शनिबार , फागुण १९, २०८०

मकवानपुरको कैलाशमा सोनाम ल्होछारको भव्य तयारी, दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने

image

धादिङ । मकवानपुरको कैलाश गाउँपालिकामा सोनाम ल्होछारको भव्य तयारी गरिएको छ । २८६०औँ सोनाम ल्होछार डुक/मु ल्होको अवसरमा कैलाश गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ ले दुई जिल्लाको सिमानास्थित डाँफेमुनाल पार्कमा संयुक्त रूपमा “सोनाम ल्होछार विशेष सांस्कृतिक मेला” को आयोजना गरिएको हो ।

यही माघ २६ र २७ गते हुन लागेको दुई दिने मेलाको सम्पूर्ण तयारी पुरा भएको सांस्कृतिक मेला मूला समारोह समितिका संयोजक डिल बहादुर घिसिङले जानकारी दिए ।

मेलामा सेलो गायक प्रेम लोप्चन, गायिका इन्दिरा गोले/गुरुङ, गायक फुलकुमार बोम्जन, लोकस्टार रामकुमार नेपाली, गायिका प्रतिमा अर्याल, गायक प्रदीप रोका, गायिका अस्मिता डल्लाकोटी, गायिका अञ्जु थोकर, गायक नवराज घाेरासैनी, मोडल करिष्मा ढकाल, हास्य कलाकार राजुमान रुम्बा लगायत दर्जन बढी राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने भएको छ । यसका साथै दर्जनभन्दा बढी स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

त्यसैगरी तामाङ समुदायको संस्कृति र पहिचान झल्काउने लामा, ताम्बा, बोन्बो, लबोन्बो/लब्तावा लगायतको सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत हुनेछन् । मकवानपुरको मनहरीस्थित आस्था कला केन्द्रका कलाकारहरुले पनि प्रस्तुति दिनेछन् ।

मेलामा दुई दर्जनभन्दा बढी स्टल रहनेछन् । स्टलमा विभिन्न खाद्य परिकारहरूको स्वाद चाख्न पाइने छ । स्थानीय परिकारहरूलाई प्राथमिकता दिइएको जनाएको छ ।

मेला स्थलमा बास बस्नका लागि क्याम्पिङ टेन्टको पनि व्यवस्था गरिएको छ । मेलामा पुग्ने पाहुनाहरूलाई बास बस्नका लागि सहज बनाउन टेन्टको व्यवस्था गरिएको आयोजकले जनाएको छ । टेन्ट बास बस्नका लागि केही रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

तामाङ समुदायले प्रत्येक वर्षमा माघ शुक्ल प्रतिपदाको दिनमा सोनाम ल्होछार मनाउने गर्दछन् । नेपालमा मात्र नभएर विश्वभरि छरिएर बसेका तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा भव्यताका साथ मनाउने गर्दछन् ।

तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको उत्तरी भेग र धादिङको दक्षिणी भेगमा दुई जिल्लाका स्थानीय तहले संयुक्त रूपमा आयोजना गर्न लागिएको सांस्कृतिक मेला ऐतिहासिक बन्ने आयोजकको दाबी छ । करिब दश हजार जनाले मेलाको अवलोकन गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार