिवार, जापानका जनताको साथमै रहेको बताएका छन् । उनले आबेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना समेत गरेका छन् ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आबेलाई आफू र अमेरिकाको सच्चा साथी भएको बताएका छन् ।