एजेन्सी । अज्ञात स्थलमा रहेका श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आइतबार बिहान अधिकारीहरूलाई ग्यास वितरण गर्न निर्देशन दिएका छन् ।
शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गर्नुअघि नै उनी भागेका थिए । राजापाक्षे कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन ।
श्रीलंकाली अनलाइन न्युजवायरका अनुसार उनको सचिवालयले आइतबार बिहान एउटा वक्तव्य जारी गरेको छ । उक्त वक्तव्यमा खाना पकाउने ग्यास तत्काल वितरण गर्न निर्देशन दिइएको छ ।
वक्तव्यमा जनाइएअनुसार यस महिनाका लागि ल्याउन लागिएको ३३ हजार मेट्रिक टन एलपिजी ग्यासमध्ये पहिलो लटको ग्यास आइतबार र सोमबार श्रीलंका आइपुग्नेछ ।
मंगलबारदेखि ग्यास हिसाबले वितरण हुने वक्तव्यमा उल्लेख छ ।
सरकारी अधिकारीहरूले राजापाक्षे कहाँ छन् भन्नेबारे खुलाउन चाहेका छैनन् । राजापाक्षेले आउने बुधबार राजीनामा दिने बताएका छन् ।
आइतबार पनि प्रदर्शनकारीहरू राष्ट्रपति निवासमै छन् ।