काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताएका छन् । गण्डकी प्रदेश सरकारले यसका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकता दिएको मुख्यमन्त्री पाण्डेकाे भनाइ छ ।
तनहुँको ऋषिङ गाउँपालिका–५, रूपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेबल पुलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न पूर्वाधार निर्माणमा ध्यान दिइएको उनले बताए । मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेश धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश भएकाले यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न जरुरी छ ।’’
मुख्यमन्त्री पाण्डेले शालिग्राम कोरिडोर गण्डकी प्रदेश सरकारको गौरवका आयोजना भएको उल्लेख गर्दै यसलाई बुढीगण्डकी कोरिडोरमा जोडेर मुक्तिनाथसम्म छिटै पुर्याइने बताए । पाण्डेले भने, “कालीगण्डकी धार्मिक क्षेत्र भएकाले धार्मिक पर्यटन स्थलका रूपमा विकास गर्न र पोखरालाई नेपालको पर्यटनको केन्द्र पर्यटकीय राजधानीका रूपमा घोषणा गर्न प्रदेश सरकार लागि परेको छ ।”
प्रदेश सरकारले यस आर्थिक वर्षमा मात्र ऋषिङ गाउँपालिकाभित्रका भौतिक पूर्वाधार तथा सडकका लागि २२ करोड, विभिन्न खानेपानीको योजनाका लागि दुई करोड रुपियाँ विनियोजन गरेको बताए । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनका लागि एक करोड विभिन्न शीर्षकमा विनियोजन गरेको उनको भनाइ छ। गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कालीगण्डकी आसपासका फाँटको व्यवस्थापन र विकासका लागि आफू लागि परेको बताए । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले ७० वर्षअगाडि खोलिएको सुरुङ मार्ग, कृष्ण मार्गको स्तरोन्नतिको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ग्रामीण क्षेत्रलाई उत्पादनसँग जोड्नका लागि प्रदेश सरकार र स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्ने बताए । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक सहयोगमा पुल दुई करोड ९६ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।