शुक्रबार , जेठ ८, २०८३

काठमाडौं-नागढुंगा सुरुङमार्गले खानेपानीको मुहान सुकायो, स्थानीयवासी आन्दोलनमा उत्रिए

image

काठमाडौं । काठमाडौं-नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयमा स्थानियबासीले नाराबाजी गरेका छन् । नागढुंगाबासीले शुरुङमार्गका कारण स्थानियबासीले पानी पिउन नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।आन्दोलनकारीले आयोजना कार्यालयमा ढुंगामुढा गरेका छन् ।

स्थानियको ढुंगा प्रहारबाट आयोजना कार्यालयको ढोका तोडफोड भएको छ भने कर्मचारीको भागभाग भएको छ । ‘पहिले हामीलाई खानेपानी दिने गरि सम्झौता भएको थियो । तर, आयोजनाले हाम्रो मागलाई बेवास्ता गर्दै आएपछि हामीले विरोध गरेका हौँ,’ एक स्थानियले भने, ‘अब हामीले प्रतिरोध गर्नुको विकल्प छैन । आयोजनाका कारण हामीले पानी पिउन पाएनौँ ।’ राष्ट्रिय गौरवको आयोजना भनेर प्रभावित क्षेत्रका जनतालाई काकाकुल बनाउन नपाइने आन्दोलनकर्ताहरूको माग छ ।

surung marga

आन्दोलनको नेतृत्व गरेका वडाध्यक्ष गोपी सुर्खेतीका अनुसार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ को ९० प्रतिशत खानेपानी मुहान सुकेको छ । ‘दुई वर्षअघि मेरै संयोजकत्वमा बनेको समितिले ज्ञापन पत्र बुझाएको हो । यो वडाको ९० प्रतिशत मुहान र इनार सुकेको छ । सुरुङ जति अगाडी गयो, वरिपरिको मुहान सुक्ने रहेछ । अहिले हामी काकाकुलको अवस्थामा पुगेका छौँ,’ उनले भने।

सवारीको चापसँगै नागढुंगा-कलंकी क्षेत्र सँधै जामले अस्तव्यस्त हुने गरेको अवस्थालाई चिर्नका खातिर मुलुकमा पहिलोपटक रणनीतिक महत्वका सडक सुरुङमार्गसित जोडिने गरि काम सुरु भएको थियो । यो सुरुङमार्गले काठमाडौंलाई सहज रूपमा व्यापारिक नाकासँग जोड्न विकल्प प्रदान गर्ने बताइएको छ।

Tags:

सम्बन्धित समाचार