प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
काठमाडाैं। गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो ।
उनको उपचारको क्रममा निधन भएको हो । प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गरेका छन् ।
प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएको छ ।
कसरी भयो आक्रमण ?
आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । बीबीसीका जापान संवाददाता रुपर्ट विङ्फील्ड-हेयसका अनुसार प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन् ।
पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन । तर दोस्रो गोली उनको गर्दनमा लाग्यो । गोली लागेपछि उनको शरीरबाट रगत बग्न थालेको थियो र उनी भुइँमा ढलेका थिए ।
आक्रमणकारीले भाग्न प्रयास गरेनन् । सुरक्षाकर्मीले तत्काल समाते । स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ ।
को हुन् आबे ?
शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन् । स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए ।
पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए ।
योशिहिदे सुगा उनको उत्तराधिकारी बने । त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने ।
दुर्लभ घटना
जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ । जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए । अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो ।
जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ ।