शुक्रबार , जेठ ८, २०८३

पल्पसा बनेकी सृष्टि भन्छिन्, ‘वर्षमा एउटा नाटक गर्न मन छ’

अभिनेता दिव्यदेव मेरो मिल्ने साथी हो, हामीले सँगै काम गरेका छौँ । 'वर्षमा एक/दुई वटा नाटक गर्ने है' भनेर हाम्रो सल्लाह भएको छ ।

image

यतिखेर ‘पल्पसा क्याफे’ को हो भन्नु जायज प्रश्न हो । ‘पल्पसा क्याफे’ भनेको मण्डला थिएटरमा मञ्चन भइरहेको एक नाटक हो । राजनीतिक उपन्यासको कलात्मक नाट्यरुपान्तरण । नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ले दर्शकहरुबाट राम्रै माया पाइरहेको छ । नेपाली समाजले अत्यन्तै कष्टकर रूपमा बेहोरेको माओवादी जनयुद्धकालीन द्वन्द्वको एउटा प्रभावशाली ऐनाको रूपमा सुपरिचित नाटक कत्तिको सफल होला भन्ने कौतुहलता छँदै थियो ।  कौतुहलता निवारार्णथ नाटक मञ्चन हुने दिन, त्यसको दोस्रो दिन म लगातार मण्डला पुगेको थिएँ ।

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग नाटक अन्तर्गत रहेर कुरा गर्न बाँकी नै थियो । नेपाली रंगमञ्चका हस्ती सुनिल पोखरेलकी चेली भएर अभिनयको प्रशिक्षण लिएकी उनलाई भेट्न बाँकी नै थियो । कलाकारले अभिनय देखाउने उत्कृष्ट प्ल्याटफर्म थिएटर नै भएको उनीसँग मण्डला थिएटरको क्याफटेरियामा भेट भयो ।

चितवनमा जन्मिएकी सृष्टिले सन् २०१२ मा मिस नेपालको उपाधि जितेकी थिइन् । साथै, सन् २०१२‎ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्म पुगेकी थिइन् । यसअघि एक मात्र नाटक ‘ह्याम्लेट’मा काम गरेको बताउने उनी अब रङ्गमञ्चलाई निरन्तरता दिने बताउछिन् । उनले ‘गाजलु’, ‘पोइ पर्यो काले’, ‘चिसो एष्ट्रे’ लगायतका चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । यसका अलावा उनले एक लोकप्रिय बलिउड गीतको भिडियोमा पनि अभिनय गरेकी छिन् ।

प्रस्तुत छ नाटक ‘पल्पसा क्याफे’मा आधारित रहेर सृष्टि श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश;

पल्पसा क्याफे’ हजुरले पहिला पढ्नु भएको थियो ?

पढेको थिइनँ । नाटक गर्ने भएपछि मलाई पढ्ने मौका जुर्‍यो ।

पल्पसा’सँग कत्तिको नजिकिनु भयो ?

उपन्यासमा पनि धेरै संयोगको कुराहरू छ, जुन मेरो जीवनसँग पनि उत्तिकै मिल्न गयो । पढेर पात्रको बारेमा बुझ्दै जाँदा हाम्रो धेरै कुरा मिल्ने रहेछ भन्ने थाह भयो । जस्तै, उसको परिवार पनि बाहिर हुन्छ र कलाको भोकको लागि आफूलाई खोज्नका लागि नेपाल आउँछ । अर्को हजुरआमाको कुरा, म पनि आफ्नी दुई हजुरआमासँग निकै नजिक छु । यात्राको लगायतका कुरा पढ्दै जाँदा यो त मसँग मिल्ने रहेछ जस्तो लागेको थियो । गहिराइमा सोच्दा आत्म पहिचानको यात्राका कुराहरू म पनि महसुस गर्न सक्छु ।

जनयुद्धसँग कत्तिको परिचित हुन पाउनुभयो ?

जनयुद्ध चलिरहँदा म सानै थिएँ तर, त्यतीबेलाको वातावरण महसुस गर्न भने पाएँ । सो समयबाट गुज्रँदै गर्दा हामी युके गयौँ । त्यहाँ बिताएको केही वर्षको बिताएकाले मैले जनयुद्धलाई थोरबहुत महसुस भने गरेको थिएँ । पुस्तक पढेर जनयुद्धका बारेमा अझ बुझ्ने मौका पाएँ । युद्धलाई फरक दृष्टिकोणबाट हेर्ने/बुझ्ने मौका पाएँ । अझ भनौँ, दुवै पक्षलाई सतहमा बसेर बुझ्ने मौका मिल्यो ।

अचानक कसरी यो नाटकको प्रस्ताव तपाईंसम्म आइपुग्यो ? प्रस्ताव आउँदा कस्तो महसुस भयो ?

खासमा म यो समय पश्चिमको यात्रा गर्छु भन्ने योजनामा थिएँ । तर, बिचमा विमल सरले यसको प्रस्ताव लिएर आउनुभयो । विमल सरसँग थिएटर भिलेजसँग म पहिलादेखि नै नजिक भएकाले खुसी भएँ । यसअघिको मेरो एक मात्र नाटक ‘ह्याम्लेट’ पनि मैले थिएटर भिलेजको समूहसँग गरेको थिएँ । त्यतीबेला उहाँहरूसँग राम्रो सम्बन्ध गाँसिएको थियो, धेरै कुरा सिक्ने मौका मिलेको थियो ।

जीवनमा आउने कुनै पनि कुराहरू समयमै आउँछ जस्तै लाग्छ । त्यसैले मैले सहर्ष उक्त प्रस्ताव स्वीकार गरेँ । पहिलाको नाटक गर्दा धेरै महिना रिहर्सल गर्ने मौका मिलेको थियो । तर, यसको लागि मसँग तीन हप्ता मात्र थियो । त्यही भएर अलिकति चुनौतीपूर्ण लागेको थियो । फेरी आफूलाई चुनौती दिनु पनि राम्रो हो नि !

अब नाटकलाई निरन्तरता दिनुहुन्छ ?

अभिनेता दिव्यदेव मेरो मिल्ने साथी हो, हामीले सँगै काम पनि गरेका छौँ । र, हाम्रो वर्षमा १/२ नाटक गर्ने है भन्ने सल्लाह पनि भएको छ । केही समयअघि कुमार नगरकोटी सरको एउटा नाटक ‘ट्रान्जिट’ गर्ने सल्लाह पनि भइरहेको थियो । वर्षमा एउटा भए पनि मलाई नाटक गर्न मन छ ।

भिडियो

सम्बन्धित समाचार