बिहिबार , जेठ ७, २०८३

भौतिक संरचना निर्माण गरेर मात्र विकास हुन्छ भन्ने मानसिकतालाई तोड्नु पर्छ – वडाध्यक्ष मगर (अन्तर्वार्ता)

image

रोल्पा जिल्ला सुनछहरी गाउँपालिका -६ नं वडाका वडा अध्यक्ष अमरजित पुन मगर दोस्रो कार्यकालको लागि फेरि मैदानमा उत्रिएका छन् ।उनी १० वर्षे सशस्त्र द्वन्दको बेला कलाकार, जनमुक्ति सेना, पत्रकार हुँदै २०७४ सालको सङ्घीय चुनावबाट राजनीति वृत्तमा आएर स्थानीय सरकारको वडा अध्यक्षमा विजयी भएका थिए । उनी वडाध्यक्ष मगरसँग युग सर्वनामले गरेको संवादको सम्पादित अंश;

तपाईँ दोस्रो कार्यकालको लागि फेरि प्रतिस्पर्धामा उत्रनु भएको छ यसको लागि अग्रिम बधाई । ए ! बधाई त नभनी हालौँ जितको चैँ शुभकामना ! अब म मेरो पोइन्ट्मा आउँछु । यो वडामा फेरि तपाईँ नै किन दोहोरिने ? गाउँमा तपाईँ भन्दा दोस्रो सक्षम व्यक्ति नभएर हो ?

त्यसो होइन, अरू पनि सक्षम व्यक्तिहरू हुनुहुन्छ, गर्न सक्नुहुन्छ । अरू भन्दा मैले अझ गर्न सक्छु भन्ने आत्मा विश्वास मसँग छ ।

हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचित जनप्रतिनिधि पनि भयौँ । पहिलो कार्यकाल भएकोले नीति कानुन केही पनि थिएन, सबैसबै बनाउनु पर्ने । कयौँ समय त त्यसमै बित्यो । त्यो भन्दा अझ विश्वव्यापी फैलिएको कोरोना भाइसरले दुई वर्ष त कामै गर्न दिएन । कयौँ कठिनाइ झेल्नु पर्‍यो । त्यसले गर्दा पनि हामीले गर्नु पर्ने काम धेरै छ । जुन सपनाका साथ म प्रवेश गरेको थिएँ, केही हदसम्म पुरा भएको भए पनि अझ गर्नुपर्ने काम धेरै छ । त्यसले गर्दा पनि म दोहोरिनु पर्ने अवस्था आएको हो । पार्टीले पुनः आउनु पर्छ भनी सकेपछि फेरी पनि दोहोरिएको छु । कयौँ अधुरा कामहरू छन् त्यसलाई पनि पुरा गर्नु छ । त्यसको लागि भए पनि म आउनै पर्छ भन्ने लाग्छ ।

विगतका पाँच वर्षमा त्यहाँका वडाबासीले तपाईँबाट केके कुराहरूको प्रत्याभूत गर्न पाए ? अहिलेको चुनावमा पुरानै एजेन्डाले काम चलाउँदै हुनुहुन्छ कि नयाँ खाका तयार पार्नु भएको छ ?

प्रत्येक व्यक्तिको लागि के भयो भन्दा पनि सिङ्गो समाजको लागि के भयो भन्ने कुरा प्राथमिकतामा पर्नुपर्छ जस्तो लाग्छ । हामी जुन उद्देश्यका साथ आएका थियौँ, त्यो करिब-करिब पुरा भएको ठानेको छु ।  हाम्रो गाउँ त्यसै पनि भौगोलिक हिसाबले निकै ठगिएको गाउँ हो । यहाँ काम गर्नका लागि कयौँ भौगोलिक कठिनाइहरू झेल्नु पर्ने बाध्यताहरू छन् । त्यसलाई पनि अनुकूल बनाएर काम गर्नु पर्ने हाम्रा बाध्यताहरू थिए, तै पनि हामीले सक्दो गरेका छौँ ।

बिजुली बत्ती सबै बस्तीहरूमा पुगेका छन् । प्रत्येक घरधुरीमा खानेपानी पुगेको छ । सबै नागरिक सडक सञ्जालको पहुँचमा पुगेका छन् । शिक्षा क्षेत्रलाई थप विकास गर्नका लागि विद्यालय भवनहरू निर्माण गरिएको छ । मोटरबाटोलाई सुधार गरी बाह्रै महिना चल्ने बनाइएको छ । पुलपलेसाहरु निर्माण गरिएको छ । अहिले कुनाकुनामा सञ्चारको पहुँच पुगेको छ ।

कृषि क्षेत्रमा राम्रो गर्न चाहनेहरूका लागि कृषि अनुदानको व्यवस्था गरिएको  छ। स्मार्ट गाउँका लागि सिंढीहरू निर्माण गर्ने काम भएका छन् ।सीप विकास गरी आत्मा निर्भर बन्नका लागि विभिन्न तालिमको व्यवस्था गरिएको छ । कतिपय पुराना एजेन्डा पनि होलान्, जो पुरा भएको छैन ।
हाम्रा कयौँ नयाँ एजेन्डाहरू पनि छन् । हामीले भौतिक संरचना निर्माण गरेर मात्र विकास हुन्छ भन्ने मानसिकतालाई तोड्नु पर्नेछ ।

मुख्य कुरा चेतना निर्माण गर्नुपर्ने पहिलो आवश्यकता हो । जनचेतना नै भएन भने अरू केही पनि नहुँदो रहेछ, त्यसैले सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अन्य नगरी नहुने कामहरू पुरा गर्नुपर्ने छ ।

अब फेरि त्यहाँका जनताले तपाईँलाई नै भोट किन दिने ? `तपाईँ यो पाँच वर्षमा टेस्ट भइसक्नु भो अब नन-टेस्टेड्लाई भोट दिन्छौ´ जनताले यसो भने भने तपाईँले कसरी कन्भिन्स गर्नु हुन्छ जनतालाई ?

हामी निरन्तर जनताको सेवा गर्ने भनेर राजनीतिमा होमिएका हौँ । यहाँ टेस्टेन, नन-टेस्टेड भन्ने हुँदैन । जनताको काम कसले कसरी गर्छ भन्ने कुरा मुख्य हो । मैले अगाडि पनि भने राज्य पुनर्संरचना भएपछिको पहिलो कार्यकाल हाम्रो रह्यो । त्यसले गर्दा पनि कयौँ काम गर्न सकिएका छैन, त्यो त पुरा गर्नु नै छ । अझ थप नयाँ ढङ्गले वडाको विकास गर्नु पर्ने भएको हुँदा मेरो आवश्यकता अपरिहार्य हो भन्ने लाग्छ ।

तपाई आफै हेर्न सक्नु हुन्छ, वर्षौँको विकास र पाँच वर्षको विकासमा कयौँ अन्तर देख्न सक्नुहुन्छ, त्यसले गर्दा पनि जनताले पुनः मेरो आवश्यकताको महसुस गरिरहेका छन् । फेरी पनि केही गर्छ भन्ने लाग्यो भने मलाई जिताउनु हुने नै छ । अन्यथा विकल्प खोज्नुहुनेछ । अहिलेसम्म जनताको काम जसरी सरलीकृत गरेको छु । जनताको काम काजलाई जसरी सहज बनाउँदै लगिरहेको छु, त्यसले गर्दा पनि मेरो आवश्यकता अनिवार्य हो भन्ने लाग्दछ ।

विप्लव निकट(नेकपा)ले स्थानीय चुनावलाई उपयोग गर्ने उसको कार्यनीति सँगै नेकपाका नेताहरूले धमाधम स्वतन्त्रमा उम्मेदवार दिइरहेका छन् । यसै क्रममा तपाईँले दोस्रो कार्यकालको लागि उम्मेदवारी दिनुभएको वडामा पनि नेकपाको स्वतन्त्र उम्मेदवारीको घोषण भएको छ । त्यसको प्रत्यक्ष असर तपाईंलाईं कत्तिको पर्न जान्छ, त्यसको लागि कस्तो रणनीति अपनाइरहनु भएको छ ?

हो, अहिले विप्लव निकट साथीहरू पनि चुनावमा आउँदै हुनहुन्छ, यो खुसीको कुरा हो । उहाँहरू पटकपटक निर्वाचन बहिष्कार गर्दै आउनु भएको थियो, त्यसले जनतामा एक प्रकाशका भए सृजना भएको थियो । अहिले उहाँहरू पनि चुनावमा आउने भएसँगै यस पालिको चुनाव भयरहित वातावरणमा हुनेछ ।  जनताले स्वतन्त्र पूर्वक आफ्नो अभिमत जाहेर गर्न पाउने छन् ।

उहाँहरू २०७४ सालको निर्वाचनमा पनि सहभागी हुनु भएकै हो । उहाँहरूको पार्टीको नीति नभए पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचन लड्नु भएकै हो यद्यपि जित्नु भएन । अहिले त झन् खुलेरै आउनु भएको छ । यो राम्रो कुरा हो । यो व्यवस्थामा भोट हाल्ने भयो भने मेरो हातै काटेर फाल्छु भन्ने साथीहरू नै धमाधम उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ ।

चुनाव हो यसै भन्न त सकिँदैन तर, फराकिलो मतले जित्छु भन्ने आशा गरेको छु । प्रत्यक्ष वा अप्रत्यक्ष मलाई केही असर पर्दैन को के हो भन्ने कुरा जनताले राम्रो सँग बुझेका छन् । फेरी पनि मलाई नै निर्वाचित गर्नु हुन्छ भन्नेमा म विश्वस्त छु ।

तपाईँले अहिलेको घोषणा पत्रमा उल्लेख गर्न लाग्नु भएको दुइवटा मुख्य एजेन्डा यता खुलाइदिनुस् न !

मेरो अभिभारा धेरै छन् । एजेन्डाहरू पनि धेरै नै छन् । अब त्यसलाई मूर्तिकृत गर्ने जिम्मा जनताले दिनु हुने छ भन्ने मलाई पूर्ण विश्वास छ । अहिलेको कार्यकालमा गर्दा गर्दै छुटेका केही कामहरू पनि छन्, नयाँ कार्यभार पनि हामीसँग छ । अहिले खास गरी पूर्वाधारको क्षेत्रमा सडकलाई थप स्तरोन्नति गरी कालो पत्रलाई अगाडी बढाउने ।

सहिद परिवार, घाइते अपाङ्गहरूका लागि केही राहतका प्याकेज ल्याउने, पछाडि परेका वर्ग क्षेत्रलाई थप अनुदानका व्यवस्था गरी आत्मनिर्भर बनाउने । गाउँमा हुने अनियन्त्रित मदिरा सेवन, बेचबिखन अन्त्य गरी सभ्य समाज निर्माण गर्ने लगायतका मेरो लक्ष्य छ ।

अलिकति तपाईँको विगतलाई जोड्छु ल ! सुरुमा तपाईँ कलाकार हुनुहुन्थ्यो, त्यसपछि पत्रकारितामा आउनु भयो । सोच्नु भएको थियो कुनै दिन ? म जनप्रतिनिधि भएर प्रत्यक्ष जनताको सेवामा खट्ने छु र मलाई नै विश्वास गर्दै पुनः जनताको सेवामा लाग्न मलाई नै आग्रह गर्लान् भन्ने ?

हो, म विभिन्न भूमिकामा रहेर पार्टीको काम गरें । जनयुद्धको क्रममा कलाकार मात्र होइन जनमुक्ति सेना, संगठकको भूमिका समेत निर्वाह गरेको हुँ । मैले एरिया कलाकार हुँदै क्षेत्रीय, केन्द्रीय स्तरको कालाकारको भूमिका निर्वाह गरेको छु ।

जनयुद्धको क्रममा पनि जनगणतन्त्र रेडियो सञ्चालनमा आएको थियो, त्यसबेलादेखि नै पत्रकारिता सुरु गरेको हुँ । पछि शान्ति प्रक्रिया सुरु भएपश्चात् खुला पत्रकारितामा लागें । हामीले नै स्थापना गरेको रेडियो जलजलामा रहेर करिब नौ वर्ष रेडियो सञ्चालन गरेर पत्रकारितासँगै पार्टीको काम पनि गर्दै आएँ ।अहिले जननिर्वाचित भएर काम गरिरहेको छु ।

अन्त्यमा वडाबासी सम्पूर्ण जनताहरूलाई केही भन्नु छ ?

म धेरै चिल्ला कुरा गरेर जनता सँग भोट माग्ने पक्षमा छैन । नहुने आश्वासन बाँडेर जनतालाई भ्रमित गराउने पक्षमा पनि छैन । यति मात्र हो म तपाई कै आफन्त, भाइ भतिजो, इष्टमित्र हुँ । तपाईँहरूले मैले अहिलेसम्म गरेका कामको राम्रो सँग मूल्याङ्कन गर्नु भएकै छ । हाम्रो वडालाई कस्तो अवस्थाबाट कस्तो अवस्थासम्म ल्याएको छु, त्यो पनि हेर्नु भएकै छ । त्यसैले एकपटक निर्विकल्प मलाई निर्वाचित गर्नु हुनेछ भन्नेमा आशावादी छु । फेरी एक पटक तपाईँहरूको अमूल्य मतको खाँचो छ ।

Tags:

सम्बन्धित समाचार