शनिबार , अषोज ३, २०८३

ज्यान जोगाउन नौसैनिक ब्यारेक पुगे श्रीलंकाका पूर्व प्रधानमन्त्री राजापाक्ष

image

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे ज्यान जोगाउन एक नौसैनिक ब्यारेकमा पुगेका छन् ।

बिबिसीले सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनी उत्तर-पूर्वमा रहेको नौसैनिक ब्यारेक पुगेका हुन् ।

उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए । यसअघि उनी दुई पटक श्रीलंकाका राष्ट्रपति बनेका थिए ।

श्रीलंकामा पछिल्लो समय हिंसात्मक प्रदर्शनहरू तीव्र भइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सरकारले कर्फ्यू घोषणा गरेको छ भने लुटपाट गर्नेहरूमाथि सिधै गोली हान्ने अधिकारसहित सेनालाई खटाएको छ ।

यसका बाबजुद् आगजनी र लुटपाटका घटना रोकिएका छैनन् । प्रदर्शनकारीहरूले राजापाक्षे परिवार र अहिलेको अवस्था आउनमा जिम्मेवार ठानिएका अरू नेताहरूको सम्पत्तिलाई लक्षित गरी आगजनी गरिरहेका छन् ।

बुधबार राति लगातार दोस्रो रात श्रीलंकामा आगजनी र लुटपाटका घटना भएका छन् ।

राष्ट्रपति गोटवाया राजापाक्षेले शान्तिव्यवस्था पुनर्स्थापना गर्ने बताएका छन् । प्रदर्शनकारीहरूले भने उनको राजीनामा मागिरहेका छन् । राजापाक्षेले राजीनामाको मागलाई सुनेको नसुनेझैं गरी आफ्नो केही अधिकार संसदलाई दिने प्रस्ताव गरेका छन् ।

विदेशी मुद्राको सञ्चिति घटेपछि श्रीलंकाले अहिले विदेशबाट सामान आयात गर्न सकिरहेको छैन । जसका कारण पेट्रोलियम पदार्थदेखि अन्य दैनिक उपभोग्य सामानको हाहाकार भएको छ ।

सम्बन्धित समाचार